आर्थिक अभियान, फागुन १०, २०७४
काठमाडौं (अस) । जताततै भ्रष्टाचार छ, घुस लेनदेन नगरी त केही काम नै बन्दैन भन्ने गुनासो हामीले बारम्बार सुन्दै आएका छौँ । गएको १२ महीनामा हामीमध्ये धेरैले आफ्नो काम चाँडै सम्पन्न होस् भनेर सरकारी/निजी दुबै क्षेत्रका कर्मचारीलाई घुस पनि दियौँ होला । अनि अरुको बाध्यताबाट लाभ लिन पल्केकाहरुले घुस पनि लिए होलान् ।
तर यस वर्षको विश्वव्यापी भ्रष्टाचारमा भने नेपालको स्थिति केही सुध्रिएको पाइएको छ । भ्रष्टाचार विरोधी अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘करप्शन पर्सेप्शन इन्डेक्स २०१७’ शीर्षकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा ३१ अङ्कसहित नेपाल विश्वको १ सय २२ औँ भ्रष्ट देश बनेको हो ।
अन्य देशमा भ्रष्टाचार बढेर हो वा नेपालमा साँच्चै भ्रष्टाचार कम भएर हो, नेपालको वरियतामा सुधार भने देखियो ।
गत वर्ष २९ अङ्कसहित नेपाल १ सय ३१ औँ भ्रष्ट देशका रुपमा रहेको थियो । ४० भन्दा कम अङ्क ल्याउने देश निकै भ्रष्टाचार हुने देशभित्र पर्दछन् । त्यसैले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टचार सूचकाङ्कमा नेपालको वरियता सुध्रिएपनि स्थिति भने सन्तोष मान्ने खालको छैन । ३१/३१ अङ्कसहित सूचिको १ सय २२ औं स्थानमा यस पटक नेपालसँगै अजरबैजान, जिबुटी, काजगिस्तान, लाइबेरिया, मोल्डोभा पनि छन् । दक्षिण एशियाली देशमध्ये भ्रष्टाचार सबैभन्दा कम पाइएको देश भुटान हो । ६७ अङ्कसहित भुटान सूचिको २६ औं स्थानमा रहेको छ ।
अफगानिस्तान दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचारयुक्त देश बनेको छ । १५ अङ्कसहित अफगानिस्तान सूचीको १ सय ७७ औँ स्थानमा छ भने ४१ अङ्क सहित चीन ७७ औँ स्थानमा छ । सूचीमा भारत, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र बङ्गलादेश क्रमशः ८१, ९७, ११२, १२७ र १४३ औँ स्थानमा छन् ।
सीपीआईअनुसार भ्रष्टाचार कम हुने देशको सूचिमा न्यूजिल्याण्ड सबैभन्दा अगाडि छ । ८९ अङ्कसहित न्यूजिल्याण्ड सूचीको शीर्ष स्थानमा छ । उसलाई पछ्याउने क्रममा ८८ अङ्कसहित डेनमार्क दोस्रो स्थानमा छ । ८४/८४ अङ्कसहित फिनल्याण्ड, नर्वे र स्वीटजरल्याण्ड तेस्रो स्थानमा रहँदा ८२/८२ पाएर सिङ्गापुर र स्वीडेन सूचिको छैठौँ स्थानमा छन् । क्यानडा, लक्जेम्बर्ग, नेदरल्याण्ड र बेलायत सबैभन्दा कम भ्रष्ट देशको सूचीको शीर्ष ८/८ औँ स्थानमा परेका छन् ।
सबैभन्दा बढी भ्रष्टाचार सोमालियामा पाइएको छ । १ सय ८० देश सूचीकृत सीपीआइसूचकाङ्कमा ९ अङ्कसहित सोमालिया सबैभन्दा पुछारमा छ । दक्षिण सुडान, सिरिया, अफगानिस्तान, यमन, लिबिया र उत्तर कोरिया पनि भ्रष्ट देशको सूचिमा अगाडि नै छन् ।
यो सूचकाङ्कमा राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँच लगायत केही मापदण्डका आधारमा देशलाई ० देखि १ सय अङ्क दिइएको छ । कुनै देशले शून्य अङ्क पाउनुको अर्थ त्यहाँ भ्रष्टाचार चरम छ । १ सय अङ्क पाउनुको अर्थ हो त्यहाँ भ्रष्टाचार छैन । यो वर्ष दुई तिहाईभन्दा धेरै देशले ५० भन्दा कम अङ्क पाएका छन् । अधिकांश देशले भ्रष्टाचार नियन्त्रणमा नगण्य वा थोरै मात्र प्रगति गरेको प्रतिवेदनले देखाएको छ । पत्रकार र गैर–सरकारी संस्था (एनजीओ)को सुरक्षा कमजोर भएका देशमा भ्रष्टाचार दर उच्च पाइएको छ ।
स्रोत: www.abhiyan.com.np/2018/02/22/182408