News

पशुपतिनाथको जग्गा प्रतिरोपनी मासिक आम्दानी ८२ रुपैयाँ !

October 09, 2017

गोपीकृष्ण ढुंगाना ,अन्नपुर्ण पोस्ट , २३ असोज २०७४ 

काठमाडौं : काठमाडौं उपत्यकाभित्रको साढे चार हजार रोपनी जग्गाबाट वार्षिक आम्दानी कति होला ? तपाईंले सहजै अनुमान लगाउनुहुनेछ, अर्बौं । तर, आराध्यदेव पशुपतिनाथ मन्दिरका नाममा रहेको ४ हजार ४ सय १३ रोपनी जग्गाबाट वार्षिक ५० लाख रुपैयाँ पनि आम्दानी हुँदैन भन्दा अचम्म नमाने हुन्छ । पशुपति क्षेत्र विकास कोषको रेकर्ड हेर्दा उक्त जग्गाबाट केबल ४३ लाख ५२ हजार ३ सय ९५ रुपैयाँ मात्र पाइन्छ । जसअनुसार मासिक प्रतिरोपनी ८२ रुपैयाँ पर्न आउँछ ।

दुई सय वर्षअघि १८६७ सालमा तत्कालीन राजा गीर्वाणयुद्धले ‘पशुपतिनाथको पूजाआजा नित्य नैऋत्य चलोस्' भनी दिएको जग्गाबाट पशुपति क्षेत्र विकास कोषले समायानुकूल रकम असुल्न नसक्दा यस्तो अवस्था भएको हो । सहजै आउने उच्च आम्दानीबाट वञ्चित पशुपतिनाथ नियमित खर्च र परम्परा धान्न स्रोतको अभावमा पर्दै समस्याग्रस्त बनिरहेको छ । मठमन्दिरमा फलफूल चढाउन बजेट नहुने, पुजारीहरूले न्यून बेतनमा चित्त बुझाउनुपर्ने, मन्दिर र देवलको न्यूनतम मर्मत-सम्भारसमेत नहुनेलगायत समस्यापछाडि आर्थिक अभाव नै प्रमुख कारण हो । कोषले हजारौंलाई मोहियानीमा जग्गा भोगचलन गराउँदै आएको छ।

एकातिर बर्सेनि मूल्य वृद्धि हुँदै जाने र अर्कोतर्फ पुरानै दरमा कुतबाली बुझाउने प्रवृत्तिले पशुपतिनाथको पूजाआजा र जात्रापर्वमा संकट आउने देखिन्छ ।
श्रीपशुपतिनाथ भण्डार तहविल कार्यालयअन्तर्गत रहेको २ हजार ३ सय ७७ रोपनी ६ आना जग्गाबाट कूतबापत कोषले वार्षिक १६ लाख ५७ हजार ४ सय ५४ रुपैयाँ २७ पैसा लिन्छ । श्रीपशुपतिनाथ अमालकोट कचहरीअन्तर्गत रहेको १ हजार ५ सय ३८ रोपनी ५ आना २ दामबाट २२ लाख ५५ हजार ८ सय ४ रुपैयाँ ८२ पैसा प्राप्त हुन्छ भने श्रीजयवागेश्वरी भण्डार तहविल कार्यालयअन्तर्गत ४ सय ९७ रोपनी १२ आना १ पैसा २ दामबाट ४ लाख ३९ हजार १ सय ३७ रुपैयाँ ४१ पैसा संकलित हुन्छ । कोषले तय गरेअनुसार जग्गा हेरी अब्बल एक रोपनीको वार्षिक कुत ३० पाथी, द्वैयमको २५ पाथी, सिमको २० पाथी (एक मुरी) र चाहारको १० पाथी तिरे पुग्छ ।

 

समायानुकूल रकम असुल्न नसक्दा पशुपति क्षेत्र विकास कोषलाई नियमित खर्च र परम्परा धान्नै मुस्किल परिरहेको छ ।

४ हजार ४ सय १३ रोपनीमध्ये १८ रोपनी प्रयोग गर्दै आएको काठमाडौं चुच्चेपाटीस्थित ह्यात रिजेन्सी होटलले कुतबापत वार्षिक ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्छ, जुन रकम कोषले ०६८ सालमा झन्डै ५० गुणा वृद्धि गर्दाको हो । यसैगरी, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले २०३९ सालदेखि प्रयोग गर्दै आएको १ हजार १ सय ६१ रोपनी जग्गाको भाडाबापत कोषलाई वार्षिक २३ लाख २२ हजार मात्र तिर्दै आएकोमा गत वर्षदेखि एक करोड रुपैयाँ पु¥याएको छ । तत्कालीन शाह राजा गीर्वाणयुद्धले पशुपतिनाथ मन्दिरको इशानमा रहने मूलभट्ट र अघोर, तत्पुरुष र वामदेव हेर्ने एक÷एक गरी तीन भट्टको खान्कीका लागि ४ सय १२ रोपनी जग्गा दिएका थिए भने मूलभण्डारी, भण्डारीहरू, विसेट, अवाल, नकर्मी, कोटवाल र बहिदारका लागि खान्की खेत भनी ३ सय ९६ रोपनी ४ आना छुट्याइदिएका थिए ।

कोषको तथ्यांकअनुसार श्री (पशुपतिनाथ) को दैनिक भोगका लागि ३ सय ६५ रोपनी १२ आना २ पैसाको भोगगुठी (दुक्का बिर्ता) राखिदिएका थिए भने बाह्रगुठीका लागि ३ सय ७८ रोपनी प्रदान गरेका थिए । सरकारले २००० साल, २०२१ साल र २०४२ सालपछि केही पटक गरेको नापीमा गीर्वाणयुद्धले दिएको १ हजार ५ सय ५२ रोपनी जग्गा बढेर ४ हजार ४ सय १३ रोपनी पुगेको कोषको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले गुठीजग्गा प्रयोगबापत निजी क्षेत्रबाट असुलिने रकम अत्यन्तै न्यून मूल्य रहेको स्विकारे । २०६८ सालमा झन्डै ५० गुणा वृद्धि गरेको जानकारी दिँदै उनले अन्नपूर्णसँग भने, ‘यसलाई समयानुकूल बनाउन प्रयास भएको हो तर पुनरवलोकन गर्न कोष एक्लैले सक्दैन । यसमा मुख्य रूपमा राज्य र गुठी संस्थान पनि एकजुट भएर लाग्नुपर्ने हुन्छ ।' उनले गुठीजग्गा प्रचलनका सन्दर्भमा राष्ट्रिय रणनीति बन्नुपर्ने बताए ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका कतिपय गुठीजग्गाको तिरो जंगबहादुर राणा, गीर्वाणयुद्ध, वीरशमशेर, रणबहादुर शाहलगायतले जे-जति तोके, त्यत्तिमै सीमित रहेको पनि उनको भनाइ छ । उनले थपे, ‘यही कुतबालीको आम्दानीमा चलिरहने हो भने पशुपतिनाथका पूजाआजा र जात्रापर्व संकटमा पर्ने निश्चित छ।'

- श्रीपशुपतिनाथ भण्डार तहविल कार्यालयअन्तर्गत
२ हजार ३ सय ७७ रोपनी ६ आना जग्गाबाट वार्षिक १६ लाख ५७ हजार ४ सय ५४ रुपैयाँ २७ पैसा
- श्रीपशुपतिनाथ अमालकोट कचहरीअन्तर्गत
१ हजार ५ सय ३८ रोपनी ५ आना २ दाम जग्गाबाट २२ लाख ५५ हजार ८ सय ४ रुपैयाँ ८२ पैसा
- श्रीजयवागेश्वरी भण्डार तहविल कार्यालयअन्तर्गत
४ सय ९७ रोपनी १२ आना १ पैसा २ दाम जग्गाबाट ४ लाख ३९ हजार १ सय ३७ रुपैयाँ ४१ पैसा
- अब्बल एक रोपनीको वार्षिक कुत ३० पाथी, द्वैयमको २५ पाथी, सिमको २० पाथी (एक मुरी) र चाहारको १० पाथी निर्धारण

स्रोत: http://annapurnapost.com/news-details/81687