पहिलो महिनामै ८० अर्ब व्यापार घाटा

August 31, 2017

कान्तिपुर दैनिक, १५ भाद्र २०७४ 

नयाँ आर्थिक वर्षको पहिलो महिनामै मुलुकको व्यापार घाटा ८० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो महिनाको तुलनामा यो वर्ष व्यापार घाटा २६ प्रतिशतले वृद्धि भएको हो । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा ७९ अर्ब ९९ करोड ७० लाख ९१ हजार रुपैयाँले व्यापार घाटा भएको हो । गत आर्थिक वर्षको साउनमा भने ६३ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँले व्यापार घाटा भएको थियो । तथ्यांकअनुसार पहिलो महिनामा नेपालमा ८६ अर्ब ७० करोड ४८ लाख ८६ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् । निर्यात भने ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँ मात्रै भएको हो । निर्यात साढे तीन प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ९५ करोड ८ लाख ११ हजार रुपैयाँको निर्यात भएको थियो ।

पहिलो महिना भएको व्यापार घाटाकै अनुपात चालु आर्थिक वर्षका महिनाभरि हुने हो भने यो वर्षको व्यापार घाटा झन्डै १२ खर्ब रुपैयाँ पुग्ने सम्भावना देखिन्छ । गत आर्थिक वर्षमा सवा ९ खर्ब रुपैयाँले व्यापार घाटा भएको थियो । स्वदेशी उत्पादन वृद्धि हुन नसक्नु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामानमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो । विगतमा झैं साउन महिनामा सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा भारत र चीन नै देखिएका छन् । 

विभागको तथ्यांकअनुसार भारतबाट ५५ अर्ब ७२ करोड ९६ लाख ६१ हजार रुपैयाँको सामग्री साउन महिनामा आयात भए । निर्यात भने ३ अर्ब ६३ करोड ९६ लाख ३४ हजार मात्रै भएको छ । जसले गर्दा भारतसँग व्यापार घाटा ५२ अर्ब ९ करोड २७ हजार रुपैयाँ पुगेको हो । त्यस्तै चीनबाट साउन महिनामा ११ अर्ब १५ करोड ४९ लाख ३१ हजार रुपैयाँका सामग्री आयात भएको छ । निर्यात भने १५ करोड ४० लाख ८८ हजार रुपैयाँ भएको हो । जसले गर्दा चीनसँग ११ अर्ब ८ लाख ४३ हजार रुपैयाँले पहिलो महिनामा व्यापार घाटा भएको छ । 

गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी व्यापार घाटा भारतसँग नै भएको थियो । वर्षभरिमा भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड २४ लाख ३८ हजार रुपैयाँको सामान आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । निर्यात भने ४१ अर्ब ६० करोड ३ लाख ७९ हजार रुपैयाँ मात्रै भएको थियो । उक्त आधारमा भारतसँग गत वर्ष व्यापार घाटा ५ खर्ब ९९ अर्ब ५७ करोड २० लाख ५९ हजार रुपैयाँ भएको हो ।

तथ्यांकअनुसार पहिलो महिनामा नेपालले ९८ मुलुकसँग व्यापार गरेको छ । यसमध्ये ८३ मुलुकसँग व्यापार घाटा भएको तथ्यांकले देखाउँछ । अर्थात् यी मुलुकहरूसँग नेपालले सामानहरू निर्यातभन्दा बढी आयात गरेको हो । अघिल्ला वर्षहरूमा समेत यस्तै प्रवृत्ति देखिने गरेको छ । गत वर्ष ३३ वटा मुलुकहरूसँग त १ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ । सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयासहरू गरे पनि उपलब्धि भने हासिल हुन सकेको छैन । सरकारले सुधारका प्रयासहरू सार्वजनिक गर्ने गरेको छ । 

वार्षिक विकास कार्यक्रम बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँ नयाँ नारा सार्वजनिक गर्छन् । तर, ती कार्यक्रमको सम्भाव्यता, प्रभावकारिता र अनुगमन भने सधैं फितलो हुने गरेको छ । व्यापार घाटा कम गर्न भन्दै १२ वर्षअघिबाट सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापना भएको छ । मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवद्र्धनात्मक कार्यक्रमसमेत भइरहेका छन् । तर, बेलाबेलामा सार्वजनिक भएको तथ्यांकअनुसार तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक छ ।

स्रोत : http://kantipur.ekantipur.com/news/2017-08-31/20170831071945.html

तस्बिर सौजन्य: https://www.tutorialspoint.com/indian_economy/indian_economy_open.htm

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More