उत्तम काप्री, अन्नपुर्ण पोस्ट, २३ कार्तिक २०७४
काठमाडौं : नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या सन् २०१७ मा २३ प्रतिशत बढेको छ । सन् २०१७ को १० महिना (जनवरी-अक्टोबर)मा गत वर्षको यसै अवधिको तुलनामा पर्यटकको संख्यामा यो वृद्धि भएको छ । अध्यागमन विभागले सन् २०१७ को १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सात लाख ५७ हजार चार सय ४८ पुगेको छ । यो वर्षको अक्टोबरसम्म नेपाल आउने पर्यटकको संख्या सन् २०१६ मा आएका कुल पर्यटक संख्याभन्दा पनि बढी हो ।
सन् २०१७ को मार्च र सेप्टेम्बर दुवै महिनामा एक-एक लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् । मार्चमा एक लाख ६ हजार दुई सय ९१ र सेप्टेम्बरमा एक लाख १२ हजार चार सय ९२ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१६ मा सात लाख ५३ हजार विदेशीले नेपाल भ्रमण गरेको थिए । तर सन् २०१७ को १० महिनामै सात लाख ५७ हजार विदेशीले नेपाल भ्रमण गरिसकेका छन् । सन् २०१६ को अक्टोबरसम्म नेपाल आउने विदेशी पर्यटकको संख्या भने पाँच लाख ८४ हजार एक सय चार मात्रै थियो । यो संख्या सन् २०१७ को यसै अवधिको संख्याभन्दा एक लाख ७३ हजार तीन सय ४४ ले कमी हो ।
सन् २०१४ मा पर्यटक आगमनको संख्या झन्डै आठ लाख थियो । तर सन् २०१५ मा भने पर्यटक आगमनको संख्या घटेर पाँच लाख ४० हजारमा झरेको थियो । भूकम्प र भारतीय नाकाबन्दीका कारण सन् २०१५ पर्यटन आगमन ह्वात्तै घटेको थियो । पर्यटन आगमन बढाउने भन्दै सरकारले विश्वका विभिन्न देशमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम थालेको थियो ।
सरकारले सन् २०१६ लागि घुमफिर वर्षका रूपमा मनाउँदै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षित गरेको थियो । यसैगरी सरकारले सन् २०१६ मा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर सरकारी लक्ष्यमा पुग्न नसके पनि सन् २०१६ मा साढे सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणका आएका थिए ।
सन् २०१७ को पर्यटन आगमनमा पनि भारतीय पाँच सय र एक हजारको नोट प्रतिबन्धले असर पारेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । भारतीय नोट प्रतिबन्धले सन् २०१७ का १० लाख पर्यटक भित्र्याउने लक्ष्यमा केही असहजता भएको उनको भनाइ छ । तर पर्यटक आगमन बढिरहेको छ । सन् २०१३ देखि २०१५ सम्म देशको राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटक आगमन पाँच लाखमा झरेको थियो ।
सन् २०१५ मा कुल ४० प्रतिशतले गिरावट आएको पर्यटक आगमनमा सन् २०१६ मा ३२ प्रतिशतले वृद्धि भई पर्यटक संख्या सात लाख ५३ हजार पुगेको थियो । अधिकांश पर्यटक हवाई मार्ग भएर नै नेपाल आउने गर्छन् । तर नेपाल र युरोपेली मुलुकबीच सीधा हवाई सेवा नहुँदा पर्यटक आगमनमा असर परेको छ । भारतीय पर्यटक स्थलमार्ग प्रयोग गरेर नेपाल भ्रमणका लागि आइरहेका छन् । स्थलगत मार्ग हुँदै आउने पर्यटकको संख्यालाई पनि जोड्ने हो भने सन् २०१७ मा १० लाखभन्दा बढी विदेशीले नेपाल भ्रमण गर्ने पर्यटन व्यवसायी बताउँछन् ।
नेपाल विश्व पर्यटनको प्रमुख गन्तव्य पनि हो । सन् १९५० को दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रमिक सुधार आएको हो । भारतपछि नेपाल भ्रमणमा आउने बढी पर्यटक चिनियाँ छन् । १० महिनामै नेपाल भ्रमण आउने भारतीयको संख्या एक लाख ३३ हजारभन्दा बढी छ भने चिनियाँ पर्यटकको संख्या ८३ हजार नाघेको छ ।
यसैगरी अक्टोबरसम्म अमेरिकाबाट ६५ हजार, श्रीलंकाबाट ४१ हजार, बेलायतबाट ४० हजार र थाइल्यान्डबाट २८ हजार पर्यटक नेपाल भ्रमणका आएका छन् । सन् २०१६ मा भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा भारतको हिस्सा १५.७, चीनको १३.८ श्रीलंकाको ७.६, अमेरिकाको सात र बेलायत ६.१ प्रतिशत हिस्सा छ ।