न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट

March 01, 2019

अन्नपूर्ण पोष्ट, फाल्गुन १७, २०७५ 

काठमाडौं : न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ। ‘इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९’ को प्रतिवेदनअनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ। फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ मा न्यून आय भएका देशको सूचीमा नेपाल १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको हो।

इन्टरनेटको उपलब्धता, सामथ्र्य, प्रासंगिकता तथा तत्परतालगायत विषयलाई आधार बनाएर यसको मूल्यांकन गरिएको हो। मूल्यांकनका आधारमा न्यून आय भएका देशको सूचीमा नेपालबाहेक अन्य सबै अफ्रिकी मुलुक छन्। उक्त सूचीमा दोस्रो नम्बरमा रुवान्डा र तान्जेनिया छन्। रुवान्डा र तान्जानियाले १०० मा ५६.२ अंक हासिल गरेका छन्। यस्तै तेस्रोमा सेनेगल छ। सेनेगलले ५३.४ अंक हासिल गरेको छ। उक्त सूचीमा उच्च आय भएको देशमध्ये पहिलो स्थानमा स्वीडेन छ। इन्क्लुसिभ इन्टरनेट इन्डेक्समा सिंगापुर, अमेरिका, डेनमार्क र बेलायत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन्।

नेपाल इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ को न्यून आय भएका देशमध्ये पहिलो नम्बरमा रहेको भए पनि विश्वमा इन्टरेनट प्रयोग गर्ने देशको तुलनामा भने धेरै पछि परेको छ। प्रतिवेदनले विश्वमा इन्टरनेट प्रयोग गर्ने देशको तुलनामा नेपालको अवस्था कमजोर देखाएका छ। इन्टरनेट प्रयोग गर्ने देशमध्ये नेपाल ७२औं स्थानमा छ। उक्त इन्डेक्समा विश्वभरका सय मुलुकलाई समावेश गरिएको थियो। यसले विश्वको जनसंख्याको ९६ प्रतिशत तथा जीडीपीको ९४ प्रतिशत प्रतिनिधित्व गर्ने प्रतिवेदनमा उल्लेख छ। उक्त सय मुलुकमध्ये नेपाल ६२औं स्थानमा परेको हो। यसका लागि दि इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले फेसबुकको सहयोगमा विभिन्न तहमा पाँच हजारभन्दा बढी मानिससँग सर्वे गरेको जनाएको छ।

न्यून आय भएका देशको सूचीमा नेपाल १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको छ।

विश्वमा इन्टरेनट प्रयोग गर्ने दक्षिण एसियाली देशको सूचीमा भारत नेपालभन्दा धेरै माथि देखिएको छ। इन्डेक्समा इन्टरनेट इन्डेक्स २०१९ मा भारत ४७औं स्थानमा छ। त्यसैगरी पाकिस्तानभन्दा केही अगाडि मात्र नेपाल छ। पाकिस्तान ७७औं स्थानमा छ भने बंगलादेश नेपालभन्दा एक स्थान मात्रमाथि छ। यस्तै प्रतिवेदनले नेपाललाई मोबाइल डाटाको शुल्क घटेको देशमा पनि समावेश गरेको छ। पछिल्ला वर्ष नेपालमा मोबाइल डाटाको शुल्क ठूलोमात्रामा घटेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार समग्रमा प्रिपेड ५०० एमबी मोबाइल डाटा प्लानको शुल्क मासिक आम्दानीको तुलनामा २.४ प्रतिशतमा झरेको उल्लेख छ। सन् २०१८ मा २.६ प्रतिशत रहेकामा अहिले घटेर २.४ प्रतिशतमा पुगेको छ। मोबाइल डाटा प्लानको शुल्क घटेको मुलुकमध्ये नेपालको ९.३ प्रतिशतले घटेको प्रतिवेदनमा छ।

प्रतिवेदनअनुसार इन्टरनेट कनेक्सनको वृद्धिदर २०१८ को ७.७ प्रतिशतको तुलनामा घटेर सन् २०१९ मा २.९ प्रतिशत पुगेको छ। यस्तै इन्टरनेसँग जोडिएका घरको वार्षिक औसतदर गत वर्षको तुलनामा ५३.१ बाट बढेर यो वर्ष ५४.८ प्रतिशत भएको छ। अध्ययनले महिलाको तुलनामा पुरुष इन्टरनेटको पहुँच अधिक रहेको देखाएको छ। तर पनि निम्न तथा मध्यम आय भएका मुलुकमा सन् २०१८ को तुलनामा यसमा विस्तार कमी हुँदै आएको जनाएको छ। प्रतिवेदनले यो वर्ष बेलायत, नामिबिया, आयरल्यान्ड, अस्ट्रिया, चिली र दक्षिण अफ्रिकालाई ‘टप परफर्मर अफ दि इयर’ का रूपमा राखेको छ। यी देशले योजनाबद्धरूपमा महिलालाई डिजिटल तालिम दिने काम गरेकाले त्यसमा सफल भएको जनाएको छ।

प्रतिवेदनका अनुसार विश्वभरमा अझै पनि ३.८ अर्ब मानिससँग तीव्र गतिको तथा विश्वासनिय इन्टरनेटको सुविधा उपलब्ध छैन। तर यही अवधिमा निम्न मध्यम आय भएको देशमा भने फोरजी कभरेजमा ६६ प्रतिशतको सुधार भएको देखाएको छ। तर निम्न आय भएका देशमा भने यस्तो सुधार केबल २२ प्रतिशत मात्र रहेको भएको प्रतिवेदनमा छ। प्रतिवेदनका अनुसार निम्न आय भएका देशको इन्टरनेट कनेक्सनको वृद्धिदरमा ठूलोमात्रामा कमी आएको छ। पछिल्लो वर्ष यस्तो दर ६५.१ प्रतिशत रहेकोमा यो वर्ष घटेर ०.८ प्रतिशतमा झरेको छ।

सोर्त: http://annapurnapost.com/news/121701

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More