पहिलो चरणमा ८ लाख रुख काटिने

July 06, 2018

केदार दाहाल, कारोबार दैनिक, २२ असार २०७५

बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवस्यक पर्ने रुख कटानको जिम्मा वन मन्त्रालयलाई दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गत मन्त्रालयले मंगलबार वन मन्त्रालयलाई पत्र लेख्दै आवश्यक रुख कटान आदेशको प्रस्ताव मन्त्रिपरिषद् लैजान आग्रह गरेसँगै रुख कटानको बाटो खुलेको हो । 

केही दिनभित्रै वन मन्त्रालयले मन्त्रिपरिषद्मा रुख कटान आदेशको प्रस्ताव लैजाने तयारी गरेको छ । रुख कटान वन मन्त्रालयले गरेपछि आसपास सडक र रुखको सुरक्षा भने नेपाली सेनाले लिने छन् । विमानस्थलको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन गत महिना वन मन्त्रालयले स्वीकृत गरेको थियो । 
 

दक्षिण एसियाकै हव विमानस्थलको रूपमा हेरिएको निजगढमा निर्माण गरिने विमानस्थलको ईआइए प्रतिवेदन स्वीकृत भएसँगै निर्माणको बाटो खुलेको थियो । तेस्रो चरणसम्म निर्माण गरिने उक्त विमानस्थलमा ६ लाख ठूला र १८ लाख साना रुख कटान गर्नुपर्ने प्रतिवदेनमा उल्लेख गरिएको छ । तर पहिलो चरण निर्माणको लागि भने १ लाख ९४ हजार ठूला रुख र ५ लाख ७५ हजार साना गरी ७ लाख ६९ हजार रुख कटानमात्र गर्नुपर्ने गरी पर्यटन मन्त्रालयले वन मन्त्रालयलाई प्रस्ताव पठाएको छ । पहिलो चरणमा एकल धावन मार्ग र टर्मिनल भवन निर्माण हुनेछ भने दोस्रो चरणमा डवल धावन मार्ग तयार हुनेछ । 
 

पहिलो चरणको विमानस्थल निर्माण गर्नको लागि २ हजार ५ सय ५३ हेक्टर विमानस्थलको लागि २.५ हेक्टर अफिसको लागि २ हजार ५ सय ५ हेक्टर मात्रै आवश्यक पर्दछ । “हामीले वन मन्त्रालयलेलाई रुख कटानको आदेशको प्रस्ताव मन्त्रिपरिषद्को लैजानको लागि पत्र पठाएका छौं,” मन्त्रालयको हवाई सुरक्षा महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने भने । निजगढ विमानस्थलका धेरै प्रक्रिया अगाडि बढ्दै गएको र मोडालिटीको विषयमा पनि छिट्टै टुंगिने लामिछानेले जानकारी दिए । सन् १९६० मै नेपालका ८ स्थान अध्ययन भएकोमा सवैभन्दा उपयुक्त स्थान निजगढलाई तोकिएको थियो । त्यसयता पटकपटक चर्चा हँुदै आए पनि ठोस कार्य भने हुन सकेको थिएन । 
ईआईए प्रतिवदेनमा रुख बिक्रीबाट ६९ अर्व १९ करोड ६५ लाख ८ हजार ४ सय ७५ रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । उक्त वनको रकमबाटै पहिलो चरणको काम हुने समेत अनुमान गरिएको छ । भने वनलाई २१ अर्व २१ करोड रूपैयाँ दिनुपर्ने उल्लेख गरिएको छ । 

 

विमानस्थल निर्माणको लागि आवस्यक ११ हजार ७ सय ७५ बिघा जग्गामध्ये ७ सय ५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी बस्ती रहेको छ । भने १ सय १० बिघा क्षेत्रफलको जग्गा व्याक्तिको नाममा रहेका छन । बाँकी १० हजार ९ सय १५ बिघा क्षेत्रफलमा घना जंगल रहेको छ । 
 

वि.स २०६४ मा मन्त्रिपरिषद् बैठकले विमानस्थल बुट मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनको लागि कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लू) लाई जिम्मा दिएको थियो । 
 

कम्पनीले सन् २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्षसहित पहिलो चरणको काम २०७० सम्ममा सम्पन्न गर्ने लक्ष्य दिएको थियो । तर, उक्त प्रतिवेदन थन्काउने काम त्यसयताका सरकारले गर्दै आएका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त विमानस्थल पहिलो र दोस्रो चरणमा निर्माण गर्ने सरकारको तयारी छ । ३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुने छ । उक्त धावनमार्गमा हाल विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरू उडान/अवतरण गर्न सक्छन् । 
 

निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्नसक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन् ।

स्रोत: https://karobardaily.com/news/country/7503

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More