मेनुका कार्की, नागरिक, चैत १९, २०७५
काठमाडौं– आगामी १९औँ पञ्चवर्षीय योजनासम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पाँच सय एक खर्ब ३३ अर्ब पुग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ।
नेपालको दीर्घकालीन सोचको खाकामार्फत नेपालको जीडीपी पाँच सय खर्ब नाघ्ने अनुमान गरिएको हो। सो अनुमान आर्थिक वर्ष २०७५÷७६ को मूल्यमा प्रक्षेपण गरिएको हो। सो प्रक्षेपण हालको जीडीपीभन्दा १६३ गुणाले बढी हो। हाल नेपालको जीडीपी ३० खर्ब सात अर्ब रहेको छ।
आयोगले वि.सं. २१०० अर्थात १९औँ योजनाको अन्त्यसम्म नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय २४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। हाल प्रतिव्यक्ति आय सात सय ७२ अमेरिकी डलर रहेको छ।
१९ औँ योजनाको अन्त्यसम्म औसतमा आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुग्ने दीर्घकालीन सोचमा उल्लेख गरिएको छ। सो अवधिसम्म आर्थिक वृद्धिमा उद्योगको योगदान १२ दशमलव २ प्रतिशत, कृषि क्षेत्रको योगदान चार प्रतिशत सेवा क्षेत्रको १० दशमलव २ प्रतिशत पुग्ने गरी योजना तथा कार्यक्रम अघि बढाउने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले जानकारी दिए।
दीर्घकालीन सोच २१०० सम्म जीडीपीमा कृषि क्षेत्रको योगदान घटाउँदै सेवा र उद्योग क्षेत्रको योगदानलाई बढाउने तयारी आयोगको छ। अबको २५ वर्षमा जीडीपीमा सेवा क्षेत्रको योगदान बढेर ५६ दशमलव १ प्रतिशत पु¥याउने लक्ष्य सरकारले लिएको छ। उद्योगको योगदान पनि बढेर ३६ दशमलव २ प्रतिशत पुग्ने अनुमान गरिएको छ। त्यतिबेला कृषिको योगदान भने जम्मा ७.६ प्रतिशतमा सीमित रहनेछ।
यो प्रक्षेपण प्रारम्भिक समस्टिगत आर्थिक प्रक्षेपणको उच्च परिदृश्य भएको उपाध्यक्ष कँडेलले बताए। यदि नेपालले सोचे जसरी कार्य सम्पादन गर्न सकेन भने पनि १९औँ योजनाको अन्त्यसम्म तीन सय ५८ खर्ब ५७ अर्ब जीडीपी पुग्ने अनुमान आयोगले गरेको छ। आयोगका अनुसार जीडीपीको आकार कम भएमा पनि नेपालीको प्रतिव्यक्ति आय आठ हजार नौ सय ५८ अमेरिकी डलर भने पुग्छ नै।