News

नारी दिवस विशेष: बलात्कारको तथ्य र मिथ्या

March 08, 2018

स्वागत नेपाल, कान्तिपुर, फाल्गुन २४, २०७४

काठमाडौँ — धेरैजसो बलात्कारपीडितहरू अत्यन्त गरिब, दलित भनिने परिवारका हुने गरेका छन् । कतिपय अवस्थामा सामान्य बाटोखर्च, राजस्व, हुलाक टिकट टाँस्ने रकम पनि नहुने घरपरिवारका पीडितहरू स्वयं पीडकबाट आर्थिक प्रभावमा परेर मुद्दा हार्नुपर्ने स्थितिमा रहेको पाइएको छ ।

बलात्कारसम्बन्धी जतिसुकै कडा कानुन बने पनि बलात्कारका घटना किन बढिरहेका छन् ? यो प्रश्न महिला, कानुनविद् र अधिकारकर्मीलाई सोध्यो भने अधिकांशको जवाफ एउटै आउँछ– पुरुषवादी सोच नै बलात्कारको प्रमुख कारण हो । यो सोचको अन्त्य नभएसम्म यस्ता घटनाहरू नियन्त्रणमा आउनै सक्दैनन् ।

साहित्यकार तसलिमा नसरिनका कृतिहरूदेखि सिमोन द बाउबरको ‘द सेकेन्ड सेक्स’ सम्म पढ्दा पनि उनीहरूले निष्कर्षमा ‘पुरुषहरूले मुखले जे भने पनि मनमनै महिलालाई बलात्कार गरिसकेका हुन्छन्’ भन्ने भाव लेखेका छन् । ‘श्रीमद्देवीभागवत महापुराण’ ले पनि राम्रो काम होस् या अपराधजन्य– तन, वचन र कर्मले मात्र नभएर मनले पनि हुन्छ भनेको छ ।

यो तथ्यमा अडिएर अमेरिकी, युरोपेली र पश्चिमाले ‘मनबाट पनि बलात्कार हुन्छ’ भन्ने कानुनी व्यवस्था अझै गरेका छैनन् । उनीहरूले भर्खरै आशय करणीको व्यवस्था कानुनमा गर्न खोज्दै छन् । तर, नेपाली कानुनमा त्यही शास्त्रीय मान्यतालाई आत्मसात गरेर सम्वत् १९१० को पहिलो मुलुकी ऐनमै यस्तो व्यवस्था गरिएको थियो । वास्तवमा मनमनै पुरुषले महिलालाई बलात्कार गरिसकेका हुन्छन् भन्ने विचारको पछाडि पञ्चतन्त्रमा ‘महिला पुरुषभन्दा आहारामा दुई गुणा बढी, बुद्धिमा चार गुणा बढी, व्यवसायमा ६ गुणा बढी र कामवासनामा ८ गुणा बढी अगाडि हुन्छन्’ भन्ने स्वीकारोक्ति सन्देश दिइएको छ ।

बलात्कारसम्बन्धी मुद्दामा वकिलदेखि न्यायाधीशसम्म, अधिकारकर्मीदेखि अनुसन्धानकर्मीसम्म त्यसैगरी स्वयं पीडक र पीडित अनि चिकित्सकहरूसम्म पनि तथ्य र मिथ्याबीचमा प्रस्ट हुन सकेका छैनन् । यसकारण पनि बलात्कारका घटना बढिरहेका छन् र सही रूपमा न्याय निरुपण पनि हुन सकेको छैन । मिथ्याका रूपमा पहिलो तथ्य के हो भने, बलात्कारीलाई दिइने सजाय कडा हुनाले मात्रै पनि बलात्कार घट्दैन ।

त्यसो हुने हो भने त इरानमा बलात्कारीलाई मृत्युदण्ड दिइन्छ भने बलात्कारको प्रकृतिअनुसार ढुंगा प्रहार गरेर मारिन्छ पनि । अफगानिस्तानमा बलात्कारीलाई बलात्कार गरेको चार दिनमा टाउकोमा गोली हानेर मारिन्छ भने चीनमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय व्यवस्था छ । कोरियामा गोली हानेर मारिन्छ भने साउदी अरेबियामा जनसमुदायको भीडमा बलात्कारीलाई ढुंगाले हानेर मार्नेसम्मका सजाय दिइन्छ । भारतमा बलात्कारीलाई जीवनभर जेलमा बस्नुपर्नेसम्मको सजाय पनि छ । तर पनि यस्ता घटना झनै बढिरहेका छन्, सजाय कडीकडाउ रहेका मुलुकमा पनि बलात्कारको अनुपात कम भएको छैन ।

त्यसैगरी, बलात्कारीहरू हिम्मतवाला, साहसी, डरलाग्दा हुन्छन् भन्ने मिथ्याका कारण धेरैजसो महिलाहरू अझ बढी आत्मसंयम गुमाएर बलात्कारको सिकार हुन पुगेका छन् । सत्यचाहिँ के हो भने, बलात्कारी हीनमनोभावना ग्रसित र मनोरोगी हुन्छन् । उनीहरूलाई आफूजस्तै उमेर समूहका विपरीतलिंगीले मन पराउँदैनन्, स्वीकार गर्दैनन् भन्ने लाग्छ । र, एकान्त ठाउँ, बालबालिका, वृद्धा, सुत्केरी चहार्दै हिँडिरहेका हुन्छन् । अलिकति मात्रै हिम्मत बटुलेर प्रतिकार गर्न पनि बलात्कारीबारेको यस्तै नचाहिँदो मिथका कारण पीडितहरूले सकिरहेका हुँदैनन् । बेलायती न्यायाधीश कोहेन मुर्रेले पनि आफ्नो पुस्तक ‘द साइकोलली अफ रेपिस्ट एन्ड रेप भिक्टिम’ मा यो तथ्यलाई विस्तारमा उल्लेख गरेका छन् ।

नेपालको कानुनमा मुलुकी ऐनले ‘मनमनै बलात्कारको आशयले हेरेको प्रमाणित हुने अवस्थामा समेत सजाय व्यवस्था’ गरेको छ । तर अर्को मिथ्या कानुनले बलात्कारको पीडा उमेर बढ्दै गएपछि कम हुने ठानेको छ । त्यसैले जतिजति पीडितको उमेर बढी हुन्छ, पीडकलाई उतिउति कम सजायको व्यवस्था गरेको छ । यसको अर्थ धेरै वृद्धा महिलाविरुद्ध भएको बलात्कारको घटनामा पीडितको उमेरका आधारमा कम सजायको व्यवस्थाले बलात्कार भावनात्मक नभएर शारीरिक पीडा मात्र हो भन्ने कानुनले ठानेको छ, यस विषयमा कहीँकतै विमर्श भएको छैन र अदालतले पनि अहिलेसम्म बोलेको छैन ।

नेपालमा मनोवैज्ञानिक पक्षका आधारमा एक प्रतिशत मुद्दामा पनि न्यायाधीश, अनुसन्धानकर्मी र चिकित्सकहरूले बलात्कारका पीडितहरूको अवस्था (मनोदशा) लाई हेरेर तथ्यगत मूल्यांकन गरी सत्य स्थापित गर्न सकेका छैनन् । मनोविद्हरूले बलात्कार हुँदा मात्र हैन, प्राकृतिक रूपमा सन्तान जन्माउँदासमेत १० प्रतिशत मानसिक पीडा हुने पत्ता लगाएका छन् ।

अझ बलात्कारपछि पीडित स्वयंले ‘म बलात्कृत भएको होइन’ भन्ने सबैले भनिदिऊन्, अथवा ‘म बलात्कृत भएको कुरा कसैले नपत्याइदेओस्’ भन्ने मनोदशा आफूमा हुर्काइरहेको हुन्छ । यो घटना असत्य होस् भन्ने प्रयत्नका माझ ‘म बलात्कृत भएँ’ भनेर लाखाैं–करोडौँ पटक दिमागमा सोच आइरहने हुनाले पीडित आफैंले ‘होइन’ भन्न थाल्ने तथा घटनाको समय–तालिका र तथ्य फरक पर्ने गरी बोल्न थाल्ने प्रशस्तै उदाहरणहरू पाइने गरेका छन् ।

यही क्रममा जाहेरी दरखास्तको तथ्य बयानमा मिलेन भनेर मुद्दा कानुनबमोजिम नै ठानेर पीडित उम्कने गरी फैसला गर्ने गरिएको नजिर हाम्रासामु छ । नयाँ वैज्ञानिक तथ्यको अध्ययन र सोधखोजको कमीकै कारण यस्ता फैसला हुने गरेका हुन् । त्यसैले कानुनकर्मीका रूपमा मकहाँ आउने बलात्कारका पीडितहरूलाई सुरुमा मनोपरामर्शदातासमेतको व्यवस्था गरेर उनीहरूलाई बोल्न सक्ने बनाएर मात्र बयान र बकपत्रका लागि अदालतसम्म लैजाने गरेको छु । यस्तो मनोवैज्ञानिक परामर्श कानुनी उपचारसँगै दिनेअभ्यासका विकसित मुलुकहरूले पनि गर्न थालेका छन् ।

अर्को तथ्य के हो भने, नेपालमा बलात्कारीलाई अन्य देशमा जस्तो मृत्युदण्डको व्यवस्था सोझै नभए पनि घुमाउरो पारामा ‘बलात्कारीलाई मारिदियो भने बात नलाग्ने’ व्यवस्था छ । त्यसको पनि उत्तिकै प्रचार हुनु जरुरी छ । ‘आफ्नो सतित्वको रक्षार्थ केही गर्दा ज्यान मर्न गयो भने बात लाग्ने छैन’ भन्ने व्यवस्थाले ‘सीधै मार्ने होइन कि’ सतित्वको रक्षा गर्ने क्रममा बलात्कारीलाई नमारी नहुने भयो भन्ने अर्थ लगाइनुपर्छ । त्यो जरुरी यसकारण पनि भएको छ कि, नेपाल प्रहरीभित्रै महिला प्रहरी बलात्कृत हुँदा संरक्षण भने प्रहरीले नै गरेको पनि उदाहरण छन् ।

सबैभन्दा मुख्य कुराचाहिँ बलात्कार सामान्य फौजदारी मुद्दा मात्र होइन, त्यसैले यसलाई मुलुकी ऐनले अन्य सामान्य फौजदारी मुद्दामा जस्तो प्रक्रिया रसजाय होइन, क्रूर तथा अमानवीय अपराध मानेर बेग्लै कानुनको व्यवस्था गर्नु अत्यन्त जरुरी छ ।

स्रोत: www.kantipurdaily.com/feature/2018/03/08/20180308074538.html