अगन्धर तिवारी, कान्तिपुर दैनिक, २० श्रावण २०७४
साउदी र कतारको रोजगारीमा सात वर्ष बिताएर साविक कुर्घा गाविस ६ स्वाँरका युवराज शर्मा केही महिना अघिमात्रै गाउँ फिरेका हुन्। गाउँमा पुगेका मोटरबाटोको उपयोग गरी केही उद्यम गर्ने सोच उनले बनाए। सजिलो देखिने व्यावसायिक पशुपालनलाई उनले रोजे।
‘एक्लैले दुई/चारवटा भैंसीको दूध बजारसम्म पुर्याउन सम्भव थिएन,’ उनले भने, ‘गाउँका अरू पनि मजस्तै हन्डर खाएर फर्केका होलान् भनेर खोज्दै जाँदा चारजना साथी भेटिए।’ शर्मासहित स्थानीय कालिदास चापागाईं, प्रेम पौडेल, रामकृष्ण क्षेत्री र रमेश क्षेत्रीले सामुहिक रूपमा दूध संकलन गरी सदरमुकाम पठाउने काम व्यावसायिक तरिकाले गर्ने निर्णय गरे। समूहमा कालिदासबाहेकका सबै विदेशबाट फर्किएका थिए। वैदेशिक रोजगारीकै तयारी गरेका कालिदासले उताको योजना स्थगित गरे।
सुरुवातका केही महिना उनीहरूले दैनिक १३ लिटर दूध जम्मा गरी सदरमुकाम कुस्मा पठाउन थाले। दूधको गुणस्तर राम्रो भएपछि बजारमा माग बढ्न थाल्यो। ‘अलि ठूलो समूहमा सहकारी स्थापना गरेर व्यावसायिक बन्ने सोच आयो,’ कालिदासले भने, ‘युवराज दाइको अध्यक्षतामा ३५ जनाले सहकारी स्थापना गरियो।’ सहकारीमा आबद्ध हुनेले अनिवार्य दूध ल्याउनैपर्ने नियम बनाए। नियम पालना नगर्नेलाई जरिवाना लगाउन थालेपछि ०६९ हिउँदमै सय लिटर दूध बजार पठाउन सफल भए। दूध बेचेर राम्रै आम्दानी हुन थालेपछि सहकारीमा आबद्ध भएकाहरूले गाईभैंसीको संख्या दोब्बर बनाउन थाले। अहिले गाउँभरि दुई सय हाराहारी संख्यामा गाईभैंसी छन्। करिब डेढ सय गाई र ५० को हाराहारीमा भैंसी छन्। दैनिक ४ सय ५० देखि ५ सय लिटर दूध सदरमुकाम पुग्छ। ‘गाईभैंसी किन्न सहकारीमा आबद्ध सबैले बैंकबाट सामूहिक ऋण लियौं,’ सहकारीकी सचिव शोभा क्षेत्रीले भनिन्, ‘सबैले गाईभैंसी थपेपछि दूध उत्पादन दोब्बर भयो।’
पशुपालनमा लागेका परिवारहरूका जीवनस्तरमा आर्थिक क्रान्ति नै भएको छ। ‘छोराछोरी पढाउन समस्या भएपछि कुर्घाबाट यहाँ झरेको हुँ,’ सहकारीका व्यवस्थापक यज्ञप्रसाद शर्माले भने, ‘अहिले तीन छोराछोरी ढुक्कले पढाएको छु। शिक्षामा मात्रै मासिक २० हजार खर्च हुन्छ।’ दुई भैंसी र आठवटा गाई पालेका शर्माले दूधबाटै मासिक ७० देखि ७५ हजार आम्दानी गर्छन्।
सडकले सास्ती
गाउँमा मोटरबाटो पुगेको २०६९ मंसिरतिर हो। मंगलबार बिहान सहकारीको दूध बोकेको जिप फलेवास ५ खानीगाउँको उकालोमा दुई घण्टा फस्यो। सोमबार रातिको वर्षाले लमायखोला–पिप्ले सडकको बयरडाँडा खण्डमा जमेको हिलोमा फसेको जिप निकाल्न निकै कसरत गर्नुपर्यो। ‘पानी पर्दाको दिन सधैं यस्तै हो,’ सवारीचालक बुद्धबहादुर नेपालीले भने, ‘साढे ९ बजेसम्म सदरमुकाम दूध नपुर्याए बिक्री गर्न सकिन्न।’ सात वर्षअघि ट्रयाक खुलेको यो सडकको ५ सय मिटर खण्डमा डाँडाबाट बग्ने पानीले सडकमा ठुल्ठूला खाल्डाखुल्डी पारेको छ। खाल्डा पुर्न मात्रै बर्खाका ६ महिना सहकारीले मासिक १५ हजारभन्दा बढी खर्चंदै आएको छ। त्यो पैसा पनि किसानको दूधबाटै कटाउने गरिएको सहकारीकी सदस्य देवी शर्माले बताइन्। सडक मर्मतका लागि तत्कालीन जिविस र हाल नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ। ‘अहिले पनि मेयरलाई पटक–पटक बिन्ती बिसायौं,’ व्यवस्थापक शर्माले भने, ‘हुन्छ हुन्छ भन्दाभन्दै बर्खा सकिन लाग्यो।’ लमायखोलादेखि राहालेसम्मको करिब एक किमि सडक मर्मत भए सहज हुने सहकारीमा आबद्ध किसानहरू बताउँछन्। फलेवासका मेयर पदमपाणि शर्माले नगरभरिका सडकको समस्या समान भएकाले सबैतिर एकैपटक काम गर्न समस्या भएको बताए। ‘दैनिक दूध ढुवानी हुने त्यो सडकलाई प्राथमिकतामा राखेकै छौं,’ उनले भने, ‘बर्खामा सबैतिरको समस्या उस्तै हो।’
ढुवानी र बिचौलियाको मार
यहाँ उत्पादित दूध बजारसम्म ल्याउन प्रतिक्यान ३ सय रुपैयाँ भाडा तिर्नुपर्छ। त्यो गाउँदेखि सदरमुकाम आउने करिब ३० किमि कच्ची सडकमा जिपको भाडा हो। त्यो प्रतिलिटर १० रुपैयाँ पर्छ। बर्खाको समय बिग्रिने सडक मर्मतमा प्रतिलिटर एक रुपैयाँ खर्च हुन्छ। यहाँको दूध कुस्माका व्यवसायीले ५६ देखि ६८ रुपैयाँमा खरिद गर्छन्। सरदरमा हिसाब गर्दा प्रतिलिटर ६० रुपैयाँ पर्ने सहकारीले जनाएको छ। तर, यही दूध बजारका उपभोक्तासम्म पुग्दा प्रतिलिटर १ सय ५० रुपैयाँसम्म पर्छ। एक थोपा पानी नमिसाई ल्याएको दूधमा डेरी सञ्चालकहरूले बटर (नौनी घिउ) निकालेर केही पानी मिसाएपछि प्रतिलिटर ८० देखि १ सय २० रुपैयाँमा बिक्री गर्छन्। सबै खर्च कटाएर किसानहरूले प्रतिलिटर ४८ देखि ५० रुपैयाँ पाउँछन्। सहज सडक र बजारमा सीधै बिक्री गर्न सके कम्तीमा सय रुपैयाँ पर्ने दूध आधा मूल्यमा बिक्री गर्न बाध्य भए पनि किसानहरूको व्यावसायिक मोह भने घटेको छैन। ‘दुईवटा गाई पालेर पनि विदेशको भन्दा राम्रै आम्दानी भएको छ,’ किसान खेमप्रसाद शर्माले भने, ‘परिवारलाई अझै काम पुगेको छैन। अझै दुईवटा थप्ने योजना छ।’ सडक सुधार भए कम्तीमा एक हजार लिटर दूध बजारसम्म पुर्याउने सहकारीको लक्ष्य छ। ‘हामीसँग जनशक्ति र पूर्वाधार छ, खाली बाटाकै समस्या हो,’ सचिव क्षेत्रीले भनिन्, ‘बाटो सुधार भए हजार लिटर दूध सहजै उत्पादन हुन्छ।’ प्रशस्त खरबारी र घाँस उत्पादन हुने क्षेत्र भएकाले किसानलाई वस्तुभाउ पाल्न समस्या छैन।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-04/20170804090043.html