पाँचथरबाट तीन अर्बको कृषि उपज बाहिरियो

August 15, 2017

अन्नपुर्ण पोष्ट, ३१ श्रावण २०७४ 

पाँचथरबाट कृषि उपज बाहिरिएपछि जिल्लाका व्यावसायिक किसानले तीन अर्ब रुपैयाँ भित्र्याएका छन्। कृषिको व्यवसायीकरणसँगै कृषि उपजको उत्पादनमा पनि वृद्धि भएको र त्यसलाई बाहिरी जिल्लामा समेत बिक्री गरेर यहाँका किसानले उक्त रकम भित्र्याएका हुन्।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाँचथरबाट करिब तीन अर्ब मूल्यबराबरको कृषि उपज बाहिरी जिल्लामा गएको छ। आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट २ अर्ब ९७ करोड ३४ लाख ६३ हजार ७ सय रुपैयाँबराबरको कृषि उपज बाहिरिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ९३ करोड ८६ लाख ३७ हजार पाँच सय बढी मूल्यको कृषि उपज जिल्लाबाट बाहिरिएको हो।

जिल्लामा पछिल्लो समय कृषि उपजको उत्पादन र बिक्रीमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए। ‘कृषिको व्यसायीकरणसँगै कृषि उपजको बिक्रीसमेत बढेको छ', उनले भने, ‘कृषि उपजको बिक्रीले किसानको आर्थिक उन्नति एवं जिल्लाको समग्र अर्थतन्त्रमा समेत ठूलो टेवा पु¥याएको छ।'

अघिल्ला वर्षको तुलनामा बीउबिजनको प्रयोग, अनुकूल मौसम, रोग व्यवस्थापन र खेतीमा प्रविधिको प्रयोगले कृषि उपजको उत्पादन र बिक्रीमा वृद्धि भएको हो। तथ्यांकअनुसार पाँचथरमा कृषि उपज बिक्रीमा सबैभन्दा ठूलो हिस्सा अलैंचीले ओगटेको छ।

गत आर्थिक वर्षमा अलैंची बिक्रीबाट मात्रै १ अर्ब ७ करोड ५३ लाख ८७ हजार रुपैयाँ भित्रिएको हो। त्यस्तै ७३ करोड ७८ लाख ५६ हजार रुपैयाँको आलु बिक्री भएको छ। १८ करोड ३६ लाख ७५ हजारको अकबरे खुर्सानी, ४२ करोड ३६ लाख १२ हजारको तरकारी, ३२ करोड ३२ लाख ५६ हजारको फलफूल, १ करोड १० लाख ६७ हजारको हिउँदे फलफूल, २० करोड ९२ लाख ४० को अदुवा र ९३ लाख ८० हजारको बर्खे फलफूल जिल्लाबाट बाहिरी जिल्लामा पठाइएको छ। पाँचथरमा उत्पादित अधिकांश कृषि उपज झापाको बिर्तामोड बजारमा पठाइन्छ ।

स्रोत: http://annapurnapost.com/news/77718

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More