निर्माण सामग्रीमा मनपरी मूल्य

February 09, 2018

रमेशकुमार, हिमालखबर, माघ २५, २०७४ 

चिनियाँ कम्पनी होङ्सीले नेपालमा ठूलो लगानीमा दैनिक १२ हजार टनसम्म उत्पादन क्षमताको सिमेन्ट उद्योग स्थापना गर्ने भएपछि स्वदेशी उत्पादक हड्बडाए ।

रु.३६ अर्ब लगानीको होङ्सीसँग प्रतिस्पर्धामा पछि पर्ने त्रासका कारण स्वदेशी लगानीकर्ताले उक्त कम्पनीलाई कुनै छूट–सुविधा नदिन लगानी बोर्ड नै गुहारे । “नेपालमा आवश्यक सिमेन्ट उत्पादन गर्न स्वदेशी कम्पनी नै सक्षम छन्, त्यसैले यो क्षेत्रमा विदेशी लगानी आवश्यक छैन”, सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल भन्छन् । 

रु.५५ अर्बको लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादनको प्रस्तावसहित भित्रिएको नाइजेरियन कम्पनी डाङ्गोटेलाई रोक्न प्रशासनिक झन्झट मात्रै होइन, कतिपय व्यवसायीको सक्रियता पनि उत्तिकै देखियो ।

प्राविधिक कमजोरी देखाउँदै खानी विभागले तीन पटकसम्म कम्पनीको प्रस्ताव अस्वीकृत गर्‍यो, कम्पनी दर्ता गर्नै चार महीना लाग्यो । खानी विभागले डाङ्गोटेलाई चुनढुङ्गाको खानी नै नदिएपछि कम्पनीको लगानी अनिश्चित बनेको छ ।

डाङ्गोटेलाई रोक्न स्वदेशी लगानीकर्ताहरूले सरकारी निकायहरूसँग गुहार्दै हिंडेको स्रोत बताउँछ । होङ्सीले स्वदेशी शिवम् सिमेन्टसँगको साझेदारीमा उद्योग स्थापना गरे पनि डाङ्गोटेलाई बजारमा छिर्नै नदिने खेल चलिरहेको देखिन्छ ।

निजी क्षेत्रका निर्माण सामग्री उत्पादकहरूको यस्तो अनुदार व्यवहारले खुला बजारको मर्ममाथि नै प्रहार गरेको छ । आफ्नो हितअनुकूल बजार नियन्त्रण गर्ने उद्योगीको क्रियाकलापले बजार विस्तार मात्र होइन, उपभोक्तालाई प्रतिस्पर्धी बजारको लाभ लिने अवसरबाट समेत बञ्चित गरिरहेको छ । “निजी क्षेत्रको संकुचित कामकारबाहीले बजारलाई प्रतिस्पर्धी हुन रोकिरहेको छ”, पूर्व अर्थ सचिव शान्तराज सुवेदी भन्छन् ।

निजी क्षेत्रका व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा भने स्वदेशी कम्पनीलाई संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको बताउँछन् । “उदार बजार भएका अमेरिकालगायतका देशहरूले पनि आफ्ना उद्योग संरक्षण गर्न विदेशी कम्पनीलाई नियमन र नियन्त्रण गर्छन्”, शर्मा भन्छन् ।

अपत्यारिलो मूल्यवृद्धि
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै सिमेन्ट र फलामे छड उद्योगहरूले मूल्य ह्वात्तै बढाए । सिमेन्टमा प्रतिबोरा रु.१०० भन्दा बढी र छडमा प्रतिकिलो रु.१० बढ्यो । मिलेमतोमा कृत्रिम मूल्य बढाइएको आरोप लागे पनि उद्योगी यो मान्न तयार छैनन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा अन्तर्राष्ट्रिय बजारमै सिमेन्टको कच्चा पदार्थको मूल्य बढेको र पुरानो घाटा पूर्ति गर्न मूल्यवृद्धि गर्नुपरेको बताउँछन् (हे. हिमाल, १४–२० माघ) । आपूर्ति व्यवस्थापन विभागको पटकपटकको पत्राचारपछि मूल्यवृद्धि फिर्ता लिन तयार भएको भनिए पनि व्यवसायीले सिमेन्टमा प्रतिबोरा रु.२० मात्र घटाएका छन् । 

नेपालमा सिमेन्टको कच्चा पदार्थ चुनढुङ्गा करीब एक अर्ब टनभन्दा बढी रहेको अनुमान छ । यसमध्ये ५४ करोड टन त तत्काल उपयोग गर्न सकिने गरी भण्डार रहेको पुष्टि भइसकेको छ ।

त्यसैले, यसको तुलनात्मक लाभ लिने अवसर छ । विडम्बना, नेपालमा सिमेन्टको मूल्य अहिले दक्षिणएशियाकै उच्च छ । भारतमा नेपालको भन्दा करीब आधा नै सस्तो छ । व्यवसायी भने उत्पादन लागत नै बढी भएकाले यहाँ सिमेन्ट महँगो भएको दाबी गर्छन् ।

बहुराष्ट्रिय कम्पनीहरू आएमा एकैपटक धेरै परिमाणमा उत्पादन (मास प्रोडक्सन) हुने भएकाले सस्तो पर्ने तर देशको हित भने नहुने सिमेन्ट उत्पादक संघका उपाध्यक्ष पोखरेलको तर्क छ । “विदेशी कम्पनीले नाफा जति बाहिरै लैजान्छन्, अन्ततः देशलाई नै असर पार्छ”, उनी भन्छन् ।

हुन पनि, होङ्सीले पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने त्यसले अहिलेको मागको आधाभन्दा बढी पूर्ति गर्ने क्षमता राख्छ । भर्खरै अर्को चिनियाँ कम्पनी ह्वाजिनले पनि सिमेन्ट उत्पादनका लागि लगानी भिœयाउन लगानी बोर्डसँग सम्झाैता गरेको छ ।

‘पर्ख र हेर’ को अवस्थामा रहेको डाङ्गोटेले निर्माण थाले बजार थप प्रतिस्पर्धात्मक बन्ने पक्का छ । त्यसो त भारतीय कम्पनी रिलायन्स पनि नेपाली बजारमा सिमेन्टको अवसर हेरेर बसिरहेको छ ।

विद्युत् शुल्क बढेको र भारतमै कच्चा पदार्थको मूल्य वृद्धिका कारण सिमेन्टको भाउ बढाउनुपरेको व्यवसायीको तर्क पत्यारिलो भने छैन । किनभने, कच्चा पदार्थको मूल्य बढेको भारतमा प्रति बोरा भारु १२ को हाराहारीमा मात्र सिमेन्टमा मूल्य बढेको भारतीय पत्रिका बिजनेस लाइन ले लेखेको छ ।

नेपालमा भने प्रतिबोरा रु.१०० भन्दा बढी मूल्य बढाइएको छ । अर्को, व्यवसायीले राति विद्युत्को मूल्य प्रतियुनिट रु.३.४ बढेको बताएका छन् । तर, लोडसेडिङ कटौती भइसकेकाले राष्ट्रिय प्रणालीको विद्युत्को शुल्कले सिमेन्ट उत्पादनको लागत अझ् घट्नुपर्ने हो ।

किनभने, अघिल्ला वर्षहरूमा विद्युत् अभावका कारण डिजलबाट सिमेन्ट उत्पादन गर्दा प्रति युनिट लागत रु.३५ सम्म पर्ने गरेको स्वयं व्यवसायीहरूले नै बताउँदै आएका थिए । नेपालमै क्लिङ्कर उत्पादन गर्ने उद्योगले समेत मूल्य बढाउनुलाई अर्को आश्चर्य मान्न सकिन्छ । 

पूर्व अर्थ सचिव सुवेदी कच्चा पदार्थको मूल्य, श्रम, उत्पादन लागत इत्यादिको मूल्यांकन गरेर मूल्य नियमन गर्ने प्रणाली स्थापना हुन नसकेकाले बजारमा अराजकता देखिएको बताउँछन् । “यस्तो बेला सरकारले हस्तक्षेप गर्नुपर्छ”, सुवेदी भन्छन् ।

वित्तीय जोखिम पनि
देशमा अहिले सिमेन्टका करीब डेढ दर्जनभन्दा बढी उद्योग प्रस्तावित र निर्माणाधीन छन् । सञ्चालनमा रहेका चार दर्जन उद्योगमध्ये एक दर्जन बढीले क्षमता वृद्धि गर्दैछन् ।

चौधरी समूहले पाल्पामा दैनिक ४००० टन उत्पादन क्षमताको उद्योग निर्माण गरिरहेको छ भने शंकर र अम्बे समूहले पनि दैनिक २७०० टन क्षमताको ऋद्धिसिद्धि सिमेन्ट उद्योग स्थापना गर्दैछन् ।

अग्नि सिमेन्टका लगानीकर्ता दैनिक १००० टन क्षमताको अर्को शुभश्री सिमेन्ट उद्योग स्थापनामा जुटेका छन् । मेघा, सनराइज, अल्ट्राटेक, सौर्यलगायतका सिमेन्ट उद्योग पनि धमाधम निर्माण भइरहेका छन् । यी उद्योगहरूमा रु.१०० अर्बभन्दा बढी लगानी थपिंदैछ ।

त्यस्तै, फलामे डण्डीमा पनि दर्जनभन्दा बढी उद्योग थपिंदैछन् । अहिले डेढ दर्जन स्टिल उद्योग रहेकामा थप एक दर्जनभन्दा बढी पाइपलाइनमा छन् । सौरभ समूहले वीरगन्जमा सर्वोत्तम स्टिल, आरती स्ट्रिप्स्ले भारतीय साझ्ेदारीमा आरती टीएमटी, लक्ष्मी समूहले सिद्धिलक्ष्मी स्टिल उद्योग स्थापनाको तयारी गरिरहेका छन् ।

यसबाहेक श्री स्टिल, फेरो स्टिल, बालाजी स्टिल, प्रिमियर स्टिल, नारायणी स्पातलगायतका उद्योग निर्माण भइरहेका छन् । रु.३० अर्बको हाराहारीमा लगानी थपिंदैछ ।

बजार नबढ्दा थपिने लगानीको जोखिम पनि उत्तिकै छ । भइरहेका सिमेन्ट उद्योगहरूको क्षमता वार्षिक एक करोड टनको हाराहारीमा छ, जसमध्ये करिब ६० लाख टन मात्र उत्पादन भइरहेको छ । कच्चा पदार्थ क्लिङ्करको भने ठूलो बजार छ । अहिले पनि भारतबाट वार्षिक रु.८ अर्बभन्दा बढीको २५ लाख टन क्लिङ्कर आयात भइरहेको छ ।

ठूला उद्योग थपिएसँगै स्वाभाविक रूपमा बजारमा प्रतिस्पर्धा बढ्छ, मूल्य घट्छ । तर, दीर्घकालीन रूपमा मूल्य कम गर्न भने कच्चा पदार्थसहित उत्पादन लागत नै घटाउनुपर्ने सिमेन्ट उत्पादक संघका उपाध्यक्ष पोखरेलको भनाइ छ ।

छडमा वार्षिक १८ लाख उत्पादन क्षमताका उद्योगहरू भए पनि माग भने १० लाख टनको हाराहारी मात्र छ । पाइपलाइनमा थप २१ लाख टन क्षमताका उद्योगहरू भएकाले प्रतिस्पर्धा बढ्ने पक्का छ ।

स्रोत: http://himalkhabar.com/news/6675

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More