News

नेपालमा मासिक दुई अर्बको मोबाइल आयात

February 27, 2017

Kantipur, Bishnu Pokharel, Kathmandu, 24 February 2017

फाल्गुन १३, २०७३- बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन् । भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ । चालु आर्थिक वर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा मोबाइल सेट डिजेल/पेट्रोल, आइरन स्टिल, अटोमोबाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुमा पर्छ । 

गत साउनदेखि माघसम्मको आयातलाई मासिकमा रूपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोबाइल सेट आयत हुने गरेका छन् । तथ्यांकअनुसार नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोबाइल सेट आयात भएको देखिन्छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत कात्तिकसम्ममा नेपालमा विभिन्न कम्पनीका ४ हजारभन्दा बढी मोबाइल सेटका ब्रान्डले बिक्री वितरण गर्ने अनुमति पाइसकेका छन् । मोबाइल सेट बिक्री गर्नुपूर्व प्राधिकरणबाट उपकरण दर्ता गराई अनुमति लिनुपर्छ । यसलाई ‘टाइप एप्रुभल’ भनिन्छ । गत कात्तिकसम्ममा प्राधिकरणबाट ४ हजार ३ सय ९३ ब्रान्डका उपकरणले अनुमति लिइसकेका छन् । त्यसमध्ये अधिकांश मोबाइल सेटहरू रहेका छन् । 

नेपालमा सबैभन्दा धेरै मोबाइल सेट चीनबाट आयात हुने गरेको छ । चीनपछि भियतनाम, भारत, हङकङ, स्विटजरल्यान्ड, ताइवान, अमेरिका, बेलायतलगायतका मुलुक पर्छन् । चालु वर्षको पहिलो सात महिनामा विभिन्न २८ मुलुकबाट ३६ लाख १३ हजार ९ सय ९८ मोबाइल सेट आयात भएको देखिन्छ । त्यसमध्ये सबैभन्दा धेरै ३१ लाख २६ हजार सेट चीनबाट मात्र भएका छन् । चीनबाट मात्रै १० अर्बभन्दा बढी मूल्यका मोबाइल आयात भएका छन् । बाँकी अन्य मुलुकबाट भएको आयात हो ।

चीनमा बहुराष्ट्रिय ब्रान्डका मोबाइल सेटसमेत उत्पादन हुने भएकाले त्यहीँबाट नेपालमा निर्यात हुने गर्छ । पछिल्लो समय भारतीय ब्रान्डका मोबाइलको उपस्थिति बढेको भए पनि तिनको उत्पादन भने चीनमै हुँदा उतैबाट आयात भइरहेको छ । सामसङ, एप्पलजस्ता ब्रान्डबाहेक कलर्स, कार्बन, माइक्रोम्याक्सजस्ता भारतीय तथा जियोनी, एमआई, ओप्पोलगायतका चिनियाँ ब्रान्डका सेट पनि लोकप्रिय हुँदै गएका छन् । 

प्राधिकरणका अनुसार नेपालमा मोबाइल सिमकार्डको बिक्री जनसंख्याभन्दा बढी भइसकेको छ । अहिले नेपालको मोबाइल टेलिघनत्व १ सय १८ पुगेको छ । यसले हरेक १ सयजना नेपालीको भागमा १ सय १८ सिमकार्ड पर्ने देखाउँछ । एउटै ग्राहकले धेरै कम्पनीका सिमकार्ड बोकेकाले जनसंख्याभन्दा बढी सिमकार्ड बिक्री भएको देखिएको हो । सिमकार्डको बिक्रीसँगै नयाँ मोडलका स्मार्टफोन आउने बित्तिकै पुरानो परिवर्तन गर्ने क्रम बढेकाले पनि सेटको आयात वृद्धि भएको हो । 

गत आर्थिक वर्षको पहिलो सात महिनाकै तथ्यांकलाई आधार मान्दा नेपालमा त्यस वर्ष हरेक महिना करिब डेढ अर्ब रुपैयाँका मोबाइल सेट आयात हुन्थे । गत वर्ष हरेक महिना औसतमा ४ लाख ३२ हजार सेट आयात भएको देखिन्छ । त्यसभन्दा अघिल्लो वर्ष भने मासिक औसतमा ३ लाख ३५ हजार मोबाइल सेट मात्र आयत भएको देखिन्छ । 

Source: http://kantipur.ekantipur.com/news/2017-02-24/20170224211410.html