नेपालमा दासप्रथा : करियादेखि कमलरीसम्म, बहुदलपछिका नेताभन्दा चन्द्रशमशेर सक्षम

February 27, 2023

ध्रुवसत्य परियार, राटोपाटी, फागुन ११, २०७९

‘थापाथली दरबारकी नैनशोभा केटीलाई भोटमा लगेर बेच्नू’ भनी श्री ३ जंगबहादुरबाट आदेश भयो । आदेशबमोजिम १९२४ सालको हिउँदमा दुई सिपाहीले नैनशोभालाई कुती पुर्‍याए । त्यहाँका ढेवा झुम्पुनुहरूले भोट सरकारको अनुमतिबिना केटीलाई ल्हासा जान नदिने भनी रोके । नेपालबाट पुनः पत्र लेख्नुपर्‍यो । थापाथली दरबारकी केटी हो भन्ने साँचो कुरा नभनी ‘वकिलकी कमारी हो, उनलाई काम गर्न हर्जा भयो भनी सिपाही लाएर पठाइदिएको’ भनी ढाँटेर पत्र लेखियो र यस कुराको सूचना वकिल जितमानसिंहलाई पनि दिइयो । 

‘त्यो केटी चाँडै बेच्नू, बेचेपछि फलाना ठाउँमा यति रुपैयाँमा बिक्री भई भन्ने खबर लेख्नू, नबिकुन्जेल आफ्नै साथमा राख्नु, कतै भागीनासी जान नपाओस्’ भन्ने आदेश पनि यताबाट चिफसाहेब रणोद्दीपसिंहद्वारा वकिल जितमानसिंहकहाँ पठाइयो । १९२५ कार्तिकसम्म नैनशोभा बिकेकी थिइनन् । इतिहासकार ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुक्त’मा उल्लेख छ, ‘दरबारकी केटी श्री ३ को आदेशले किन बिक्री गरिन भोट ल्हासा पठाइएको हो अझै स्पष्ट हुन सकेको छैन । यसरी भोटमा नेपाली केटी कति बिके, कति नेपाली नारी भोटनारी बने ? तिनका शाखासन्तान त्यहाँ कति कहाँ फैलिए ? समाजशास्त्रको यो एउटा अनुसन्धेय विषय बनेको छ ।’

इतिहासकार नेपालका अनुसार, मुख्यतः मध्यकालमा स्त्रीलाई विलासको साधनका रूपमा लिइन्थ्यो । केटीहरू छानीछानी ल्याएर दरबार र ठूलाबडाको घरमा सुसारेका रूपमा राखिन्थ्यो । देवताका मन्दिरमा चढाइएका स्त्री देवदासीका रूपमा मन्दिरमा रहने प्रचलन लिच्छविकालदेखि नै थियो ।   

चन्द्रशमशेरले १९८१ मंसिर १४ गते काठमाडौंको टुँडिखेलमा एक बृहत् आमसभा आयोजना गरी दासदासीलाई मुक्त घोषणा गरे । 

जंगबहादुरले बनाएको मुलुकी ऐनमा कमाराकमारी (दासदासी)को मूल्य तोकियो– तीन वर्षदेखि मुनिको कमाराको २० रुपैयाँ र कमारीको २५ रुपैयाँ । तीनदेखि ६ वर्षसम्म उमेर समूहको कमाराको ३० रुपैयाँ र कमारीको ३५ रुपैयाँ । ६ देखि १२ वर्षसम्म उमेर समूहको कमाराको ५० रुपैयाँ र कमारीको ५५ रुपैयाँ । १२ देखि ४० वर्षसम्म उमेर समूहको कमाराको एक सय रुपैयाँ र कमारीको १२० रुपैयाँ । ४० देखि ५० वर्षसम्म उमेर समूहका कमाराकमारी दुवैको ६०–६० रुपैयाँ । 

त्यतिबेला कमारा (पुरुष)को भन्दा कमारी (स्त्री)को मूल्य बढी तोकिएको थियो । डा. सूर्यमणि अधिकारीको पुस्तक ‘नेपालको इतिहास र समाज अध्ययन’ अनुसार, कमारीले जन्माएका सन्तान बेची नाफा हुने भएकाले कमारीको मूल्य बढी थियो । दासीहरू मालिकका यौन तृप्तिका साधन पनि बन्ने गर्थे ।

चन्द्रशमशेरले १९८१ मंसिर १४ गते काठमाडौंको टुँडिखेलमा एक बृहत् आमसभा आयोजना गरी दासदासीलाई मुक्त घोषणा गरे । 

बहुदलपछिका नेताभन्दा सक्षम चन्द्रशमशेर 

बहुदलपछि २०५७ साउन २ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कमैया मुक्तिको घोषणा गरे । घोषणापछि मात्रै कमैयाको तथ्यांक लिने कार्य सुरु भएको थियो । चन्द्रशमशेरले भने पहिले दासदासी र उनीहरूका मालिकको तथ्यांक संकलन गरेर मात्रै करिया मोचनको घोषणा गरेका थिए । त्यतिबेला ५६ लाख जनसंख्या भएको मुलुकमा ५९ हजार ८७३ दासदासी र १५ हजार ७१९ मालिक थिए । 

बिनाविकल्प, बिनायोजना र बिनाकार्यक्रम मुक्त घोषणा गरिँदा यी कतिपयको बिचल्ली भएको थियो । कमैयाहरू मालिकको जग्गामा रहेको छाप्रोमा बस्थे । कमैया मुक्तिको घोषणापछि मालिकहरू आफ्नो जमिन खोसिने त्रासमा परे ।

घोषणापछि केही दासदासी कालगतिले मरे, केही भागे । चार हजार ६५१ दासदासीलाई मालिकहरूले नै मुक्त गरिदिएका थिए । एक सय १४ दासदासी आफ्नो मूल्य आफैँ तिरेर मुक्त भए । बाँकी ५१ हजार ७८२ दासदासीलाई सरकारले मूल्य तिरिदिएर मुक्त गरायो । यसका लागि सरकारले पशुपतिनाथको गुठीबाट ३६ लाख ७० हजार रुपैयाँ खर्च गरेको थियो । मुक्त करियालाई खेतीयोग्य जमिन दिएर पुनस्र्थापना गरिएको थियो । अमलेख अर्थात् मुक्त गरिएका दासदासी राखिएको स्थानको नाम अमलेखगन्ज राखियो । 

बहुदलपछि सरकारले कमैया, हलिया (२०६५ भदौ २१ मा), कमलरी (२०७० असार १३ मा) र हरवाचरवा (२०७९ साउन २ मा) लाई मुक्त घोषणा गरेको छ । यिनीहरू आफू मुक्त घोषित भएकामा जति खुसी छन्, त्यति नै पीडामा छन् पुनस्र्थापना नभएकामा । 

बिनाविकल्प, बिनायोजना र बिनाकार्यक्रम मुक्त घोषणा गरिँदा यी कतिपयको बिचल्ली भएको थियो । कमैयाहरू मालिकको जग्गामा रहेको छाप्रोमा बस्थे । कमैया मुक्तिको घोषणापछि मालिकहरू आफ्नो जमिन खोसिने त्रासमा परे । ‘कैलाली र कञ्चनपुरमा ठीक वर्षायाममा कमैयालाई मालिकले छाप्रोबाट निकालिदिए, सयौँ परिवार बिचल्लीमा परे,’ २०५७ चैतमा प्रकाशित शान्ति चौधरीको पुस्तक ‘मुक्त कमैयाको वर्तमान अवस्था’मा उल्लेख छ ।  

पछि यही अवस्था कमलरी र हरवाचरवाले पनि भोग्नुपर्‍यो । मुक्त घोषणापछि खाने–बस्ने र बाँच्ने दुःख भयो, कति कमलरीले उमेर सानै भए पनि विवाह गरेर गए । 

मुक्त गरिएका कमैया, हलिया, कमलरी र हरवाचरवा सबै भूमि र कृषिसँग सम्बन्धित हुन् । पछिल्लो समय यी सबैबीच भेला भई ‘कृषि बाँधा–मजदुर संघर्ष समिति’ गठन गरिएको छ । उनीहरूको साझा माग छ– ‘लगत संकलन, पुनस्र्थापना, निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारी वा स्वरोजगारी, सामाजिक सुरक्षा र सामाजिक न्याय ।’

सभ्यताको सुरुवातदेखि शक्तिशाली राजा वा उसका सहयोगीले मानिसलाई भूदास (भूमिमा काम गर्ने) बनाउनु, भाडाको सिपाही बनाउनु आदि सामान्य हुँदै आयो ।

दासप्रथा 

अचम्म यो छ, दास बनाउने प्रवृत्ति (इन्स्टिङ्क्ट) कमिलाका केही जातिमा पनि देखिन्छ । यिनीहरूका नायकले अन्य प्रजातिका कमिलालाई पक्रेर दास बनाउँछन् । चाल्र्स डार्विनको पुस्तक ‘द ओरिजिन अफ् स्पेसिज्’ अनुसार, फरमिका (पोलिअरगस) रूफेसेन्स नामक प्रजातिको कमिला पूर्णतः दासहरूमै निर्भर रहन्छ । यिनीहरूले भोजन संकलन गर्ने, घार बनाउने काम गर्दैनन् । यतिसम्म कि घार छाडेर हिँड्नुपर्दा पनि यिनीहरूलाई दासहरूले मुखमा च्यापेर लैजान्छन् । 

यसले त्यतातिर संकेत गरेझैँ लाग्छ– जहाँ काम बढी हुन्छ, जहाँ भोजनको संकलन गरिन्छ, त्यहाँ दास बनाउने खेल सुरु हुन्छ । अध्यताहरू भन्छन्– पशुपालन, कृषि, घरेलु उद्योगमा भएको वृद्धिसँगै दासप्रथाको अवधारणा देखिन थाल्यो । खासगरी युद्धमा पराजितहरूलाई दास (यौनदासी पनि) बनाउने प्रचलन विश्वमा सबैतिर देखियो । पितृसत्तामा अंश र वंशको हक पुरुषमा निहित हुन थालेसँगै अर्थात् विवाह संस्थाको विकाससँगै महिलाहरू अर्धदास (पुरुषका निजी सम्पत्तिजस्तै)मा परिणत हुन थाले ।   

सभ्यताको सुरुवातदेखि शक्तिशाली राजा वा उसका सहयोगीले मानिसलाई भूदास (भूमिमा काम गर्ने) बनाउनु, भाडाको सिपाही बनाउनु आदि सामान्य हुँदै आयो । खासगरी हिन्दू समाजमा सेवाको उद्देश्यले एउटा छुट्टै वर्णको जन्म दिइयो– शूद्र । शूद्रको पिँध पनि युद्धमा पराजित दास, दस्युसम्म पुग्छ । धर्म र सत्ता चलाउन तत्कालीन समाजका टाठाबाठाले आफूहरूलाई ब्राह्मण (धर्म धान्ने) र क्षत्री (युद्ध गर्ने)मा विभाजित गरे । क्रमशः विवाह, भोजन, पेसा आदिको नियम बनाएर वर्ण व्यवस्थालाई विभिन्न जात जन्माउने कारखाना जस्तै बनाइयो । यस्तै, छूत र अछूत, पवित्रता र अपवित्रतालाई प्रश्रय दिन थालियो । मनुस्मृति लगायत स्मृति ग्रन्थले वर्णको मात्रै होइन, दासका प्रकार पनि उल्लेख गरेका छन् । 

पूर्वी एसियामा कृषि र पशुपालनमा अग्रसर समुदायमाथि आक्रमण गरी, जालझेल गरी घुमन्ते जाति (खसआर्य)ले आफ्नो प्रभुत्व जमाउँदै गए । जमिनमा राजा र उसका सहयोगीहरूको पहुँच हुनु, कर उठाउने सीमित व्यक्ति तोकिनु र उनीहरू समाजमा शक्तिशाली हुनु आदि कारण समाजका सोझा र निमुखा जनता दासमा परिणत हुन थाले । सोझा जनतालाई शासकले कस्तो नियम–कानुन ल्याएर आफूले भोग चलन गर्दै आएको जमिन खोस्छन् भन्ने थाहा हुँदैनथ्यो । त्यसमाथि हामीकहाँ धर्मशास्त्रमा आधारित विभेदकारी कानुन थिए । 

दास बनाउने एउटा तरिका ऋण र ब्याज पनि हो ।

हाम्रो इतिहासको कुरा गर्दा– आफ्नो जमिन, आफ्नो काम गरी खाने बाटो बन्द नहोस् भनी निमुखा जनता कर उठाउने अधिकार पाएका (मुखिया, जिम्मावाल आदि)लाई खुसी पार्नतिर लाग्थे । उनीहरूले भनेको काम गरिदिन्थे । आजभन्दा सय–पचास वर्ष अघिसम्म करको डर त्रास देखाएर हामीकहाँ समाजका पहुँचवालाले उत्पादनयोग्य जमिन हात पार्ने, सोझालाई भूदास वा कमैया बनाउने, बालीघरे (सीमित अन्न दिएर काम लगाउनू) बनाउने आदि कार्य हुन थाले । 

दास बनाउने एउटा तरिका ऋण र ब्याज पनि हो । आजभन्दा करिब तीन सय ४० वर्षअघि (श्री शाके १६०३ को जेठमा) लेखिएको एउटा तमसुकको चर्चा गरौँ । मोहनप्रसाद खनालको पुस्तक ‘नेपाली भाषाका हजार वर्ष’मा उल्लिखित तमसुक भन्छ, ‘कुवापानी बस्ने धनी श्री दशरथ उपाध्याय रिणी काले माझी । हाल दिएको सिक्का (रुपैयाँ) ६० र पहिलेको बाँकी सिक्का ७ त्यसमध्ये श्यामी मझिनी र जसधरे माझी जवानी बसेर दिएको भाकाभित्र धन दियो भने धन लिनू । धन दिन सकेन भने मान्छे नै सुम्पिदिनू । त्यसमा झैझगडा वा उजुरबाजुर गर्न पाइँदैन ।’ 

यस तमसुकमा काले माझीले धन दिन सकेन भने मान्छे नै सुम्पिदिनूको अर्थ हो, दास बनाउनु । दास बनाए पनि झैझगडा (मुद्दामामिला) गर्न नपाइने कागजमा कालेलाई औँठाछाप गराइयो । 

दासप्रथाका अवशेष

२०४९ सालमा इन्सेकले ‘नेपालमा कमैया प्रथाभित्र बाँधा मजदुर’ पुस्तक प्रकाशन गरेको थियो, जसमा मूलतः कमैया प्रथाको अध्ययन गरिएको छ । यस पुस्तक अनुसार, आवादीको अभावभा तराईमा बाक्लो जंगल थियो । ठूलाठूला जागिरदारले तराईमा बिर्ता पाएका हुन्थे । उनीहरूका लागि जग्गा कमाउने व्यक्ति थिएनन्, त्यसैले अनेक लालच र प्रोत्साहन देखाएर उनीहरूले आफ्नो जग्गा कमाउने व्यक्ति आकर्षित गर्न थाले । 

यस क्षेत्रमा बसोबास गर्ने आदत भएका मानिसले नै काम गर्न सक्ने हुँदा सबैको दृष्टि थारु जाातितर्फ गयो । दाङमा रहेका कतिपय थारुलाई खेती गर्ने जमिन आवश्यक हुन थालेको थियो । जमिनदारको शोषणको मारबाट बच्न केही थारु अर्को क्षेत्रमा जान चाहन्थे । यसरी कञ्चनपुर, बाँके, बर्दियातिर जग्गा आवाद गर्न थारु जातिका माानिसलाई लैजान थालियो । उनीहरूले औलोसँग मुकाबिला गरेर जंगल फाँडेर बस्ती बसाए, जग्गा आवाद गरे । उनीहरूको जनसंख्या पनि निकै बढेर गयो । औलो उन्मूलनपछि पहाड, मधेस चारैतिरबाट बसाइँ सरेर यहाँ आउनेहरू बढ्न थाले । 

बसाइँ आउनेहरूले यहाँका सोझा, साझा इमानदार थारुहरूलाई झुक्याएर, कम पैसा दिएर, कर्जा लगाएर, मुद्दामामिलामा फसाएर जग्गा हत्याए । क्रमशः बाध्य भएर थारुहरू कमैया बस्न पुगे । 

हुँदा हुँदा कमैयाहरू नयाँ मालिक खोज्न पनि विवश हुन थाले । माघी (माघे संक्रान्ति) चाड मानी भोज खाइसकेपछि फेटा बाँधेर काँधमा लट्ठी हालेर नयाँ मालिक खोज्न निस्कन्थे । फेटा र लट्ठीका कारण मालिकले उनीहरूलाई चिन्थे । उसलाई कमैया राख्न नयाँ मालिकले पुरानो मालिकको कर्जा तिरिदिनुपथ्र्यो । कमैया प्रथाले यतिसम्म प्रभाव पारेको थियो कि विवाह गर्दा ससुरालाई दिनुपर्ने खर्च (झाङ्गा) तिर्न नसक्नेहरू पनि त्यो तिर्नका लागि केही समय ससुराको घरमा कमैया बस्थे । कमैया बस्न कुनै बन्देज थिएन, मामाकहाँ भानिज कमैया बसेका हुन्थे । 

हरेक कमैयालाई कम्तीमा दुई बिघामा जोत्ने, खन्ने, बिउ लगाउने, रोप्ने गोड्ने, काट्ने, बाली उठाई दाइँ गर्ने अर्थात् बाली लगाउनेदेखि थन्काउनेसम्मका काम पर्थे । यस्ता काममा कमैयाले आफ्नो परिवारका सदस्यलाई पनि लगाउँथे । हलो जोत्न र खन्न सक्षम बलियो, बुकरही (स्वास्नी नै हुनुपर्छ भन्ने छैन, तर महिला हुन आवश्यक छ) भएको जवान व्यक्तिलाई कमैया राखिन्थ्यो । आमा, दिदी, वा भााउजु पनि बुकरही बस्थे । 

अहिले हामीकहाँ भूमिहीन सुकुम्बासी र यसैसँग सम्बन्धित हरवाचरवा, कमलरी, बुकरही आदि आफ्नो हकका लागि संघर्षरत छन् ।

पहाडिया जमिनदारले बढी विभेद गर्ने हुँदा कमैयाले सकभर थारु मालिक नै मन पराउँथे । थारु मालिकलाई उनीहरूले तुम, तोवर भनेर सम्बोधन गर्न सक्थे । तर पहाडिया मालिकले औपचारिक मान खोज्थे– ‘हजुर’, ‘मालिक’ आदि ।

मालिकले कमैयालाई हरेक किसिमको आदेश दिने, काम गराउने, पिट्ने, गाली बेइज्जत गर्ने, खान नदिने, बिरामी भएमा क्षतिपूर्ति भराउने, मन लाग्दो ब्याज लिने, अर्काको घरमा काममा लगाउने, अत्यधिक धेरै घन्टा (समय) काममा लगाउने गर्न सक्थे । 

कमैयालाई दिइने पारिश्रमिकलाई बिघा भनिन्थ्यो । बिघाको रूपमा दिइने जिन्सी स्थान अनुसार फरक फरक थियो । बिघाको रूपमा धान दिने चलन भूमिसुधार लागू भएपछि मात्र सुरु भयो । धेरै प्रचलनमा तिकुर र चौकुर वा चौमाली थियो । जति उब्जनी हुन्छ, त्यसलाई तीन भाग लगाएर दुई भाग मालिकलाई, एक भाग कमैयालाई बाँड्ने चलनलाई तिकुर भनिन्थ्यो । चौकुर वा चौमाली भन्नाले उब्जनीलाई चार भाग लगाएर मालिकलाई तीन भाग, कमैयालााई एक भाग (२५ प्रतिशत) बाँड्ने । 

अहिले हामीकहाँ भूमिहीन सुकुम्बासी र यसैसँग सम्बन्धित हरवाचरवा, कमलरी, बुकरही आदि आफ्नो हकका लागि संघर्षरत छन् । सरकारले कमैया मुक्तिको घोषणा गर्‍यो तर बुकरही (खासगरी कमैयाकी श्रीमती) र कमलरी (खासगरी कमैयाका छोरीहरू वा साहुको घरमा कमलरी बस्न गएकाहरू) पुनस्र्थापनामा सरकारले ध्यान दिएन । 

सरकारले पाँचवटा जिल्ला (दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)मा ३२ हजार ५०९ जना कमैयाको तथ्यांक संकलन गरेको छ । कमैयाका श्रीमती नै बुकरही भएकाले सरकारले अर्को तथ्यांक संकलन नगरी पहिलेकै आधारमा बुकरहीलाई अधिकार दिनुपर्ने माग बुकरहीहरूको छ । कमैया महिला जागरण समाजकी अध्यक्ष तथा पूर्वबुकरही विषनी थारु भन्छिन्, ‘कमैयालाई मुक्त घोषणा गरेपछि सरकारले घरमूली पुरुषको पहिचान त गर्‍यो, तर उसकी श्रीमती बुकरहीको पहिचान भएन । बुकरहीले पनि मालिककहाँ दासीकै जीवन बिताउनुपरेको थियो । हामी बुकरही बिनाज्याला मालिकको दास भएको क्षतिपूर्ति के ?’ आफूहरूलाई परिचयपत्र दिएर सशक्तीकरणका कार्यक्रम ल्याउनुपर्ने उनको माग छ । 

‘मुक्त कमलरी विकास मञ्च’की अध्यक्ष तथा पूर्वकमलरी हिरा चौधरीका अनुसार, मालिकको घरमा बलात्कार भई कुमारीआमा बनेका १३ पूर्वकमलरी अहिले अप्ठेरो अवस्थामा छन् । उनीहरूले उजुरी दिएका छन्, तर यसमा सुनुवाई भइसकेको छैन । उनी भन्छिन्, ‘उनीहरूलाई न घरकाले, न त बलात्कार गर्नेले स्वीकार गरेका छन् । न बस्ने ठाउँ छ, न त जाने ठाउँ । सबै दुःखजिलो गरी डेरामा छन् ।’

उनका अनुसार, सरकारले सुरुमा १२,७६९ कमलरीको लगत लिएको थियो । यसमध्ये ९,४९० जनाले कमलरीको परिचयपत्र पाएका छन् । ‘०७५÷७६ मा गरिएको पछिल्लो तथ्यांक संकलनबाट ३३ सय कमलरी थपिएका छन्,’ हिरा भन्छिन्, ‘अहिलेसम्म सरकारबाट यीमध्ये कसैको पुनस्र्थापना भएको छैन । बरु गैरसरकारी संस्थाले तालिम दिएर पुनस्र्थापना प्रक्रियालाई अगाडि बढाएका छन् ।’

दास बनाउने कमिला र दास बनाउने कबिला युग एकातिर छ, विवेकशील मानिसले आफू अन्यायमा परेको महसुस गरेसँगै दासप्रथाको विरोध गर्न थाले, आवाज उठाउन र आन्दोलन गर्न थाले । अहिले हामीसँग आन्दोलनकै उपज समाजवाद उन्मुख संविधान छ । संविधानका मौलिक हकहरू पूरा हुने हो भने कसोकसो समाजवाद हो कि जस्तो लाग्ला, तर यो दीर्घकालीन हुँदैन । आज निजी सम्पत्ति वा पुँजीवादाका कारण जग्गाहरू टुक्रिँदै जाँदा मानिसहरू क्रमशः भूमिहीन बन्दैछन् । क्रमशः न्यून पारिश्रमिकमा काम गर्न बाध्य बन्दैछन् । सामूहिकतामा आधारित उत्पादनमा जोड नदिने हो भने क्रमशः अर्धदास श्रमिकहरू बढ्दै जाने निश्चित छ । 

स्रोत: https://www.ratopati.com/story/348384/nepal-slavery-system-chandra-shumsher

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More