विवश कुलुङ, गोरखापत्र, ०४ पुष २०७५
सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकले प्रयोग गरी फालेको धातुको पुनः प्रयोग गरी पर्यटकलाई नै चिनो खरिद गराउन थालिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेले धातुजन्य फोहोर पगालेर विभिन्न आकृति बनाई पर्यटकलाई नै खरिद गराउँदा सरसफाइमा टेवा पुगेको छ ।
एसपीसीसीले व्यापारिक प्रायोजनले नभई सगरमाथा क्षेत्रको फोहोर सङ्कलन गरी वातावरणीय सरसफाइ गर्ने उद्देश्यसाथ धातुको पुनः प्रयोग गरी चिनो बनाउने काम गरिरहेको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँले बियरका बोतल, ग्यासको बोतल, जुस आदि टिन र फलामजन्य वस्तु पगालेर सोलुखुम्बुको चिनो बनाउने गरेको उल्ल्ेख गर्नुभयो ।
चिनो बनाउँदाको लागतअनुसार रकममा विभिन्न चिनो बनाई पर्यटकलाई नै बेच्ने गरेको उहाँले बताउनुभयो । व्यापारिक प्रायोजन नभएको हुँदा विनानाफा बिक्री गर्ने गरेको उपाध्यक्ष शेर्पाले बताउनुभयो । विभिन्न टिन र फलामजन्य वस्तु पगालेर जोप्के, नेपालको नक्सा, हिमालको नक्सा, बुद्धको मूर्ति, गुम्बाको नक्सा, चाबी झुड्याउने रिङ, नाम्चेको नक्सा, सगरमाथाको नक्सा आदि कुँदाएर बिक्री गर्ने गरेको शेर्पाले बताउनुभयो ।
पर्यटकीय सिजनमा दैनिक रूपमा सरदर चार सय केजी फोहोर सङ्कलन हुने गर्दछ । सङ्कलित फोहोरमध्ये जल्ने र कुहिने फोहोरलाई नाम्चेमा ल्याई जलाउने गरेको एसपीसीसीले जनाएको छ । त्यसरी जलाउँदा ९० प्रतिशत धूवाँ कम हुने प्रविधिको प्रयोग गर्ने गरिएको एसपीसीसीले जनाएको छ ।