News

पशुपति क्षेत्रमा डेढ दर्जन संरचना पुनर्निर्माण हुँदै

December 17, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ०२ पुष २०७४

विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ क्षेत्रमा डेढ दर्जन संरचना पुनर्निर्माण गरिँदै छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेटबाट पशुपति क्षेत्र विकास कोषले ती संरचना पुनर्निर्माण सुरु गरेको हो । 

मन्त्रालयबाट मन्दिरका संरचना पुनर्निर्माण गर्न यस वर्ष ४४ करोड ४१ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको कोषले जनाएको छ । कोषले तीन चरणमा गरी प्रत्येक संरचना निर्माण शीर्षकमा रकम पाउनेछ । भुवनेश्वरीदेखि दक्षिणढोकासम्म ढल, बाटो निर्माण, इँटापाखामा प्रस्तरफलक छाप्ने, वनकालीमा उद्यान विकास र भष्मेश्वर सत्तल जीर्णोद्धार भइरहेका छन् । पुनर्निर्माण कार्य भइरहेका संरचनामा गुह्येश्वरी मन्दिर प्राङ्गण र धर्मशाला जीर्णोद्धार, पशुपतिनाथको भान्सा पुनर्निर्माण, भण्डारखाल बगैंचाको घेरा पर्खाल निर्माण पनि छन् । 

सोभानियर पसल निर्माण, पुरातात्त्विक उत्खनन कार्य चलिरहेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त संरचना कोषले निर्माण गर्ने जनाएको छ । प्राधिकरणबाट गोरखनाथ मन्दिर पश्चिमको सत्तल, घ्याम्पे सत्तल, शंकराचार्य मन्दिर निर्माण भइरहेको छ । 

यसबाहेक कुलानन्द झा र वनकाली सत्तलका साथै अमरकान्तेश्वर, सुरेशकान्तेश्वर मन्दिर प्राधिकरणमार्फत निर्माणका क्रममा छन् । पाँचै जना भट्टको आवास मर्मत, गुह्येश्वरी चौघेरा सत्तल, बाग्मती किनारको सत्तल, पन्ध्रशिवालय सत्तल पनि निर्माणका क्रममा छन् । दुइटा चौतरिया शिवालय, कोटीलिंगेश्वर मन्दिर पनि निर्माण हुँदैछन् ।

स्मारक भत्काउँदा निस्केका भग्नावशेष हटाउने कार्य समाप्त भइसकेको कोषले जनाएको छ । शंकरनारायण सत्तल भत्काइसकिएको कोषका उप–निर्देशक राजेन्द्रधर राजोपाध्यायले बताए । 

पुनर्निर्माण प्राधिकरणबाट भने साढे २० लाख जति पुनर्निर्माणका लागि कोषले पाएको छ । उप–निर्देशक राजोपाध्यायले मृगस्थलीमा ८० भन्दा बढी स–साना मन्दिर रहे पनि यस वर्ष ५ वटाको निर्माण थालिने बताए । ‘एउटा मन्दिरको नक्सांकन र लागत इस्टिमेट गरी पाँचैको एकैपल्ट लागत इस्टिमेट गर्‍यौं,’ राजोपाध्यायले भने, ‘तर पुरातात्त्विक सम्पदा भएकाले सबैको बेग्लाबेग्लै नक्सांकन गर्नुपर्ने भएको छ ।’

उक्त क्षेत्रमा बेलायतको डोरह्याम युनिभर्सिटी, युनेस्को, पुरातत्त्व विभागबाट भण्डारखाल, लगनगाछी क्षेत्रमा उत्खनन भइरहेको छ । ‘सिक्का र पुराना सरसामान भेटिएका छन् । पछि सबै सार्वजनिक गरी संग्राहलय बनाउने योजना छ,’ कोषका एक कर्मचारीले भने । 

दाताको रकम परिचालन गरी कोषले राजराजेश्वरीको श्राद्धपाटी, किरियापुत्री भवन र वनकाली पार्क निर्माण गरिसकेको छ । 

कोषले पशुपतिनाथ मन्दिरको प्राङ्गणभित्रको लालगणेश मन्दिर पुनर्निर्माण आफ्नै रकमबाट गरिएको जनाएको छ । 



स्रोत: http://kantipur.ekantipur.com/news/2017-12-17/20171217065605.html