लक्ष्मी सापकोटा, कारोबार आर्थिक दैनिक, ०८ माघ २०७४
मुलुकको कुल निर्यातमा एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम अन्तर्गतका उत्पादनको ४८ प्रतिशत योगदान रहेको पाइएको छ । सरकारले निर्यातयोग्य वस्तु पहिचान गरेर निर्यात बढाउनका लागि सन् २०१० मा एनटीआईएस कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको निर्यात बढ्दै गएपछि यसको कुल वस्तु निर्यातमा समेत योगदान बढ्दै गएको हो ।
एनटीआईएस कार्यक्रमबाट उत्पादित वस्तुले निर्यातमा ४७.८ प्रतिशत योगदान पुर्याएको वाणिज्य मन्त्रालयले जानकारी दिए । यस्तै, अन्य उत्पादनको योगदान ४४.२ प्रतिशत रहेको देखिएको छ । “पछिल्लो समयमा मुलुकमा आयातदर बढ्दै गए पनि सोही अनुपातमा निर्यात भने बढ्न सकेको छैन,” वाणिज्यसचिव चन्द्रकुमार घिमिरेले भने, “कुल निर्यातमा एनटीआईएस कार्यक्रमले ४८ प्रतिशत योगदान पुर्याउनुलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।”
मुलुकको व्यापारघाटा बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यातमा विशेष जोड दिइएको उनले जानकारी दिए । निर्यात प्रवद्र्धन गर्नका लागि निर्यातयोग्य वस्तुको उत्पादन बढाउन लागिएको उनको भनाइ छ । एनटीआईएस कार्यक्रमअन्तर्गत आलैंची , चिया, अदुवा, जडिबुटी, लेदर, पस्मिना, फुटवेयरका सामान, कार्पेट, फेब्रिक, टेक्स्टाइल रहेका छन् । नेपालको कुल निर्यातमा यी सवै वस्तुको योगदान जोड्दा ४८ प्रतिशत पुगेको हो । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-७४मा ७३ अर्बको १२ करोड ५३ लाख ५१ हजार रुपैयाँको कुल निर्यात भएकोमा एनटीआईएस कार्यक्रमअन्तर्गतका उत्पादनको निर्यात ३२ अर्ब ३२ करोड ९१ लाख २९ हजार रुपैयाँको छ । यस्तै, आव ०७२-०७३ मा ७१ अर्ब १३ करोड ७६ लाख ६३ हजार रुपैयाँको निर्यात भएकोमा ३३ अर्ब ८७ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरका सामग्री एनटीआईएस कार्यक्रमका उत्पादन निर्यात भएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिर महिनासम्म ४ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएकोमा ३३ अर्ब ७२ करोड रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष ०७२-०७३ मा ४ अर्ब ६१ करोड ४६ लाख १२ हजार रुपैयाँ बराबरको ३४ लाख ३८ हजार ३ सय ५१ किलो अलंैची निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष ०७३-०७४ मा ३ अर्ब ८७ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको ३४ लाख २९ हजार ३ सय २ केजी अलैंची निर्यात भएको तथ्यांक छ । यस्तै, आव ०७२-०७३ मा २ अर्ब ४० करोड १२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख ८९ हजार ६६ किलो चिया निर्यात भएको थियो । ०७३-०७४ मा २ अर्ब ५० करोड २७ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ४५ हजार किलो चिया निर्यात भएको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार ०७२-०७३ मा ६४ करोड ३० लाख ८६ हजार रुपैयाँ बराबरको २ करोड ८३ लाख ५१ हजार ८ सय २३ किलो अदुवा निर्यात भएको थियो ।०७३-७४ मा २४ करोड ३३ लाख ८८ हजार रुपैयाँ बराबरको ४४ लाख ९हजार ९ सय ५६ किलो अदुवा निर्यात भएको तथ्यांक छ । विभागका अनुसार ०७३-०७४ मा १ अर्ब २० करोड ५६ लाख ५६ हजार रुपैयाँको फुटवेयरका सामान निर्यात भएको छन् । सो अवधिमा ७६ करोड ८४ लाख ७४ हजार रुपैयाँको लेदर, २ अर्ब ५४ करोड १९ लाख ५६ हजार रुपैयाँको पस्मिना र ७ अर्ब ४२ करोड ७५ लाख ६० हजार रुपैयाँको कार्पेट निर्यात भएको छ । छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकमा सामान निर्यात हुने गर्छन् । व्यापारविज्ञ पुरुषोतम ओझाले व्यापार घाटा कम गर्न निर्यातमा विशेष जोड दिनुपर्ने बताए ।
पछिल्लो समय मुलुकमा आयातदर बढ्दै गए पनि निर्यात बढ्न सकेको छैन । स्वदेशी उत्पादनले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, लागत महँगो पर्नु, गुणस्तरयुक्त वस्तु उत्पादन नहुनले गर्दा निर्यात बढ्न सकेको छैन । निर्यात प्रवद्र्धन गर्नका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको छैन ।