News

नेपाल औषधि लिमिटेड : फागुनको अन्त्यदेखि सिटामोल बजारमा

February 22, 2018

सुनिता सिटौला, आर्थिक अभियान, फागुन १०, २०७४ 

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले फागुनको दोस्रो सातादेखि सिटामोल उत्पादन गर्ने भएको छ । औषधि उत्पादन गर्न सबै तयारी पूरा भइसकेको उद्योगका महाप्रबन्धक डा. रोभसकुसम सुवेदीले जानकारी दिए । उनले भने, ‘सिटामोल उत्पादनका लागि भारतबाट ल्याइएको २ ओटा मेशिन भारतीय प्राविधिकहरूले मङ्गलवार जडान गरिसकेका छन् ।’ उद्योगले भारतबाट २७ स्टेशनको ट्याबलेट कम्प्रेशन र ग्रानु लेटर मेशिन खरीद गरेको छ । कम्प्रेशन मेशिन रू. २० लाख र ग्रानु लेटर मेशिन रू. ९ लाख ६० हजारमा खरीद गरिएको कम्पनीले जानकारी दिएको छ । दुवै मेशिनको वार्षिक उत्पादन क्षमता ८ करोड ट्याबलेट रहेको छ ।

सिटामोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उद्योगले २ महीनाअघि नै ल्याएको थियो । मेशिन माघको दोस्रो सातातिर आए पनि जडानका लागि प्राविधिक उपलब्ध नभएकाले सिटामोल उत्पादनमा ढिलाइ भएको उनले बताए । तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योगलाई पुनर्जीबन दिएपछि २०७४ वैशाख २४ गतेदेखि उद्योगले जीवनजल उत्पादन थालेको थियो । सरकारी हस्तक्षेप र चरम राजनीतिकरणका कारण बन्द हुने अवस्थामा पुगेको उद्योगलाई सस्तो दरमा औषधी उत्पादन गरेर सर्वसाधारणलाई बिक्री वितरण गर्ने उद्देश्यले पुनः सञ्चालनमा ल्याइएको हो । यो कम्पनी सञ्चालनमा आएसँगै सरकारले जनतालाई निःशुल्क र सहुलियत दरमा दिने औषधि निजी कम्पनीसँग महँगोमा किन्नुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

एक रुपैयाँमा सिटामोल 
महाप्रबन्धक सुवेदीले उद्योगबाट उत्पादन हुने सिटामोलको मूल्य प्रति गोटा एक रुपैयाँभन्दा बढी नहुने जानकारी दिए । नाफाभन्दा पनि जनताको सेवाका लागि औषधी उत्पादन गर्न लागिएकाले सिटामोलको अधिकतम मूल्य एक रुपैयाँभन्दा बढी नहुने गरी उत्पादन गरिने उनको भनाइ छ । ‘घाटा हुनेगरी कुनै पनि बस्तु उत्पादन गरेर बजारमा लगिन्न, एक रुपैयाँमा बेच्दा धेरै फाइदा नभए पनि न्यूनतम फाइदा हुने देखिन्छ,’ उनले भने ।

फागुनको अन्त्यदेखि बजारमा
उद्योगले उत्पादन गरेको सिटामोल फागुनको अन्त्यदेखि बजारमा सर्वसुलभ तरिकाले खरीद गर्न सकिने महाप्रबन्धक सुवेदीले बताए । उनले भने, ‘थोरै उत्पादन गरेर बजार पठाउँदा स्टकिस्टलाई वितरण गर्न समस्या हुने भएकाले कम्तीमा पनि ५ लाखदेखि ७ लाख ट्याबलेट सिटामोल उत्पादन गरेर मात्र बजारमा पठाइने छ ।’

स्रोत: www.abhiyan.com.np/2018/02/22/182349