पशुपतिनाथ मन्दिर क्षेत्र ‘भेहिकल फ्रि जोन'

December 27, 2017

गोपीकृष्ण ढुंगाना, अन्नपुर्ण पोस्ट, १२ पुष २०७४

विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र काठमाडौं महानगरपालिकाको समन्वयमा सवारीसाधन प्रवेशमा रोक लगाएको हो।

कोषले गत भदौमा पशुपति क्षेत्रको कोर एरियामा सवारीसाधन प्रवेश निषेध गर्ने निर्णय गरेको थियो। राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको पशुपतिनाथ दोस्रो स्थान हो।

कोषले पाशुपत क्षेत्रको जय वागेश्वरीबाट पूर्व, चार शिवालयदेखि उत्तर र दक्षिणामूर्तिबाट दक्षिणको क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरेको हो। शववाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छैन। दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने बाटोमा सवारीसाधनलाई एकतर्फी गरिएको छ भने गौशाला प्रहरी कार्यालयको छेउबाट तल वनकालीतर्फ जान पाइए पनि फेरि त्यही बाटोबाट फर्किन पाइने छैन। कोषले पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र सवारीसाधन लैजान रोकेपछि वनकालीको चौर र उमाकुण्डमा सवारी पार्किङका लागि ठूलो ठाउँ छुट्याएको छ।

कोष सञ्चालक परिषद्का सदस्यसचिव डा. प्रदीप ढकालले ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आउनेले सहज दर्शनको वातावरण मिलाउन पशुपतिनाथ मन्दिर आसपास सवारीसाधन प्रवेश निषेध गरिएको जानकारी दिए। ‘पैदल हिँडेर मन्दिर पुग्ने हजारौंका लागि सवारीसाधनका कारण अनेक समस्या सामना गर्नु परेको थियो', उनले भने, ‘ठूला मन्दिरमा पुग्न अरु देशमा पनि मन्दिरमा सवारीसाधन प्रवेश निषेध गरिएको हुन्छ। हामी भने सकेसम्म मूल प्रवेशद्वारमै मोटरसाइकल पुर्‍याउन खोज्छौं।'

कोषका अनुसार विश्वभरका हिन्दुको आकर्षणको केन्द्र र विश्व सम्पदामा सूचीकृत पशुपतिनाथमा बर्सेनि करिब १ करोड भक्तजन आउँछन्। पशुपति क्षेत्रभित्र सवारीसाधन प्रवेशमा रोक लगाउन र सवारीधनीलाई अभ्यस्त बनाउन एक महिना महाशाखाले प्रहरी निरीक्षकको नेतृत्वमा १८ र कोषले १५ जना सुरक्षाकर्मी खटाएको छ। महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पशुपतिनाथ आउने तीर्थयात्रुले सहज दर्शन गरेर फर्किने वातावरण बनाउन अभियान सुरु गरिएको जानकारी दिए। उनले भने, ‘विश्वले महत्व दिएको पशुपतिनाथ आउनुको मूलमर्म आध्यात्मिक र शान्त वातावरणमा मन शान्त बनाउन पनि हो। त्यसैले ध्वनी (कोलाहल) प्रदूषण पनि रोक्न भेहिकल फ्रि जोन घोषणा गरिएको हो।'

कोषले महानगरपालिका-८ को वडा कार्यालयसँग समन्वय गरेर स्थानीय (कोर एरियामा बसोबास गर्ने) लाई सवारी पास वितरण प्रक्रिया अघि बढाइसकेको छ। वडा कार्यालयको विपद् व्यवस्थापन समितिका सचिव छत्रानन्द वैद्यका अनुसार गुरु मार्ग, भुवनेश्वरी मार्ग, दःथु टोल मार्ग, भण्डारी बस्ती र इटापाखाका गरी १ हजार २ सय जनालाई पासका लागि दिइएको फारम आउनासाथ पास वितरण गरिनेछ।

तर स्थानीय सुनील वैद्यले भने प्रवेश निषेध भएपछि एउटै परिवारका सदस्यबीच खानपिनमै समस्या पर्ने बताए। उनका अनुसार पशुपति क्षेत्रमै बसोबास गर्नेमध्ये केही अधिग्रहणका कारण पिंगलास्थानमा छन् भने केही पशुपति क्षेत्रमै। ‘खानपिनदेखि दुःखबिराममा जतिबेला पनि ओहोरदोहोर गर्नुपर्छ। तर दुई मिनेटमा पुगिने ठाउँमा गौशालाको जाम छिचोलेर जयबागेश्वरीबाट जानुपर्दा कम्तीमा १५ मिनेट लाग्ने भयो', उनले भने, ‘पशुपति क्षेत्रमै रहेर अधिग्रहणमा परेका परिवारको फूल व्यवसाय छ। अब उनीहरूलाई पनि मालसामान ल्याउन लैजान कठिन भएको छ।' वनकाली चौरबाट पशुपतिनाथ मन्दिर करिब ४ सय मिटरमा छ।

यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता चाडपर्वमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारीसाधनमा रोक लगाइन्थ्यो। अब पास भएकाले मात्र सवारी ल्याउन लैजान पाउनेछन्। कोषले भने चाँडै विद्युतीय शवदाहगृह छेउबाट सिधै आर्यघाट जाने सवारीसाधनका लागि बाटोको व्यवस्था गर्ने जनाएको छ।

स्रोत: http://annapurnapost.com/news-details/86901

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More