पशुधन दाबी भुक्तानी १० प्रतिशतले बढ्यो

August 17, 2017

मुना कुवर, कारोबार आर्थिक दैनिक, ०१ भाद्र २०७४ 

गत आर्थिक वर्ष ०७३-७४ मा पशुधन सुरक्षणअन्तर्गत पर्ने दाबी १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिएको पशुधनमा परेको १ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चालू आवमा कोषको वार्षिक लक्ष्य भने २ करोड ७५ लाख थियो । अघिल्लो आवको सोही अवधिमा भने कोषले पशुधन दाबीबापत जम्मा १ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी भएको थियो ।  

कोषको तथ्यांकअनुसार उक्त अवधिमा ४ सय १४ कृषकको ४ सय १४ पशुधनका लागि कोषमा दाबी परेको थियो । अघिल्लो आवको सोही अवधिमा भने ४ सय २७ कृषकको ४ सय ३० वटा पशुको दाबी परेको थियो । तथ्यांकअनुसार गतआवमा दाबी परेका पशुपालक र पशुको संख्या भने घटेको कोषका नायव प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले बताए ।

त्यस्तै, उक्त अवधिमा विराटनगर क्षेत्रबाट सबैभन्दा धेरै दाबी परेको छ । गत आवमा विराटनगर क्षेत्रबाट परेको ६९ लाख ७५ हजार रुपैयाँ कोषले भुक्तानी गरिसकेको छ । उक्त रकम कुल दाबी भुक्तानी रकममध्ये ४१ दशमलव ३३ प्रतिशत हो ।

उक्त क्षेत्रबाट १७७ जना कृषकले १७७ वटै पशुधनका लागि दाबी गरेको थिए । चितवन क्षेत्रबाट भने १४३ जना कृषकले १४३ वटै पशुधन लागि दाबी गरेको थिए । जसबापत कोषले ६५ लाख ६६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यो रकम कुल दाबी भुक्तानीको ३८ दशमलव ९१ प्रतिशत हो । काठमाडौं क्षेत्रबाट ६ लाख ८९ हजार रुपैयाँ कोषले दाबी भुक्तानी गरेको छ । यो रकम कूल दाबी भुक्तानीको जम्मा ४ प्रतिशत हो । उक्त रकम १६ जना कृषकको १६ वटा पशुधनबापतको दाबी हो ।

त्यस्तै, पोखरा क्षेत्रबाट ३३ कृषकले ३३ पशुका लागि १४ लाख १४ हजार रुपैयाँ गरेको दाबी पनि कोषले भुक्तान गरेको छ । नेपालगन्जबाट ४५ कृषकले ४५ वटै पशुका लागि १२ लाख ३१ हजार रुपैयाँ दाबी गरेका थिए ।

गत आवमा ११ हजार ३९ कृषकले १४ हजार ४२८ पशुधनको सुरक्षण गरेका थिए । जसबापत कोषले ७७ करोड ३९ लाख सुरक्षण रकम संकलन गरेको थियो । यो रकम अघिल्लो आवको तुलनामा करिब १६ प्रतिशतले बढी हो । पशुधन सुरक्षण गरे बापत भने कोषले गत आवमा ५ करोड १८ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ । जबकि कोषले ४ करोड ९० लाख रुपैयाँको लक्ष्य राखेको थियो । 

दुग्ध उत्पादन, फार्म सञ्चालन, ढुवानी, मासु उत्पादन, जोताई आदि प्रयोजनका लागि वित्तीय संस्थाबाट कर्जा लिई खरिद गरिएको पशुको कोषमा सुरक्षण हुने व्यवस्था छ । आफ्नै लगानीबाट कम्तिमा १० वटा ठूला पशुपालन गर्ने कृषकले पनि आफनो पशु सुरक्षण गर्न सक्नेछन् ।

सुरक्षण गरिएका पशुको मृत्यु भएमा सुरक्षण रकमको ८० प्रतिशत र स्थायी रूपले अनुत्पादक भएमा गाई, बाच्छी, साँढे, गोरु, खच्चड, घोडा र गधाको हकमा ४० प्रतिशतले रकम भुक्तानी गर्छ । त्यस्तै, अन्य पशुधनको हकमा २५ प्रतिशत क्षतिपूर्ति भुक्तान गर्छ ।

स्रोत: https://www.karobardaily.com/news/81609

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More