नेपाल टेलिकमको तयारी : सातै प्रदेशमा ‘एडभान्स फोरजी’ सेवा

March 16, 2018

सुनिता निरौला, आर्थिक अभियान, शुक्रबार, चैत्र २, २०७४

काठमाडौं । नेपाल टेलिकम सातओटै प्रदेशमा एकैपटक एडभान्स फोरजी सेवा शुरू गर्ने तयारीमा जुटेको छ । दुई शहरमा मात्रै सीमित टेलिकमको फोरजी सेवा अब सातै प्रदेशमा विस्तार गर्न लागिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आर्थिक अभियानलाई बताइन् । उनले फोरजी विस्तार गर्न ढिला भएकोसमेत बताइन् । उनले भनिन्, ‘प्रक्रियागत रूपमा जाँदा पनि कम्पनीलाई अप्ठ्यारोमा पार्ने विभिन्न खालका समस्या आइरहेका छन् । तर, १ वर्षभित्र ग्राहकमाझ गुणस्तरीय फोरजी सेवा पुग्नेमा हामी विश्वस्त छौं ।’ उनका अनुसार त्यसका लागि १० वर्षे योजनासहित विभिन्न कमिटी गठन गरी काम गर्न थालिसकिएको छ ।

टेलिकम सरकारी कम्पनी भएकाले नाफा हुने क्षेत्रमा मात्र नभई गाउँगाउँ र दुर्गम क्षेत्रमा पुग्नुपर्ने भएकाले केही ढिलो भएको प्रबन्ध निर्देशक राजभण्डारीको भनाइ छ । ‘तर, अब गुणस्तर, पहुँच र नयाँ प्रविधि अपनाई देशभर एकैसाथ सेवा दिने लक्ष्यसहित अति दुर्गमदेखि पिछडिएको वर्गसम्म फोरजी सेवा पु¥याउँछौं,’ उनले भनिन् । राजभण्डारीका अनुसार अरू कुनै सेवा नपुगेका गाउँका कुनाकाप्चामा समेत एकैपटक पुग्ने भ्वाइस ओभर लङ टर्म इभोलुशन (भीओएलटीई)मा नेपाल टेलिकमले जोड दिएको छ ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारी कुनै पनि सेवा नपुगेको ठाउँमा अब सीधै फोरजी सेवा विस्तार गर्ने बताउँछन् । ‘नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहितको फोरजी ल्याउन लागेका छौं,’ उनले भने, ‘यो फोरजी चलाउँदा ग्राहकले कुनै पनि गुनासो गर्ने छैनन्, यसमा वाईफाईसमेत जोडिएर आउँछ ।’

टेलिकमका अनुसार ग्राहकले टूजी, थ्रीजी र फोरजी जुनसुकै सेवा लिन सक्छन् । फोरजी लिँदा भ्वाइस र डाटा दुवै लिन सकिन्छ । थ्रीजी लिँदा थ्रीजीको सेवा दिन सकिन्छ । अहिले मोबाइलमा केवल मोबाइल मात्रै छ, तर नयाँ फोरजी आइसकेपछि मोबाइललाई ल्याण्डलाइनमा पनि स्वीच गर्न सकिने नयाँ सेवा थपिएको छ । त्यसपछि महँगो तथा सस्तो आप्mनो आवश्यकताअनुसारका सुविधा लिन सकिन्छ ।

फोरजी सेवाका लागि कम्पनीले एकैपटक एउटा कोर र दुईओटा नेटवर्क गरी तीनओटा बोलपत्र आह्वान गरेको थियो । समूह एकमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल र समूह दुईमा तीबाहेकका सबै ठाउँमा नेटवर्क विस्तार गर्नुपर्ने गरी बोलपत्र आह्वान भएको हो । अहिले यी बोलपत्र मूल्याङ्कनको चरणमा छन् । सार्वजनिक खरीद ऐनअनुसार मूल्याङ्कन गरी सम्झौता गरिने पनि नेपाल टेलिकमले बताएको छ । चाइना कम्युनिकेशन सर्भिस इण्टरनेशनल, जेडटीई कर्पाेरेशन चीन, म्यावेनियर सिङ्गापुर, हुवावे टेक्नोलजिज चीन बोलपत्रमा सहभागी भएका छन् ।

स्रोत: https://www.abhiyan.com.np/2018/03/16/188402

Newsletter

Submit your details below to receive Newsletters

Newsletter