नागढुंगा सुरुङमार्ग शिलान्यास आज

October 21, 2019

रुद्र खड्का, नागरिक, कार्तिक ४, २०७६

काठमाडौं – काठमाडौंको नागढुंगा (चन्द्रागिरी नपा–१ टुटेपाखा) देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँदैछ।सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ।

सुरुङमार्ग निर्माणका लागि असोज ६ मा  विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो। विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो। ठेकेदार कम्पनी एक महिना नपुग्दै सुरुङमार्ग निर्माण गर्न तयार भएपछि शिलान्यास गरिन लागेको विभागले जनाएको छ।

विभागका विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयार भएको बताए। उक्त सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधबाट निर्माण हुनेछ। सुरुमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने चर्चा गरिए पनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गरिन थालिएको हो।

 

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।

थापाका अनुसार एनएटिएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न ड्रिलिङ र ब्लाष्टिक गरिनेछ। टिबिएमको तुलनामा एनएटिएम विधि प्रयोग गर्दा केही ढिला हुने भए पनि लक्ष्य अनुसार नै उक्त सुरुङमार्ग निर्माण हुने अधिकारीहरूले बताएका छन्। ‘सुरुङमार्ग निर्माणको अवधि ४२ महिना छ,’ थापाले भने, ‘सम्झौता अवधि सकिनुअघि नै सुरुङमार्गको निर्माण कार्य सम्पन्न भइसक्ने अपेक्षा गरेका छौं।’

सुरुङमार्ग निर्माणका लागि भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि ठेकेदार कम्पनीसँगको सम्झौता भने १३ अर्ब ५० करोड रुपैयाँ छ।  सुरुङमार्ग अनुगमनका लागि करिब एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सम्झौता अनुसार टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन्। थापाले नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण हुने बताए। दुबै सुरुङमार्गका लम्बाई २.७ किलोमिटर हुनेछन्।  ठूलो सुरुङभित्र तीन लेनमा सवारी चलाउने लक्ष्य लिइएको छ। सुरुङमार्गसँगै बलम्बुमा फ्लाइओभर (टनेलसम्म पुग्ने), पुरानो नैकापबाट रोड क्रस गर्न ओभरपास र काठमाडौंतर्फ साढे दुई किलोमिटर तथा धादिङतर्फ पाँच सय मिटर सडकलाई चार लेनको बनाइने थापाले जानकारी दिए। सुरुङमार्ग खन्दा निस्कने माटो, ढुंगा सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने बताइएको छ।

नेपालका सडकमा नागढुंगा–सिस्नेखोला खण्डमा नै पहिलो चोटी सुरुङमार्ग निर्माण हुन थालेको हो।  सिँचाइतर्फ भने केही महिनाअघि भेरी–बबई डाइभर्सनका लागि सुरुङ निर्माणको काम सम्पन्न भएको छ।

उक्त सुरुङमार्ग निर्माणका लागि आव्हन गरिएको बोलपत्रमा सबभन्दा कम प्रस्ताव गर्ने जापानीज कम्पनी छनोटमा परेको थियो। सुरुङमार्ग निर्माणका लागि चीनका पाँच निर्माण कम्पनीले पनि प्रतिस्पर्धा गरेका थिए।

सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। सोही ऋणबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो। ४० वर्षमा तिर्ने गरी लिइने ऋणको वार्षिक ब्याज दर ०.०१ प्रतिशत हुने सहमति छ।

सुरुङमार्ग निर्माणका लागि छनोटमा परेको जापानीज कम्पनीले यसअघि नेपालमा थुप्रै आयोजनाको निर्माण कार्य सफलतापूर्वक पूरा गरिसकेको छ। पोखराको खानेपानी, कोटेश्वर–भक्तपुर सडक, विपी राजमार्ग, उदयपुर सिमेन्ट तथा भूकम्पको बेला गोरखाको बारपाकमा पाँच वटा पुल निर्माण नागढुंगा सुरुङमार्ग निर्माण गर्ने जिम्मा पाएको सोही जापानीज कम्पनीले बनाएको हो।

नागढुंगामा सुरुङमार्ग निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई सहज हुनाको साथै चक्काजाम हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको  छ। सुरुङमार्ग निर्माणपछि अहिलेको नागढुंगादेखि सिस्नेखोलासम्मको घुमाउरो सडकको चार किलोमिटर दूरी घट्नेछ।

श्रोतःhttps://nagariknews.nagariknetwork.com/news/97922/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More