News

नलाङमा फस्टाएको ‘कफी पर्यटन’

May 24, 2017

Karobar Daily, Kiran Acharya, 24th May 2017, Dhading

प्राकृतिक सौन्दर्य, हिमाल आरोहण, गौतम बुद्धको जन्मस्थल अवलोकन, पदयात्रा, पौराणिक मठमन्दिर र साँस्कृतिक विविधताको अवलोकनलाई नेपालमा पर्यटक भित्राउने माध्यम हुन् । तर, अब नेपालमा पर्यटक भित्राउने मुख्य माध्यम यी मात्र रहेनन्, कृषि पर्यटनको अवधारणाले पनि स्थान पाउन थालेको छ ।

कृषि पर्यटनको सफल नमुनाका रूपमा देखिएको छ, धादिङको नलाङडाँडाको ‘कफी पर्यटन’ । नलाङ डाँडाभर फैलिएको कफी फार्म र बीचमा रहेको रिसोर्टले स्वदेशी–विदेशी पर्यटकको ध्यान तानिरहेको छ ।

अन्नपूर्ण शृंखलादेखि गौरीशंकर शृंखलासम्मको १८० डिग्री पानरोमा भ्यूसमेतको मज्जा लिन सकिने कफी फार्मबीचको रिसोट हिमालन अनटफ अग्र्यानिक कफी स्टेट प्रालिले सञ्चालनमा ल्याएको हो । पाँच वर्षअघि समुद्र सतहदेखि १२ सय ८६ मिटरको उचाइमा रहेको डाँडामा स्थापित कफी पर्यटनले अहिले गति लिन थालेको छ ।

धादिङकै पर्यटन व्यवसायी भरत रेग्मीको समूहले कृषि पर्यटनको सम्भावना देखेर कफी र रिसोर्ट सँगसँगै सुरु गरेको हो । बिना प्रचार–प्रसार आफ्नै सम्पर्कका आधारमा हाल वर्षमा करिब ८ सयको संख्यामा पर्यटन आउने गरेको रेग्मी बताउँछन् ।

“पर्यटकलाई कफी रोप्ने, गोड्ने, भुट्ने र कफी तयार गरेर खानेजस्ता काम आफ्नै आँखा अगाडि र आफू प्रत्यक्ष संलग्न भएर पनि गर्ने व्यवस्था मिलाएका छौं,” रेग्मी भन्छन्, “एक दिनदेखि सातदिनसम्म बस्ने गरी पर्यटकहरू आउने गरेका छन्, आउने सबै पर्यटक सन्तुष्ट भएर गएका छन् ।”

कफीसँगै मकै, गहुँ र विभिन्न जातका फलफूल पनि रिसोर्ट क्षेत्रमा लगाइएकाले ति सबैको अवलोकन गर्नुका साथै बस्दा खाने सर्व खाना अग्र्यानिक (प्रांगारिक) नै खुवाउने गरेको उनले बताए । 

करिब १० करोड रुपैयाँको लगानीमा स्थापित कफी फार्म गरिएको नलाङ डाँडालाई अहिले कफी डाँडा भनेर चिन्न थालिएको छ । यहाँको मुख्य विशेषता भनेकै आउने हरेक पर्यटकलाई एक बोट कफी रोप्ने अवसर दिइन्छ ।

जसले कफी रोपेको हो उसको रेकर्ड राखिन्छ र कफी बोटको छेवैमा रोप्नेको नेमप्लेट पनि राखिन्छ । पर्यटकले कफीको विरुवा रोपेको कुनै शुल्क तिर्नु पर्दैन बरु फार्म सञ्चालकले सो विरुवाको रेखदेख गरिदिन्छन् ।

“सन् २०१२ देखि नेपालका लागि तात्कालीन अमेरिकी राजदूत स्कट एच डेलीसी र टी मालिस्कीहरू (चरा विज्ञ) ले पहिलो विरुवा रोपेकोमा हालसम्म करिव १६ सय पर्यटकले कफीको बिरुवा रोपेका छन्, जसमा ४ सय जना नर्वेजियन छन्,” फार्मका व्यवस्थापक पुरुषोत्तम रेग्मी भन्छन्, “घुम्न आउने स्वदेशी पर्यटकलाई पनि यो सुुविधा छ, जिल्ला र काठमाडौंबाट आउने साथीभाइ, सरकारी ओहोदामा अधिकारीहरूले पनि रोप्ने गर्नुभएको छ ।”

कृषि नै नदेखेका धेरैजसो पर्यटकले रोपाइ निकै अनौठो अनुभव संगालेर जाने गरेको उनले सुनाए । नर्वेजियन पर्यटककै सहयोगमा कफी फार्म सुरु गरेको उनले बताए । डाँडामा दुर्लभ मानिने काँडे भ्याकुर पनि हेर्न पाइन्छ । 

सुरुका दिनमा घाटामा सञ्चालन गरे पनि हाल फार्म र रिसोर्ट दुवैले मुनाफा दिन थालेको सञ्चालकको अनुभव छ । कफी बिक्री गरेर वार्षिक फार्मबाट हाल वार्षिक ५ हजार २ सय किलो कफी चेरी टिप्ने गरिएको छ भने ८ सय किलो ग्रीनविन बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।

“कफी बिक्री गर्न अहिलेसम्म बाहिर जानुपरेको छैन, जति उत्पादन गरे पनि पर्यटकले फार्मबाटै किनेर लैजाने गरेका छन्,” रेग्मी भन्छन्, “घुम्न आउने पर्यटकले ३५ सय डलर प्रतिकिलोमा किनेर लाने गरेका छन् ।” फार्ममा काम गर्नका लागि दैनिक १५ जना काम गर्ने जनशक्ति रहेको उनले बताए । 
सुरु–सुरुमा विदेशी पर्यटक मात्र नलाङ पुग्ने गरेकोमा हाल स्वदेशी पर्यटक पनि घुम्न गएको भेटिए ।

“यो कफी डाँडामा प्राकृतिक वातावरण नबिगारेर नै निकै राम्रो काम गरेको पाएँ, कफीसँगै यहाँ हर्वल उत्पादनको पनि सम्भावना रहेको देखियो,” कफीडाँडा पुगेको युनेस्कोको सम्पदाविद्  प्रेम खत्रीको प्रतिक्रिया छ, “नेपालकै लागि यो अनुकरणीय देखियो ।

यसैगरी पर्यटन क्षेत्रको विकास कृषिसँग जोडेर गर्न जरुरी देखिन्छ ।”  विदेशीको आकर्षण कृषि पर्यटनमा बढी रहेको चर्चा गर्दै उनले ग्रामीण, पर्यटन र कृषि जोडेर लागे तथा गाउँका अन्य सम्पदाहरूलाई पनि सुरक्षा गर्दै यहाँ वरपरको गाउँका उत्पादन तथा विशेषतालाई पनि यो कम्पनीलेसँगै लिएर जानुपर्ने सुझाव दिए । 

कफी डाँडा पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम पनि फार्मको प्रशंसा गरे । “कृषि पर्यटन भित्रको पनि कफी पर्यटन आफैंमा फरक विषय हो तर यसमा निकै नै सम्भावना छ,” उनले भने, “हिमालन अनटफले नमुना काम गरेको छ, यसको अनुकरण अरुले पनि गर्नुपर्ने देखिन्छ ।” उत्कृष्ट काम भएकै कारण सो फार्मलाई बोर्डले उत्कृष्ट कफी व्यवसायका रूपमा पुरस्कृत गरेको बताउँदै उनले सरकारीतर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिए । 

कफी उत्पादन ८ सयदेखि १६ सयको उचाइमा कफी हुन्छ । कफीडाँडाको फार्म करिब ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । शीतबाट जोगाउनुपर्ने, गबारो रोगबाट जोगाउनुपर्ने र रोगकीरा लागेमा रासायनिक विषादी छर्न नहुने भएकाले कफी बिरुवा हुर्काउन मेहनतको काम हो ।

सुरुका दिनमा खेती गर्ने प्रविधिको अभावमा करोडको क्षति बेहोर्नुपरेको अनुभव सञ्चालकको छ । इथियोपियाबाट अरेविक जातको कफीको बीउ लिएर आफैं नर्सरी राखेर कफी बिरुवा रोपेको बताउने सञ्चालकहरूले कफीको रोग नियन्त्रणका लागि गाईको मलमूत्रको प्रयोग गरी आफ्नै तरिकाको प्रांगारिक विषादी पनि तयार गरेको सुनाए ।
Source: http://www.karobardaily.com/news/78829