निर्यातमा पुनः सुधार

March 24, 2020

अन्नपूर्ण पोष्ट, चैत्र ११, २०७६ 

काठमाडौं : नेपालको निर्यात व्यापारमा पुनः सुधार आएको छ। भारतले प्रशोधित पाम आयलको आयात खुलाएपछि निर्यातमा सुधार आएको हो। यसकारण चालु आर्थिक वर्षको पहिलो आठ महिनामा (साउन-फागुन) मा पुनः देशको वैदेशिक व्यापार सुधारको बाटोमा देखिएको छ। यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा खुम्चिएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल ९ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भयो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। विभागको तथ्यांकअनुसार यस वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.६२ प्रतिशतले आयात घटेको छ। चालु आवको पहिलो महिनादेखि आयात घट्दै आएको थियो।

निर्याततर्फ यस वर्ष पहिलो आठ महिनामा २२.३५ प्रतिशत वृद्धि भएको छ। ७४ अर्ब ९० करोड रुपैयाँको निर्यात व्यापार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

व्यापार घाटा घट्यो
आयात घट्नु र निर्यात बढ्नुले समग्र वैदेशिक व्यापार घाटामा थोरै सुधार आएको देखिन्छ। तथ्यांकअनुसार कुल वैदेशिक व्यापार घाटा चालु आवको आठ महिनामा ८ खर्ब ४९ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो आवको यही अवधिमा ८ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो। यसअनुसार चालु आवमा कुल व्यापार घाटा ४.३४ प्रतिशतले सुधार भएको छ।

अर्थ मन्त्रालयका अनुसार अहिले विलासिताका सामान आयातमा कडाइ गरिएको छ। नेपालमै उत्पादन हुने वस्तुको आयातमा भन्सारका दरसमेत बढाइएको छ। त्यसको सकारात्मक प्रभाव समग्र वस्तु आयातमा देखिन थालेको छ।

वस्तु आयातमा आएको कमीले समग्र वैदेशिक व्यापार नै घटेको छ। समीक्षा अविधमा ९ खर्ब ९९ अर्बको कुल वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्ष १० खर्ब १० अर्ब व्यापार भएको थियो।

निर्यातको हिस्सा बढ्दो
नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा उकालो लागेको छ। यस वर्षको पहिलो ८ महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.५ प्रतिशत पुगेको छ। अघिल्लो आवको पहिलो ८ महिनामा निर्यातको हिस्सा ६ प्रतिशत मात्र थियो। यस वर्ष निर्यातको हिस्साको वृद्धिदर २३ प्रतिशत छ। आयातको हिस्सा भने ९२.५ प्रतिशत छ। अघिल्लो वर्षको ८ महिनामा आयातको हिस्सा ९३.९ प्रतिशत थियो। यस वर्ष आयातको हिस्सा १.५३ प्रतिशतले ओरालो लागेको छ।

स्रोत: http://annapurnapost.com/news/151135

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More