अमृता अनमोल, कान्तिपुर राष्ट्रिय दैनिक, १४ कार्तिक २०७४
बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक आकर्षित गर्न र बसाइ लम्बाउन व्यवसायीले ‘भिलेज टुर’ योजना बनाएका छन् । लुम्बिनी आउने पर्यटकको संख्या बढे पनि त्यसको फाइदा स्थानीय व्यवसायीले लिन नपाएपछि चालु सिजनमा यस्तो योजना बनाइएको हो ।
यसअन्तर्गत बुद्ध जन्मस्थल आसपासका नागरिकको जीवनस्तर देखाउन बाहय पर्यटकलाई मधुवनी, आमा, महजिदियालगायतका गाउँमा घुमाउने योजना बनाएको लुम्बिनी होटल व्यवसायी संघका महासचिव लीलामणि शर्माले बताए । धार्मिक उत्प्रेरणाले लुम्बिनी आउने धेरै पर्यटकले स्थानीयका बारेमा बुझ्न चाहेकाले यस्तो योजना ल्याएको उनले सुनाए । यसका लागि स्थानीय तह, अगुवा र क्लबहरूसँग छलफल अगाडि बढेको छ । ‘यो योजनाले स्थानीय उत्साहित छन्,’ महासचिव शर्माले भने ‘पर्यटकहरूले पनि स्विकार्ने छन् भन्ने लागेको छ ।’ लुम्बिनीमा मधेसी, चौधरी, दलित, मुस्लिम समुदाय बसोबास गर्दै आएका छन् ।
धर्मका हिसाबले हिन्दु र मुस्लिम बढी छन् । यद्यपि बुद्ध र लुम्बिनीप्रति धेरै संवेदनशील छन् । उनीहरूको रहनसहन र धार्मिक सहिष्णुतालाई देखाउन र पर्यटकको बसाइ अवधि बढाउन पनि यसो गरेको महासचिव शर्माले बताए । लुम्बिनीमा बास बस्ने पर्यटकलाई मनोरञ्जन र बुद्धबारे ज्ञान दिन ‘बुद्ध विराहा’ नृत्य देखाउने तयारी थालिएको छ । त्यसमा स्थानीयकै संयोजन र प्रस्तुति रहने छ । पर्यटन व्यवसायीले सिजनको सुरुवातसँगै लुम्बिनी आएका पर्यटकलाई बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट, कुदान, बुद्धमावली रूपन्देहीको देवदह र अस्तिधातु रहेको नवलपरासीको रामग्राम घुमाउन थालेका छन् । यसले उसैदिन फर्कने पर्यटकको बसाइ कम्तीमा २ दिन बढ्ने भएको छ । भारतीय व्यवसायीले जस्तै लुम्बिनी आएका पर्यटकलाई आफ्नै साधनमा बुद्ध परिनिर्माण भएको कुशीनगर र पहिलो ज्ञान बाँडेको सराबस्तीमा लैजाने र ल्याउने व्यवसायीले योजना बनाएका छन् । यसका लागि लुम्बिनी विकास कोष र पर्यटन बोर्डसँग समन्वय गर्न छलफल अघि बढाएका छन् ।
स्तरीय होटल र चुस्त दुरुस्त सेवा नभएको भ्रममा भारतीय बाटोबाट आउने पर्यटक लुम्बिनीमा घुमेर उसैदिन भारतीय बुद्ध सर्किटमा जाने गरेका छन् । यो भ्रम चिर्न पनि सेवालाई चुस्त दुरुस्त बनाउने, पर्यटनमैत्री वातावरण तयार गर्ने काम भइरहेको व्यवसायीहरू बताउँछन् । टुर प्याकेजले भारतीय बाटोबाट लुम्बिनी आउने र पर्यटकहरू उसै दिन फर्किने समस्या हट्ने व्यवसायीको अपेक्षा छ । लुम्बिनी विकास कोषका अनुसार यो वर्षको सेक्टेम्बरसम्म ३२ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । त्यसमा १६ हजार ५ सय आन्तरिक पर्यटक हुन् । गत वर्ष १२ लाख ८५ हजारले लुम्बिनी अवलोकन गरेको लुम्बिनी विकास कोषको तथ्यांक छ । हालसम्म लुम्बिनीसँग बुद्धको बाल्यकाल बितेको कपिलवस्तुको तिलौराकोट, अष्टधातु रहेको नवलपरासीको रामग्राम, मावली स्थान देवदहलगायतलाई जोडेर बनाइएका भ्रमण प्याकेज नहुँदा पर्यटकहरू आएकै दिन लुम्बिनी घुमेर फर्कने गरेका छन् । लुम्बिनी आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक मायादेवी र आसपासका स्थान मात्रै घुमेर उसैदिन फर्कने पर्यटन व्यवसायीहरू सुनाउँछन् ।
स्रोत:http://kantipur.ekantipur.com/news/2017-10-31/20171031085506.html
फोटो स्रोत: http://matnepal.com/lumbini-garden-birth-place-of-lord-buddha-08-days.html