नेपालमा प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी

January 20, 2018

नागरिक दैनिक, ०६ माघ २०७४

नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले तथ्यांक सार्वजनिक गरेको छ। क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए। 

उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ। 

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या १ हजार १०० रहेको केन्द्रको अनुमान छ। जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन्। ६ सय भन्दा धेरै सम्पर्कमै आएका छैनन् । 

क्षयरागीका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा आशिष श्रेष्ठले बताए। इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको २ महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि ४ महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ। 

केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा ४ हजारभन्दा बढी डट्स सेन्टर रहेको छ। 

नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रको भनाइ छ । जसमा क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत राष्ट्रिय सर्वेक्षण शुरु गरेको छ। 

यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा शुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिए। 

सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको निवारणका लागि मार्ग निर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताए। 

यसका लागि मुलुकभरबाट खकारको नमूना संकलन गरी रोगको परीक्षण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आम नागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिइएको केन्द्रले जनाएको छ ।   (रासस)

स्रोत : http://www.nagariknews.com/news/35417/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More