पवन पौडेल, अन्नपुर्ण पोस्ट, १२ पुष २०७४
दमौली : तनहुँको पर्यटकीयस्थल मानुङमा कालोपत्रे सडक पुर्याउन तीव्र रूपमा काम भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको सडक कालोपत्रे योजनाका लागि यस वर्ष पनि बजेटलाई निरन्तरता दिइएकाले कामले तीव्रता पाएको हो । सहरी विकास मन्त्रालयले मानुङ पर्यटकीय मार्गलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको मन्त्रालयका अधिकारीको भनाइ छ ।
व्यास ५ को अलैंंचेबाट मानुङसम्म साढे ७ किलोमिटर टाढा पर्छ । पर्यटकीय हिसाबले तनहुँ सदरमुकाम दमौलीको छानो ठानिने मानुङ जान अहिले कच्ची बाटो भएकाले कतिपय पर्यटक चाहेर पनि जान सक्दैनन् । पैदलयात्रीका लागि व्यास ५ चापाघाटबाट गोरेटो बाटो पनि छ । कच्ची बाटो भएकाले ठूला सवारीसाधन मानुङ पुग्न कठिन छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले कालोपत्रे गर्ने कामले तीव्रता पाएको डिभिजन प्रमुख इन्जिनियर रोशन श्रेष्ठले बताए । सडकको हालसम्म १३ सय मिटरमा कालोपत्रे सकिएको छ । बाँकी सडकका लागि १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यस वर्ष झन्डै २ करोड बजेट सडकका लागि विनियोजन भएको कार्यालयले जनाएको छ ।
मानुङ डाँडासम्म कालोपत्रे सडक पुगेमा पर्यटकको संख्या बढ्ने व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठको विश्वास छ । ‘मानुङको प्रचारप्रसारका लागि सडकको पहुँच समस्या थियो’, उनले भने, ‘अब त्यो समस्या हटेपछि यस क्षेत्रमा पर्यटकको संख्या पनि बढ्ने विश्वास लिएका छौं ।’ उनले व्यास नगरपालिकाले पनि सडकलाई प्राथमिकतामा राखेको बताए ।
कुहिरोको उत्पत्ति थलो मानुङ
व्यास नगरपालिकाको पर्वतीय डाँडो मानुङ प्राकृतिक हिसाबले धनी छ नै यसको पौराणिक र सांस्कृतिक महत्र्व पनि उत्तिकै छ । आधा दर्जन हिम शृखलाको दृश्यावलोकन र दमौली बजार तथा आसपासका साना बजार दृश्यावलोकन यहाँको महत्र्वपूर्ण पक्ष हो । कुहिरोको उत्पत्तिसमेत यसै डाँडाबाट भएको जनविश्वास छ ।
परापूर्वकालमा व्यासपिता ऋषि पराशरले माझीपुत्री मत्स्यगन्धासँगको रासलीलालाई गोपनीय बनाउन कुहिरो सिर्जना गरेको किंवदन्ती छ । हालसम्म दमौली सहर ढिलो घाम लाग्ने र हिउँदमा कुहिरोको सहरका रूपमा चिनिन्छ । यो कुहिरोको सिर्जना मानुङ डाँडाबाट भएकाले यस ठाउँलाई छुट्टै महत्र्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिने गरिन्छ । सांस्कृतिक हिसाबले धनी मगर समुदायको बसोवासस्थल र होमस्टेका कारण मानुङको माध्यमबाट पर्यटक भित्र्याउन सकिने विश्वास धेरैको छ । व्यास नगरपालिकाले पनि मानुङ र कालिका जंगलपार्कलाई पर्यटकीय स्थलका रूपमा विकास गरेर थप पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।