पर्वतारोहणको अर्थतन्त्र नेपालमा एक सगरमाथा आरोहीको खर्च ३५ लाख

May 04, 2017

Naya Patrika, Achyut Puri, 3rd May 2017, Kathmandu

नेपालमा खर्चालु पर्यटक भित्रयाउने सबैभन्दा महत्वपूर्ण प्रडक्ट पर्वतारोहणमा एक आरोहीले एकपटकको नेपाल बसाइमा औसतमा ३५ लाख हाराहारी खर्च गर्छन् । नेपाल पर्वतारोहण संघका अनुसार खासगरी स्प्रिङ सिजन (फागुन–वैशाख)मा सगरमाथा आरोहणमा आउने पर्यटकबाट नेपालले सर्वाधिक आम्दानी गर्छ । यस मौसमका लागि सरकारी रोयल्टीदेखि हवाई भाडा, शेर्पा सहयोगी, खाना–बसाइ, होटेल खर्च, उपकरण र अक्सिजनजस्ता आधारभूत आवश्यकताका लागि मात्र उक्त रकम खर्च हुने गरेको संघका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् ।

सरकारलाई बुझाउने रोयल्टीबाहेक प्रत्येक आरोहीले ४ हजार डलर धरौटी बुझाउनुपर्छ, जुन सगरमाथामा आफूले उत्पादन गरेको फोहोर लिएर आएपछि फिर्ता हुन्छ । हिमाल आरोहणमा सबैभन्दा बढी खर्च सगरमाथाका लागि हुन्छ । यसबाहेक अन्य हिमालको रोयल्टी कम हुने र बसाइ अवधि पनि छोटो हुने भएकाले खर्च कम हुने गरेको छ । छोटो उचाइको हिमाल आरोहण गर्ने पर्यटकले भने २ लाखदेखि १५ लाख रुपैयाँसम्ममा आरोहण पूरा गरी घर फर्कने गरेको अध्यक्ष शेर्पाको भनाइ छ।

आरोही ७० दिन बस्छन् नेपालमा
सगरमाथा आरोहणमा आउने आरोहीको नेपालमा औसत बसाइ अवधि ७० दिन हो । तर, कुल पर्यटकको औसत बसाइ १३ दिन हाराहारी मात्र छ । नेपालमा मध्य तथा सुदूरपश्चिमका हिमाल र कञ्चनजंघालगायत हिमाल चढ्न आउने पर्यटक सर्वाधिक अवधि बस्छन् । खासगरी आधार शिविर पुग्न १५–१६ दिन लाग्ने र यातायातको सुविधा नभएको हिमालको आरोहणका लागि पर्यटकले ३ महिनासम्म नेपालमा बिताउने गरेको संघको भनाइ छ ।

अक्सिजनमा अधिक खर्च
उच्च हिमाली क्षेत्रमा पुगिसकेपछि आरोहीको सबैभन्दा धेरै खर्च अक्सिजनमा हुने गरेको छ । एनएमएका अध्यक्ष शेर्पाका अनुसार सगरमाथाको क्याम्प टुबाट माथि लागेपछि सामान्यतया आरोहीले अक्सिजन खानुपर्छ । यहाँ बोकिने एक बोतल अक्सिजनको मूल्य ७ सय डलर हो । यो अक्सिजनले ५ देखि ८ घन्टासम्म मात्र पुग्छ ।

दुई दर्जन कम्पनी सक्षम
नेपालमा पर्वतारोहण तथा पदयात्राको प्रयोजनमा आउने पर्यटकलाई प्याकेज बिक्री गरी भ्रमणको बन्दोबस्त मिलाउने टे«किङ तथा ट्राभल एजेन्सीको संख्या हजारौँ छ । यीमध्ये करिब दुई दर्जन कम्पनीले मात्र दक्ष जनशक्तिसहित पर्वतारोहणमा पर्यटक लैजान्छन् । खासगरी नेपाल पर्वतारोहण संघबाट परमिट लिएर जान सकिने र ५५ सय मिटरभन्दा कम उचाइका हिमालमा भने धेरै कम्पनीले प्याकेज बिक्री गर्छन् ।

नेपालमा ३ हजार शेर्पा सहयोगी
एक आरोही नेपाल आउँदा अधिकतम १५ जनासम्मले काम पाउने गरेको अनुमान छ । त्यसमध्ये हिमाल आरोहणमा सबैभन्दा ठूलो हिस्सा शेर्पा सहयोगीको रहन्छ । बाटो बनाउनेदेखि आरोहीलाई चुचुरोमा पुर्‍याएर सकुशल फिर्ता गर्ने जिम्मेवारी उनीहरूमा हुन्छ । नेपाल पर्वतारोहण संघका अनुसार नेपालमा करिब ३ हजार दक्ष शेर्पा सहयोगी छन्, जसले हरेक सिजनमा आउने पर्यटकलाई सफल आरोहण गराई सकुशल स्वदेश फिर्ता गराउने जिम्मा लिएका छन् । यी आरोहीले एक सिजनमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

करिब ५४ हजारलाई रोजगारी
नेपाल पर्वतारोहण संघले सन् २०१४ मा गरेको एक अध्ययनअनुसार पर्वतारोहणकै कारण करिब ५४ हजारजनाले रोजगारी पाउँछन् । पर्वतारोहणबाट शेर्पा सहयोगीसहित कुक, भरिया, स्वास्थ्यकर्मीले प्रत्यक्ष रोजगारी प्राप्त गर्छन् । यसबाहेक ट्राभल–ट्रेकिङ कम्पनी, सडक तथा हवाई यातायात, होटेलजस्ता क्षेत्रमा पनि बिजनेस बढ्छ ।

केही तथ्य
नेपालमा ४ सय १४ हिमाल आरोहणका लागि खुला

पर्वतारोहणबाट वार्षिक औसत ५० करोड रुपैयाँसम्म राजस्व संकलन । सन् २०१७ को स्प्रिङमा मात्र करिब ३१ करोड रुपैयाँ राजस्व संकलन

आरोही १५ दिनदेखि ३ महिनासम्म नेपालमा बस्छन्

२ लाख रुपैयाँदेखि ६० लाख रुपैयाँ सम्म खर्च गर्छन्

एक हजार हाराहारी पर्यटक आरोहणकै लागि आउँछन् । यसमध्ये ठूलो हिस्सा सगरमाथाको छ । चालू सिजनमा मंगलबारसम्म ४० टोलीका ३ सय ७३ पर्यटकले सगरमाथा चढ्ने अनुमति लिएका छन् । यो संख्या सगरमाथा आरोहणको इतिहासमा अहिलेसम्मकै बढी हो ।

आरोहणको मौसममा होटेलको अक्कुपेन्सी बढ्छ भने हवाई कम्पनीले लुक्लामा उडान केन्द्रित गर्छन् ।

Source: http://www.enayapatrika.com/2017/05/03/143448/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More