पहिरो नियन्त्रणका लागि थप २० करोड खर्च

August 09, 2017

रमेश कुमार पौडेल, नागरिक दैनिक, २५ श्रावण २०७४ 

पहिरोले पिरोल्ने गरेको निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डमा २० करोड रुपैयाँ थप खर्च हुने भएको छ । सडक खण्डको २९ ठाउँमा पहिरोको जोखिम छ । पहिरोको रोक्ने योजना सञ्चालन गर्न आयोजनाले हालै गरेको अध्ययनले पहिरो नियन्त्रणको तरिका र खर्च विवरण प्रस्ताव गरेको छ।

‘परामर्शदाताले हामीलाई दिएको सुझावअनुसार पहिरो नियन्त्रण कार्यक्रमका लागि २० करोड रुपैयाँसम्म लाग्ने देखिएको छ,’ नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर शिव खनालले भने । परामर्शदातले प्रतिवेदन बुझाएपछि आयोजनाले विशेषज्ञ खटाएर पहिरो नियन्त्रणका कार्यक्रम तयार गर्न सुरु गरेको छ ।
‘फिल्डमा विशेषज्ञ जुटिसकेका छन् । हामीहरुले गर्न लागेको काममा कतिसम्म खर्च हुन्छ भन्ने अन्तिम विवरण त उहाँले नै दिनुहोला, तर २० करोडभन्दा बढी नै खर्च हुने भए पनि काम रोक्ने अवस्थामा भने छैनौं,’ सूचना अधिकारी खनालले भने । आयोजनाले जियो टेक्निकल इन्जिनियर टुकलाल अधिकारीलाई यो कामको जिम्मा दिएको छ । अधिकारी राजमार्ग क्षेत्रको पहिरो नियन्त्रणका लागि अनुभवी इन्जिनियर हुन् ।

सामान्य पहिरोमा बायो इन्जिनियरिङ अर्थात काँस, बाँस जस्ता माटो समाउने विरुवा रोपेपछि पहिरो नियन्त्रण हुन्छ । ‘तर अहिले मुग्लिन सडकमा छुट्टै खालको समस्या भएकाले बायो इन्जिनियरिङ मात्रैले पुग्ने देखिएन । अरु उपाए पनि छन् । कहाँ कुन उपायले पहिरो रोक्ने भनेर अध्ययन गर्ने काममा म लागेको छु,’ टुकलाल अधिकारीले भने ।

उनका अनुसार पहिरो नियन्त्रणका लागि रक नेटिङ अर्थात डाँडाबाट खसेका ढुंगाहरु सडकमा नआउने गरेर जालीले छेक्ने विधि अपनाउने योजना छ । यसका साथै पानीका कारण जाने पहिरो रोक्न विशेष खालको नाला बनाइने छ । साथै पानीले बिगार्न नसक्ने तर धेरै नै भिरालो भएको ठाउँमा कंक्रिटले ढलान गरेर छोप्ने विधि अपनाएर पहिरो नियन्त्रण गर्न सकिने टुकलाल अधिकारीले बताए ।

सूचना अधिकारी खनाल तुरुन्तै जम्ने खालको कंक्रिटले ढलान गरिए पहिरो नियन्त्रण प्रभावकारी हुने बताउँछन् । २०३६ सालमा चीन सरकारको सहयोगमा नारायणगढदेखि गोरखा जोड्नका लागि निर्माण भएको यो सडक हाल साढे पाँच मिटर चौडाइ रहेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।

सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन विस्तारको काम भइ रहेको छ । विस्तारपछि सो सडक नौदेखि ११ मिटर चौडा हुने छ । सडक चौडा बनाउनका लागि ठाउँठाउँमा पहाड काट्नु परेको छ । पहाड काटेको ठाउँमा पहिरो गएर यातायात बन्द हुनुका साथै यात्रुको ज्यानै लिने गरेको छ ।

आयोजना कार्यालयले दिएको जानकारी अनुसार आयोजनाको काम सुरु भएयता साउन १५ सम्म एक सय ४१ वटा ठूला पहिरो गएका छन् । दुई सय ५० घन मिटरभन्दा धेरै ढुंगा माटो थुप्रिएको पहिरोलाई ठूला पहिरो भनिएको छ । यस्ता पहिरो सफा गर्न चार सय १६ घण्टा समय लागेको छ । सबैभन्दा ठूलो पहिरो गत वर्ष टोपे खोलामा ११ हजार घन मिटरको गएको सूचना अधिकारी खनालले बताए ।

साउन १५ पछि गएको हप्ता साउन १८ गते तीन किलो क्षेत्रमा गएको पहिरोले लगातार ४३ घण्टा बाटो भन्द भयो । सो दिन एकैपटक १० वटा ठूला पहिरो गएका थिए । आयोजना सुरु भएपछि धेरै पहिरो गएर लामो समयसम्म बाटो बन्द भएको यो नै पहिलो घटना भएको खनालले बताए । अहिलेसम्म पहिरोले साना ठूला २५ वटा गाडीमा क्षति पुगेको छ ।
बाटो बन्द हुने र गाडीमा क्षति पुग्ने पिडा मात्रै होइन पहिरोले यात्रुको ज्यानै लिन थालेको छ । अहिलेसम्म पहिरोमा परेर पाँचजनाको ज्यान गएको छ । एकजना बेपत्ता छन् । चारजना यात्रु घाइते भएका छन् । बाटोको अवस्था अनुगमन गर्न प्रधानमन्त्रीसहितको टोली आएको छ । अनुगमनमा आएका बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले बाटोको काम चाँडै पूरा गर्न निर्देशन दिनुका साथै पटकपटक आउने पहिरो पनि रोकिनु पर्ने बताएका थिए ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले प्रधानमन्त्री देउवालाई पहिरो नियन्त्रणका लागि ताछेको खण्डलाई स्थिर बनाउने योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका थिए । पहिरोले सडकमा यात्रा गर्न असुरक्षित हुन थालेपछि संसदको विकास समितिको निर्देशन अनुसार गएको असार २५ गतेबाट सो सडक खण्डमा रातीको समयमा गाडी चलाउन बन्द गरिएको छ ।

विश्व बैंकको करिब तीन अर्ब रुपैयाँ ऋण सहयोगमा यो सडक विस्तारको काम सुरु भएको हो । सडक निर्माणका लागि सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीहरुसँग सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षभित्र काम सक्ने सर्त थियो  । तर अहिले जम्मा ५४ प्रतिशतको हाराहारीमा काम भएको छ । आउँदो चैतसम्म काम सकिने आशा आयोजना पक्षले राखेको छ । 

स्रोत: http://www.nagariknews.com/news/25015/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More