निकुञ्जबाट उठ्यो १८ करोड ५९ लाख राजस्व

April 21, 2018

सूर्य प्रसाद अधिकारी, आर्थिक अभियान, ८ बैशाख २०७५

चालू आर्थिक वर्ष ०७४/०७५ को चैत मसान्तसम्म नौ महीनामा चितवन राष्ट्रिय निकुञ्जबाट १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व सङ्कलन गर्न निकुञ्ज सफल भएको हो ।

निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन गरी राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले दिएको तथ्याङ्क अनुसार पर्यटकहरुबाट लिइएको ‘क’ शीर्षक अन्र्तगत प्रवेश शुल्कबाट १२ करोड ८५ लाख ७१ हजार १ सय रुपैयाँ सङ्कलन गरेको छ । यसैगरी सवारी शुल्क, जङ्गल सफारीबाट २ करोड ३४ लाख ८० हजार, सुविधायुक्त बाटो प्रयोग गरेबापत १४ लाख ४६ हजार २ सय १३ रुपैयाँ, घाट ठेक्का दिएबापत २७ लाख ९९ हजार ५ सय राजस्व सङ्कलन भएको छ । यसैगरी ढुङ्गा, गिटी, बालुवा उपभोक्तालाई दिए बापत ७४ लाख ८३ हजार १ सय ९८ रुपैयाँ, वनपैदावारबाट ७० हजार ३ सय ४७ रुपैयाँ, हात्ती भाडा बापत ४ हजार ७ सय ५० रुपैयाँ र अन्य ३ लाख ४० हजार ७ सय रुपैयाँ सङ्कलन भएको निकुञ्जले जानकारी दिएको छ ।

वन क्षेत्र बाहेक रहेको ‘ख’ शीर्षकमध्ये बोलपत्र फारामबाट ३ लाख ५७ हजार रुपैयाँ, न्यायिक दण्ड तथा जरिवानाबाट २० लाख ५९ हजार ८ सय ५१ रुपैयाँ, बेरुजु ३ लाख २४ हजार ९ सय ६६ रुपैयाँ र मूल्य अभिवृद्धि कर बापत १ करोड ९० लाख ६० हजार २८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

निकुञ्जका सहायक वन संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा गतवर्षकोभन्दा बढी राजस्व सङ्कलन हुने देखिएको छ । चालू आवमा २५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको अर्यालले जानकारी दिए । गत आर्थिक वर्ष २०७३/०७४ मा निकुञ्जले सबै शीर्षकमा गरी कुल २२ करोड ५१ लाख ६३ हजार ४ सय ९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा भने विनाशकारी भूकम्प र नाकाबन्दीको कारण पर्यटकको सङ्ख्यामा कमी आई राजस्व सङ्कलनमा कमी आएको अर्यालले बताए । उक्त आर्थिक वर्षमा निकुञ्जले १३ करोड १२ लाख २० हजार २ सय ५५ मात्रै राजस्व सङ्कलन गरेको थियो ।

यसअघि आर्थिक वर्ष ०७१/०७२ मा निकुञ्जले झण्डै २५ करोड राजस्व सङ्कलन गर्न सफल भएको थियो ।

स्रोत: http://www.abhiyan.com.np/2018/04/21/198416

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More