राजु चौधरी, कान्तिपुर राष्ट्रिय दैनिक, २७ कार्तिक २०७४
निर्वाचनको मुखमा खाद्यान्न र तरकारीको भाउ अत्यधिक बढेको छ । तरकारीमा बढेको बिचौलिया धन्दा र राजनीतिक दलले सहयोगको नाममा व्यवसायीसँग चन्दा असुल्न थालेपछि उक्त रकम पनि जोडेर व्यवसायीले सामान बेच्न थालेका छन् ।
बिचौलियाका कारण एकातर्फ उत्पादकले मूल्य पाएका छैनन् भने उपभोक्ता चर्को भाउमा किन्न बाध्य छन् । यही बेला निर्वाचन र चन्दा व्यवसायीलाई कालोबजारी गर्ने माध्यम बनेको छ । ‘राजनीतिक दललाई सहयोग गरेबापत उक्त रकम असुलउपर गर्न वस्तुको मूल्य बढाएर बिक्री गर्न बाध्य हुन्छौं,’ एक व्यवसायीले भने । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र खुद्रा व्यापार संघको तथ्यांक हेर्दा तरकारी तथा चामलको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।
एक महिनाको अवधिमा केही तरकारीको मूल्य दोब्बर बढेको छ । चामल र खानेतेलको भाउ पनि अत्यधिक बढेको व्यवसायी बताउँछन् । संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार अगुरी, लोकल मन्सुली र जिरामसिनो चामलको मूल्य बढेको हो । चामल प्रतिबोरा (२५ किलो) मा सय रुपैयाँसम्म बढेको छ । प्रतिलिटर २ सय रुपैयाँ पाइने धारा अहिले बढेर २ सय १५ रुपैयाँ पुगेको श्रेष्ठले बताए ।
‘प्रतिबोरा १६ सय ५० रुपैयाँ पर्ने अगुरी चामल १७ सय ५०, १४ सय ५० रुपैयाँ पर्ने जिरा मसिनोमा १५ सय ५० रुपैयाँ पुगेको छ,’ उनले भने । केही महिनाअघि वर्षाका कारण व्यवसायीको खाद्यान्न नष्ट भएकाले मूल्य बढेको उनले बताए । नयाँ धान बजारमा आउने क्रममा रहेकाले मूल्य घट्न केही समय लाग्ने संघले जनाएको छ ।
तरकारीको हकमा भने बिचौलियाले गर्दा उपभोक्ता र किसान मर्कामा परेको उनले बताए । ‘लोकल उत्पादन सुरु भएको छ । आपूर्तिमा कुनै समस्या छैन,’ श्रेष्ठले भने, ‘तर, असिनाको बहानामा उपभोक्तालाई मार परेको छ ।’ तरकारीको मूल्य बढे पनि वास्तविक किसानले भने मूल्य नपाएको उनले बताए । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सदस्यसचिव तेजप्रसाद पौडेलले उत्पादनमा कमीले बजार महँगिएको बताए । उपत्यकासँगै बाहिरी सहरहरूमा पनि मूल्य बढेको उनले बताए । ‘यसअघि दैनिक ७ सय साढे ७ सय टन तरकारी आउँथ्यो,’ उनले भने, ‘अहिले ४ देखि साढे ४ सयमा सीमित भएको छ ।’
समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा हरियो तरकारीको भाउ २ सय ९० रुपैयाँसम्म बढेको छ । कालिमाटी बजारमै मूल्य बढ्दा खुद्रा मूल्य अत्यधिक बढेको छ । फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले तराई क्षेत्रमा उत्पादन नहुँदा तरकारी महँगिएको बताए । उपत्यकाको माग धान्न भारतबाट पनि तरकारी आयात हुन्छ । हाल भारतमा पनि महँगिएकाले यहाँ असर परेको उनले बताए । ‘कालिमाटी बजारमा तराईसँगै धादिङ, नौबिसेबाट पनि भित्रिन्छ,’ उनले भने, ‘तर, धादिङ र नौबिसेमा तरकारी खेतीभन्दा इँटाभट्टा र सिमेन्ट उद्योग सञ्चालन भएको छ ।’ काठमाडौं र भक्तपुरमा पनि उत्पादन कम भएको उनले बताए ।
उपत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । अहिले स्थानीय उत्पादनले मात्रै बजारको माग धानिरहेको छ । समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । समितिको तथ्यांकअनुसार गोलभेंडा, आलु, प्याज, गाजर, बन्दा, काउली, बोडी, मटरकोसा, लौका, परवरलगायत सबै तरकारीको भाउ बढेको छ । असोज २४ गते ७५ रुपैया पर्ने गोलभेडा बढेर १ सय १० रुपैया पुगेको छ । किलोको ४५ रुपैयाँ पर्ने आलु ६५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ७५ रुपैयाँ पर्ने सुकेको प्याज बढेर ८५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ ।
यस्तै, ५५ पर्ने बन्दा ८५ रुपैयाँ, ६५ पर्ने काउली स्थानीय ९५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ५५ पर्ने भन्टा ७५ रुपैयाँ, १ सय ५ को बोडी १ सय २५ रुपैयाँ, ६५ रुपैयाँको मटरकोसा १ सय २५ रुपैयाँ पुगेको तथ्यांकमा छ । समितिका सूचना अधिकृत विनय श्रेष्ठले आपूर्ति नै कम हुँदा बजारमा समस्या देखिएको बताए । ‘तराईमा बाढी, पहाडमा पहिरोका कारण तरकारी बाली क्षति भएको छ,’ उनले भने, ‘भारतबाट आउने तरकारी पनि महँगो हुँदा थप समस्या भयो ।’ समितिका अनुसार प्रतिकिलो १ सय ५ रुपैयाँ पर्ने हरियो धनियाँ ३ सय ९५, १ सय ४५ रुपैयाँ पर्ने च्याउ १ सय ९० रुपैयाँ पुगेको छ ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-12/20171112074841.html