नेपाली चियाको ट्रेडमार्क प्रवर्द्धन गरिँदै

January 09, 2018

कान्तिपुर राष्ट्रिय दैनिक, २४ पुष २०७४

नेपाली चियालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित लोगो कार्यान्वयन प्रक्रिया सुरु भएको छ । चिया तथा कफी विकास बोर्ड र हिमालयन अर्थोडक्स टी प्रोडयुसर्स एसोसिएसनले तयार पारेको लोगो सरकारले स्वीकृत गरेपछि स्थानीय तहमा कार्यान्वयनको तयारी थालिएको हो । 

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया बिक्री गर्दा आधिकारिक लोगो प्रयोगमा छैन । बोर्ड र होडपाले नेपाल टीको नाममा जारी गरेको लोगो कार्यान्वयन गर्न चियाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सबै प्रक्रिया पूरा भएपछि मात्र नेपाली चियाको लोगो कारखानाले पाउनेछन् ।

दुईवटा हिमालको आकारसहित अंग्रेजीमा नेपाल चिया लेखिएको र त्यसमुनि ‘क्वालिटी फ्रम द हिमालयज’ उल्लेख भएको लोगो नेपाल सरकारले भर्खरै लागू गरेको हो । तर, अन्तर्राष्ट्रिय बजारमा भने यो लोगो प्रवद्र्धन गरिएको छैन । आउँदो अप्रिलमा विदेशी सञ्चारकर्मी र खरिदकर्तासहित चियासँग सरोकार राख्ने टिमसहित सगरमाथाको फेदिमा गएर अन्तर्राष्ट्रियस्तरमा लोगो कार्यान्वन गरिने कार्यक्रम रहेको प्रवद्र्धकले जनाएका छन् ।

धेरै कृषकबाट चियापत्ती खरिद गरेर कारखानाले प्रशोधन गर्ने भएकाले हरेक कृषकले गुणस्तर सुधारमा ध्यान पुर्‍याउनुपर्ने सरोकारवालाको भनाइ छ । आईएलओ कन्भेन्सनअनुसारका श्रमसम्बन्धी मापदण्डसमेत पूरा गर्नुपर्ने भएकाले लोगोको कार्यान्वयन चुनौतीपूर्ण ठानिएको छ ।

लोगो कार्यान्वयनपछि समग्र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सहज हुने प्रवद्र्धनकर्ताको विश्वास छ । ‘नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न यो नै एक मात्र विकल्प हो,’ होटपाका चिफ एक्जुकेटिभ अफिसर चन्द्रभूषण सुब्बाले भने, ‘कार्यान्वयन चुनौतीपूर्ण रहे पनि पश्चिमा बजार प्रवद्र्धनका लागि यो नै एक मात्र विकल्प हो ।’

नेपालमा अर्थोडक्स चियाको उत्पादन वार्षिक ५५ लाख किलोग्रामको हाराहारी छ । त्यसको १० प्रतिशत आन्तरिक खपत छ । १० प्रतिशत पश्चिमा बजारमा निर्यात हुँदै आएको छ भने बाँकी ८० प्रतिशत भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो समय कृषकबाट साना चिया कारखाना खुल्ने क्रम बढदो छ । अधिकांश चिया कारखानाले बजारको समस्या भोगेका छन् । ‘हाम्रो उत्पादन गुणस्तरीय हुँदाहुँदै पनि बिचौलियाको भर पर्नुपर्दा उचित मूल्य पाउन सकेका छैनौं,’ साँखेजुङका व्यवसायी गायत्री बस्नेतले भने ।

भारतीय बजार निर्यातमा पनि विभिन्न कानुनी झन्झट थपिँदै गएकाले साना र मझौला खाले व्यवसायीको पहँच पुग्न सकेको छैन । ‘लोगोको प्रयोग बाध्यात्मक होइन,’ सुब्बाले भने, ‘तर, अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर राम्रो मूल्य लिने हो भने ढिलोचाँडो यसमा जानैपर्छ ।’

स्रोत: https://www.kantipurdaily.com/business/2018/01/08/20180108080250.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More