News

नयाँ निर्जीवन बीमा कम्पनी : चुक्तापूँजी पुर्‍याएका ३ कम्पनीलाई इजाजतपत्र

February 14, 2018

आर्थिक अभियान, फागुन २, २०७४

काठमाडौं । बीमा समितिले चुक्तापूँजी पुर्‍याएका ३ नयाँ निर्जीवन बीमा कम्पनीलाई बीमक दर्ता इजाजतपत्र प्रदान गरेको छ । समितिले जनरल, सानिमा र अजोड निर्जीवन बीमा कम्पनीलाई बुधवार इजाजतपत्र प्रदान गरेको हो । नयाँ तीन कम्पनी थपिएसँगै नेपालमा निर्जीवन बीमा कम्पनीको सङ्ख्या २० पुगेको छ । यसभन्दा पहिले नेपालमा १७ निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका थिए । नयाँ कम्पनी थपिएसँगै बीमाको पहुँच वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

व्यवसाय सञ्चालनका लागि आशयपत्र पाएका ती कम्पनीलाई बीमा समितिले असोजको पहिलो साता ३ महीनाभित्र चुक्तापूँजी पुर्‍याउन पत्राचार गरेको थियो । कम्पनीहरूले तोकिएको समयमै चुक्तापूँजी पु¥याएपछि इजाजतपत्र प्रदान गरिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनले कम्पनीहरूलाई कार्यालय व्यवस्थापनसम्बन्धी थप शर्तहरू तोकिएको जानकारी दिए ।

बीमक दर्ता इजाजतपत्र प्राप्त गरेको ६ महीनाभित्र तोकिएअनुसारको शर्त पूरा गरेपछि मात्र कम्पनीले व्यवसाय सञ्चालनको अनुमति पाउने छन् । यो अवधिभित्र कम्पनीहरूले भौतिक पूर्वाधारको तयारी, निर्देशिका र नियमावलीको निर्माण, जनशक्तिको व्यवस्थापन, पुनर्बीमा सम्झौता र बीमासँग सम्बन्धित सफ्टवेयर तयार गर्नेलगायत शर्त पूरा गर्नुपर्ने हुन्छ । तोकिएको समयभित्र ती व्यवस्था गरिएको छ छैन भनी निरीक्षण गर्दा व्यवसाय गर्न उपयुक्त ठहरिएमा समितिले व्यवसाय सञ्चालन गर्न अन्तिम अनुमतिपत्र दिने व्यवस्था रहेको छ ।

इजाजत प्राप्त उक्त कम्पनीहरूले निर्जीवन बीमा कम्पनीलाई तोकिएको १ अर्ब रुपैयाँबराबरको चुक्तापूँजीमा ३० प्रतिशत साधारण शेयर छुट्याएर संस्थापकका तर्फबाट हुन आउने ७० करोड पूँजी तोकिएको समयभित्रै पुर्‍याएका थिए ।

चुक्तापूँजी पु¥याएपछि कम्पनीहरू पुसको पहिलो सातामा इजाजतपत्र माग गर्न बीमा समिति पुगेका थिए । कम्पनीले संस्थापकहरूको ७० करोड रुपैयाँबाट भविष्यमा आइपर्ने जोखीम बेहोर्न बीमा समितिको नाममा वाणिज्य बैङ्कमा मुद्दती खाता खोली ५५ करोड रुपैयाँ रोक्का (इयरमार्क) गर्नुपर्ने हुन्छ । बाँकी १५ करोड रुपैयाँ भने कार्यालय सञ्चालनका लागि कम्पनीले चालू खातामा राख्नुपर्ने व्यवस्था रहेको बीमा समितिले जानकारी दिएको छ ।

समितिले दिएको विविध शर्तहरू समयमै पूरा गर्नाले इजाजतपत्र प्राप्त गर्न सफल भएको कम्पनीहरूले बताए । ६ महीनाको अवधिमा तोकिएको थप शर्तहरू पूरा गरी चाँडै नै व्यवसाय सञ्चालनमा ल्याउने उनीहरूको भनाइ छ ।

उल्लिखित तीनसहित मनकामना निर्जीवन बीमा कम्पनीले बीमा व्यवसाय सञ्चालनका लागि १० वर्ष अघिदेखि समितिसँग इजाजत माग गर्दै आएका थिए । आर्थिक वर्ष २०६४÷६५ मा उक्त निर्जीवन बीमा कम्पनीहरू रजिष्ट्रार कार्यालयमा दर्ता भएका छन् । चार बीमा कम्पनीमध्ये समितिले अद्यावधिक भएर आउन दिएको निर्देशनलाई मनकामना इन्स्योरेन्सले भने आन्तरिक कारणले गर्दा पूरा गर्न नसकेको बुझिएको छ ।

स्रोत: www.abhiyan.com.np/2018/02/14/180104