विप्लव भट्टराई, कान्तिपुर दैनिक, १० श्रावण २०७४
नगदेबालीको उत्पादनबाट आर्थिक अवस्था मजबुत भएको जिल्लामा पछिल्लो समय बजारको अनिश्चितताले कृषक अन्योलमा परेका छन्। नगदेबाली खेतीको विस्तारसँगै उत्पादन वृद्धि हुँदै गए पनि मूल्यमा आउने उतारचढावले कृषक मारमा पर्ने गरेका छन्।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अलैंची, अदुवा, अकबरे, अम्रिसालगायतका बालीबाट जिल्लामा वार्षिक ७ अर्ब रुपैयाँको हाराहारी रकम भित्रन्छ। भारतीय बजारमा निर्भर यी नगदेबालीको बेलाबेलामा हुने मूल्यको उतारचढावले भने सोचे अनुसार आम्दानी वृद्धि नभएको कार्यालयको भनाइ छ। यी उत्पादनको परनिर्भरता भारतमा मात्र बढदै जानु, आन्तरिक रूपमा प्रशोधन गरेर स्थानीय बजारमा सामग्री पुर्याउनु नसक्नु र राज्यले यस्ता उत्पादनको निर्यातका लागि सहज वातावरण बनाउन नसक्दा किसानले मनग्ये आम्दानी लिन सकिरहेका छैनन्।
कृषकले पनि प्राविधिक ज्ञानको अभावमा बजारअनुसारको गुणस्तरीय उत्पादन गर्न नसक्नु जस्ता कारणले सम्भावना भएर पनि नगदेबालीको बजार सुधार हुन नसकेको सरोकारवालाको भनाइ छ।
यो अदुवाको माउ निकालेर बिक्री गर्ने सिजन हो। भारत निर्यातमा एक महिना लामो अवरोध भएपछि कृषकले राम्रो मूल्य लिएर अदुवा बिक्री गर्न सकेनन्। व्यापारीले सस्तो मूल्यमा नै अदुवा किनेर भण्डार गरे पनि बिक्री गर्न मुस्किल भयो। अघिल्ला सिजनमा प्रतिमन १२ सय रुपैयाँसम्म मूल्य लिएका कृषकले योपटक ५ सय रुपैयाँमा मात्र बिक्री गर्नुपर्यो। उत्पादन हुने सिजनमा अदुवाले हरेक वर्ष बजारको समस्या खेप्ने गरेको छ। भारतीय पक्षले मिसावट भएको, गुणस्तररहित भएकोलगायत बहानामा अदुवा निर्यातमा झन्झट दिने गरेको छ।
कृषकले अदुवाको बिउ प्रतिमन २ हजार रुपैयाँसम्म खर्चेर किन्ने गर्छन्। ‘कुनै बेला हात्तै भाउ आउने त कहिले तल झर्ने गरेको छ,’ माईजोगमाई गाउँपालिका प्रेमेजुङका नेत्र दाहालले भने, ‘राम्रो मूल्य पाउने आशामा कृषकले अदुवा रोप्ने गर्छन्। कहिलकाहीँ त मिहिनेत पनि उठ्दैन।’ जिल्लामा ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाबाट ४६ हजार टन उत्पादन हुन्छ।
अम्रिसोको कुचोले पनि कृषकलाई यसैगरी झुक्याउने गरेको छ। प्रतिकिलो १ सय रुपैयाँसम्ममा बिक्री भएको कुचो यस वर्ष २५ रुपैयाँमा पनि बेच्न मुस्किल पर्यो। घाँस, दाउरा र फूल बिक्री हुने भएकाले घरबारीमा अम्रिसो रोप्ने क्रम बढदो भए पनि आम्दानी लिने बेलामा किसानलाई चिन्ता नै पर्छ। जिल्लाका अधिकांश स्थानमा व्यावसायिक ढंगले कुचोको उत्पादन हुन्छ।
रोगले सखाप बनाएको अलैंची फेरि घरघुरेनमा फस्टाएको छ। रोगका कारण बगान मासिएर उत्पादन घट्दा प्रतिमन १ लाख रुपैयाँको हाराहारीमा पुगेको अलैंचीको मूल्य क्रमश: घटदो छ।
अहिले अलैंची प्रतिमन ३५ हजार रुपैयाँमा ओर्लिएको छ। दानाबाट उत्पादन भएका र रोगको प्रकोप नभएका बिरुवा खोजेर कृषकले अलैंचीलाई पुन: जगाएका हुन्। पहिले चिस्यान जमिन र खोलाखोल्सी आसपास मात्र रोपिने अलंैची हिजोआज घरबारीमा रोप्न थालिएको छ। मकै, आलुलगायतका परम्परागत खेती अलैंचीका कारण विस्थापित हुने क्रममा छन्।
मूल्य अनिश्चितताले कृषकलाई मात्र हैन व्यापारीलाई पनि उत्तिकै सताएको छ। व्यापारीले मूल्य बढ्ने आशामा कृषकबाट खरिद गरे पनि घटदै गएपछि नोक्सानीमा पर्छन्। अन्तर्राष्ट्रिय बजारको पहुँच नहुँदा भारतमा नै निर्भर रहनुले अलैंचीले उचित मूल्य नपाएको व्यवसायी बताउँछन्।
जिल्लाकै पर्याय बनेको चिया पनि भारतीय बजारमा नै निर्भर छ। अर्गानिक उत्पादन गर्न नसक्दा पश्चिमा बजारमा न्यून मात्र खपत हुने गरेको छ। यहाँका अधिकांश कृषकको उत्पादन स्थानीय कारखानाले प्रशोधन गरेर भारतीय बजारमै पुर्याउँछन्। चियामा गर्ने जनशक्ति अभाव र न्यून मूल्यका कारण कृषक निर्बाहमुखी मात्र भएको गुनासो गर्छन्।
यहाँ उत्पादन हुने अकबरे खोर्सानी सामान्य ढंगले स्थानीय बजारमा कारोबार हुन्छ। भारतको दार्जिलिङ मुख्य बजार रहे पनि त्यहाँ चलेको आन्दोलनका कारण निर्यात ठप्प छ। यसबाट किसान चिन्तामा रहेका छन्। जिल्लाको ७० हजार ३ सय ३० हेक्टर खेतीयोग्य जमिनमध्ये ६३ हजार २ सय ९७ हेक्टरमा खेती हुन्छ। यसमा पनि नगदेबालीले ढाकेको क्षेत्र धेरै छ।
स्रोत:http://kantipur.ekantipur.com/news/2017-07-25/20170725081633.html