धान भित्र्याउने चटारो

October 28, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ११ कार्तिक २०७४ 

दसैं–तिहार चाडबाड सकिए लगत्तै जिल्लाभरका कृषकलाई धान भित्राउने चटारो परेको छ । खेतमा धान पाकेर पहेंलपुर भएपछि नगर क्षेत्र र दुर्गम गाउँका किसानलाई धान भित्र्याउने हतारो भएको हो । 

जिल्ला कृषि विकास कार्यालयले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरेको छ । यो वर्ष ९९ प्रतिशत खेतमा रोपाइँ भएकाले ८ प्रतिशत उत्पादन बढ्ने कार्यालयको आकलन छ । कार्यालयको तथ्यांकअनुसार जिल्लामा १२ हेक्टर सिँचित क्षेत्रफलमा ३४ हजार टन धान उत्पादन हुनेछ । ‘वर्षाको डरले किसानलाई धान भित्र्याउने चटारो भएको हो,’ बाह्रबिसे राम्चेका चक्रध्वज तिवारीले भने, ‘असिना र वर्षाको भर छैन ।’ खेतीमा काम गर्ने कामदार पाउन छाडिएको छ । ‘खेती कमाइ आफ्नै परिवारले धान्नुपर्छ,’ ‘बलेफी फुलपिङकोटकी जुना थापाले भनिन्, ‘चटारो निकै बढेको छ । यसपालि उत्पादन पनि बढ्ला जस्तो छ ।’ भूकम्पले भत्किएका घरको पुनर्निर्माण नभएकाले धान भित्र्याउनसमेत समस्या भएको छ । ‘घर नबन्दा आँगन छैन । त्रिपाल ओछयाएर खेतमै धान झार्न बाध्य छौं,’ धान खेतमै सुकाउने गरेको मेलम्चीका किसान गणेश भट्टराईले बताए । कृषि प्रचार अधिकृत दुर्गादत्त पन्थीका अनुसार गत वर्ष ४ सय हेक्टर जमिन बाँझो रहेकाले यसपालि भने २ सय मात्रै खाली छ ।

तटीय क्षेत्रका कृषक मारमा 

धान रोपेको खेत भेलले बगाएपछि भोटेकोसी तटीय क्षेत्रका कृषक मारमा परेका छन् । बर्खाको भेलले धान लगाएको जमिन भास्सिएपछि बाह्रबिसेको जम्बुदेखि तातोपानीसम्मको २६ किमि तटीय क्षेत्रका कृषकले धान भित्र्याउन पाएका छैनन् । ‘प्रकृतिले खेदेपछि केही नलाग्दो रहेछ,’ बाह्रबिसे गातीका साङ्गे शेर्पाले दु:खेसो पोखे, ‘गरेर खाने खेत पहिरोले बगायो ।’ यसअघि धान बेचेर किसानले खर्च जुटाउने गरेका थिए ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-10-28/20171028072347.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More