पहिलो चौमासिकमा १ खर्ब ३९ अर्बको लगानी

November 26, 2019

तुलसी सुवेदी, अन्नपूर्ण पोष्ट, मङ्सिर १०, २०७६ 

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो चौमासिकमा उद्योगतर्फ एक खर्ब ३९ अर्ब १९ करोड लगानी भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा दर्ता भएका उद्योगको पुँजी एक खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ थियो। विभागका अनुसार २८ ठूला उद्योगमा ५६ अर्ब ४० करोड, ४९ मझौला उद्योगमा १० अर्ब ६१ करोड रुपैयाँ लगानी भएको छ। चार महिनाको अवधिमा लघु, घरेलु तथा साना उद्योगमा तीन अर्ब १८ करोड लगानी भएको छ। लगानी बोर्डमार्फत एक उद्योगको ६६ अर्ब ८० करोड लगानी स्वीकृति भएको हो।

उद्योग विभागका अनुसार नेपालमा अहिलेसम्म चार लाख उद्योग दर्ता छन्। यी उद्योगको पुँजी ३० खर्ब १५ अर्ब रुपैयाँ छ।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरेसँगै उद्योगमा लगानी बढेको बताए। सरकारले पछिल्लो समय विदेशी लगानी तथा प्रविधि ऐन, औद्योगिक व्यवसाय नियमावली, सार्वजनिक निजी साझेदारी ऐन, श्रम तथा सामाजिक सुरक्षासम्बन्धी ऐन, औद्योगिक व्यवसाय ऐन ल्याएको छ। सिटौलाका अनुसार उद्योगमा लगानीमैत्री वातावरण, एकल सेवा बिन्दु, लगानीकर्ता सहजीकरण केन्द्रको स्थापना गरेसँगै स्वदेशी तथा विदेशी लगानी बढेको हो। विभागले अनलाइन रजिस्ट्रेसन तथा पेमेन्ट, प्रदेशबाटै उद्योग दर्ता गर्ने प्रावधान ल्याएको छ।

विभागका अनुसार कात्तिकसम्म ८२ अर्ब ५७ करोड विदेशी लगानी स्वीकृति भएको छ। लगानी बोर्डबाट ६६ अर्ब ८० करोड र विभागबाट एक सय ३ उद्योगमा १५ अर्ब ७७ करोड लगानी भएको छ। दुई ठूला उद्योगमा ७५ करोड, ४४ मझौला उद्योगमा एक अर्ब २४ करोड, ५७ साना उद्योगमा ५ अर्ब ७८ करोड लगानी भएको छ। सोही अवधिमा विभागबाट ८ अर्ब ४८ करोड र लगानी बोर्डबाट ३८ अर्ब ६४ करोड स्वीकृति भएको छ। गत असारसम्म तीन खर्ब ८८ अर्ब २० करोड रुपैयाँ विदेशी लगानी स्वीकृति भएको थियो। त्यसमध्ये लगानी बोर्डले पाँच उद्योगमा ९५ अर्ब २० करोड रुपैयाँ स्वीकृति गरेको थियो। विभागले चार हजार आठ सय २२ उद्योगमा दुई खर्ब ९३ अर्ब विदेशी लगानी स्वीकृति गरेको थियो। तीन सय १ ठूला उद्योगमा एक खर्ब ९८ अर्ब विदेशी लगानी स्वीकृति भएको छ। गत आवमा चार हजार ६३ साना उद्योगमा ५७ अर्ब विदेशी लगानी भित्रिएको छ। त्यस्तै गत वर्ष चार सय ५८ मझौला उद्योगमा ३८ अर्ब विदेशी लगानी आएको थियो।

उद्योग विभागका अनुसार गत असारसम्म ३ लाख ८८ हजार पाँच सय ५० उद्योगमा २४ खर्ब ९२ अर्ब लगानी भएको छ। लगानी बोर्डमार्फत पाँच वटा उद्योगमा ९५ अर्ब २० करोड र उद्योग विभागमार्फत तीन लाख ८८ हजार पाँच सय ४५ उद्योगमा २३ खर्ब १७ अर्ब लगानी भएको हो।

विभागका निर्देशक विनोद खड्काले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र औद्योगिक व्यवसाय ऐनपश्चात विदेशी लगानी आउन थालेको बताए। ‘नीतिगत सुधारपश्चात विदेशी लगानी आकर्षित भएको छ’ उनले भने। लगानी सम्मेलन, स्थीर सरकारलगायत कारण पछिल्लो समय विदेशी लगानी आकर्षित भएको सरकारी अधिकारीहरू बताउँछन्।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सरकारले औद्योगिक वातावरण बनाएको दाबी गरे पनि अझै प्रक्रिया सरलीकृत हुन नसकेको बताए। ‘उद्योग दर्ता गर्न १० दिन होइन, दुई महिना लाग्छ’, उनले भने। अनलाइन प्रणालीसमेत प्रभावकारी नभएको उनको भनाइ थियो। सरकारले नवीकरणका लागि सजजीकरण गर्न नसक्दा उद्योगी मारमा परेको उनले बताए।

स्रोत: http://annapurnapost.com/news/141606

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More