नवीकरणीय ऊर्जाको चाखलाग्दो विस्तार

July 26, 2017

दिनेश यादव, कान्तिपुर दैनिक, ११ श्रावण २०७४ 

विश्वका केही मुलुकबाहेक अधिकांश देश ऊर्जा संकटसँग जुझिरहेका छन्। अझ हाम्रो जस्तो मुलुक जलस्रोतको धनी भएर पनि ऊर्जाको समस्या छ। ऊर्जा क्षेत्रमा कामै नभएको भने होइन। तर, पनि समस्या ज्युँकात्युँ छ। पछिल्ला वर्षहरूमा ऊर्जा संकटलाई समाधान गर्न नेपालको जलविद्युत्मा स्वदेशी लगानी बढेकाले आशा भने पलाएको छ। एक प्रतिवेदनअनुसार नेपाल अगामी केही वर्षमा जलविद्युत्मा आत्मनिर्भर बन्ने स्थितिमा पुग्दै छ। 

नेपालमा नवीकरणीय ऊर्जा नै अबको मुख्य स्रोत हुनेछ। विश्वभर नै जीवावशेष ऊर्जाका स्रोतहरू (कोइला, पेट्रोलियम इन्धन र ग्यास) माथिको परनिर्भरता घटनाउनु जरुरी भइसकेका अध्ययनहरू सार्वजनिक भइरहेका छन्। 

नेपालमा हाललाई पेट्रोलियम पदार्थको खपत अन्य मुलुकको तुलनामा अत्यधिक छ। यी पदार्थको आपूर्ति असहज हुने बित्तिकै पेट्रोलपम्पमा लाइन बस्नुपर्ने बाध्यता छ। त्यसैले जीवावशेष ऊर्जालाई सौर्य, वायु र जलविद्युत्लगायतका स्रोतबाट विस्थापन गर्न आवश्यक छ। यी स्रोतमा सरकारले लगानी बढाउनु जरुरी छ। नीवकरणीय ऊर्जामा अग्रपंक्तिमा रहेका मुलुकहरूसँग नेपालको तुलना हुन नसके पनि त्यसको नीति र कार्यदेशलाई पछ्याउनुपर्ने विश्लेषकहरू बताउँछन्। 

बीबीसीले जुलाई १७ मा मिरियम क्विकको एउटा रिपोर्ट यही विषयलाई केन्द्रविन्दु बनाएर सार्वजनिक गरेको छ। रिपोर्टमा कहिले र कसरी ऊर्जाको उपयोग गर्ने भन्ने विषयलाई ‘राम्रो समाचार र खराब समाचार’ भन्दै तथ्यांकसहित विश्लेषण गरिएको छ। जहाँसम्म ‘खराब समाचार?’ को कुरो छ, त्यो हो विश्वले कुल ऊर्जाको खपतमध्ये झन्डै ८६ प्रतिशत ऊर्जाको स्रोत अझै पनि जीवावशेष इन्धनहरूलाई बनाएको छ। यो इन्धनको प्रयोगले हामी ठूलो क्षति व्यहोर्न बाध्य छौं। जीवावशेष इन्धनको अत्यधिक प्रयोगको प्रभाव देखिन थालिसकेको छ। यसले पृथ्वीलाई प्रदूषण मात्रै गरेको छैन जलवायु परिवर्तनको मूल कारक नै बनेको छ। जलवायु परिवर्तनकै कारण विश्वको तापक्रम बर्सेनि बढ्दै गएको छ। 

यसैगरी रिपोर्टमा ‘राम्रो समाचार’ का रूपमा २१ औं शताब्दीमा नवीकरणीय ऊर्जाको स्रोतमा बढ्दो लगानी र उपयोगलाई लिइएको छ। हो, अघिल्ला वर्ष सार्वजनिक गरिएको एक तथ्यांकले त्यस्तै संकेत गरेको छ, जुन यसअघि कहिल्यै भएको थिएन। खासगरी वायु र जलस्रोतसहितका नवीकरणीय ऊर्जाका स्रोतमा लगानी र उत्पादनसमेत बढेकै छ। सन् २०१० र २०१५ बीचको अवधिमा सौर्य ऊर्जाको उपयोग ६६४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। हुन त नवीकरणीय ऊर्जाको उत्पादनलाई आक्रामक रूपमा पछ्याउनु एउटा चुनौतीजस्तै हो। तर, केही मुलुक यसको नेतृत्व लिन अग्रसर भइसकेकाको रिपोर्टमा उल्लेख छ। 

वर्तमान ऊर्जा खपतको अवस्था 
सौर्यलगायतका क्षेत्रबात ३ प्रतिशत जलस्रोतबाट ७ प्रतिशत, न्युक्लियर ४ प्रतिशत र जीवावशेष इन्धन ८६ प्रतिशत उर्जा उत्पादन भइरहेको छ। यो तथ्यांकले धेरै मुलुकहरू अझै पनि पेट्रोलियम पदार्थकै बढी खपत गर्ने गरेको देखाउँछ। पेट्रोलियम पदार्थको बढी खपतले वायु प्रदूषण तीव्र रूपमा भइरहेको छ। पेट्रोलियम पदार्थले उत्पादन गर्ने धूवाँका कारण जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्दै गएको छ। ६० लाख मानिस धूवाँकै कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सन् २०१५ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सार्वजनिक गरेको रिपोर्टमा मानव स्वास्थ्यमा अत्यधिक जोखिम बढाउने कारक तत्त्वहरूमा सुर्तीजन्य पदार्थ, वायु प्रदूषण र लागुपदार्थलाई लिएको छ। तथ्यांकअनुसार सुर्तीजन्य पदार्थबाट प्रतिवर्ष ७.२ मिलियन (७२ लाख), वायु प्रदूषणबाट ६.५ मिलियन (६५ लाख) र लागू पदार्थ (जाँडरक्सी र ड्रग्स) बाट २.८ मिलियन (२८ लाख) मानिसको मृत्यु हुने गरेको छ। 

स्वच्छ नवीकरणीय ऊर्जाका स्रोत 
स्वच्छ ऊर्जा (वायु र सौर्य) को उपभोग बढ्दै गएको छ। वायु ऊर्जा सन् २०१० देखि ०१६ सम्मको अवधिमा २ दशमलव ८ गुणाले वृद्धि भएको तथ्यांक छ। तथ्यांकअनुसार सन् २०१० मा ७५ टन वायु ऊर्जाको उपभोग गरिएकामा सन् २०१६ मा पुग्दा २५० टन पुगेको छ। त्यसैगरी यसै अवधिमा सौर्य ऊर्जाको उपभोग ९ दशमलव ८ गुणाले वृद्धि भएको छ। सन् २०१० मा सौर्य ऊर्जाको उपयोग विश्वभर नै नगन्य मात्रामा भएको देखिन्छ। तर, सन् २०१६ मा आइपुग्दा ७५ टन इनर्जी इक्युभ्यालेन्ट (टीओई) को हाराहारीमा पुगेको तथ्यांकले देखाएको छ। 

कुन मुलुकमा कति?
एक तथ्यांकअनुसार वायु ऊर्जा क्षेत्रमा चीनको क्षमता ३४ प्रतिशतसहित अग्रस्थानमा रहेको छ। त्यसपछि अमेरिकाको १७ प्रतिशत, जर्मनीको १० प्रतिशत र अन्य मुलुकहरूको ३९ प्रतिशत रहेको छ। सन् २००९ मा ‘लु एट अल’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार ऊर्जा शक्तिको सामथ्र्य प्रतिवाट प्रतिवर्ष एकाइमा रुस अग्रस्थानमा छ। त्यसपछि क्यानाडा र अस्ट्रेलिया, अमेरिका र अर्जेन्टिनाको छ। रुसको झन्डै १४० प्रतिवाट आवर प्रतिवर्ष (पीडब्लूएचपीवाई) रहेको तथ्यांकमा छ। 

यसैगरी क्यानाडा र अस्ट्रेलियाको १००/१०० पीडब्लूएचपीवाई, अमेरिकाको ९० र अर्जेन्टिनाको ५० रहेको छ। सौर्य ऊर्जाको सन्दर्भमा सन् २०१५ को अन्त्यसम्मको अवधिलाई केन्द्रमा राखेर ‘आरईएन २१’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको नवीकरणीय ऊर्जाको १/५ भाग (विश्वव्यापी सौर्य पीभी क्षमता) चीनमा १९ प्रतिशत, जर्मनीमा १७ प्रतिशत र अन्य मुलुकमा ४८ प्रतिशत रहेको छ। कुल सौर्य स्रोतहरू प्रतिवाट आवर प्रतिवर्षमा रुसको ३१, अन्टाक्र्टिकाको ३०, चीनको २८, अस्ट्रेलिया र ब्राजिलको २६ पीडब्लूएच प्रतिवर्ष रहेको पनि तथ्यांकहरूले देखाएका छन्।


स्रोत : http://kantipur.ekantipur.com/news/2017-07-26/20170726084635.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter