कान्तिपुर संवाददाता, कान्तिपुर दैनिक, माघ २६ २०७४
मुलुकका ५ वर्षमुनिका करिब ६ प्रतिशत बालबालिका अझै पनि आयोडिनयुक्त नुनको पहँुच बाहिर रहेको तथ्यांकले देखाएको छ ।
फेब्रुअरी महिनालाई आयोडिन महिना मनाउने क्रममा साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय बिहीबार वीरगन्ज कारागारस्थित समता स्कुलमा आयोजना गरेको जनचेतना अभियानमा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।
विद्यालयका बालबालिकाका आयोडिनयुक्त नुनको महत्त्व र प्रयोगबारे जानकारी दिन आयोजित जनचेतनामूलक कार्यक्रममा कर्पोरेशनका अधिकृत शुभकान्त दत्तले सन् २०१६ मा ‘नेशनल डेमोक्रेसी हाउस होल्ड सर्भे’ अनुसार मुलुकका ५ वर्षमुनिका कुल बालबालिकामध्ये ९४ दशमलव ५ प्रतिशतले आयोडिन युक्त नुन प्रयोग गरिरहेको बताए । उनले यस क्षेत्रमा जारी प्रयासले आउँदो १ दशकभित्र मुलुकको शत प्रतिशत जनसंख्याको पहुँचमा आयोडिनयुक्त नुन पुगी सक्ने दाबी गरे ।
सीमावर्ती भारतीय बजारहरूमा अझै पनि खुला नुन बिक्री हुने र धेरै भारतीयले चेतनाको अभावमा खुला नुन नै प्रयोग गरी रहेको अवस्थामा सीमातर्वी नेपाली गाउँका बासिन्दाहरूले पनि त्यसको सिको गर्ने गरेका छन् । जिल्ला सदरमुकाम र आसपासका गाविसहरू भन्दा विशेष गरी सीमावर्ती बजारहरूमा भारतबाट खरिद गरेर ल्याइने खुला नुन प्रयोग गर्ने चलन रहेकाले कर्पोरेशनले त्यस्ता बजारलाई लक्षित गरी आयोडिनयुक्त प्याकेट नुनको प्रयोग बढाउन आफ्ना लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
उनले भने, ‘यस्ता उपभोक्तालाई लक्षित गरी कर्पोरेशनले नियमित रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ यस्ता कतिपय उपभोक्ताले स्वदेशी आयो नुनभन्दा महँगो भारतीय आयोडिनयुक्त नुन किनेर पनि खाइरहेकोमा कर्पोरेशनले भारतबाटै किनेर ल्याएको कच्चा नुन प्रशोधन गरी भारतीय गुणस्तरकै तथा तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध गराई रहेको कुरा बुझाएपछि भारतीय नुनको सेवन पनि कम हुँदै गएको दत्तले बताए । दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सबैभन्दा पहिले करिब ४ दशकअघि आयोनुनको सेवन सुरु गरिएको थियो । कर्पोरेशनका सहायक सन्जय कुमार गुप्ताले आयोडियुक्त नुन खाँदा शारीरिक वृद्धि हुने बाम पुड्के नहुने, गलगाँड रोग नलाग्नेजस्ता फाइदा हुने बताए । कर्पोरेशन अञ्चल कार्यालयले मात्रै वर्षेनीपर्सादेखि सर्लाही म्मका जिल्लामा गरी १ लाख किलोभन्दा बढी आयोनुन बिक्री गर्दै आएको छ ।
उक्त अवसरमा आयोडिनयुक्त नुनको प्रचारप्रसारका लागि बालबालिकालाई स्कुल व्यागसमेत वितरण गरिएको थियो ।
स्रोत: www.kantipurdaily.com/pradesh-2/2018/02/09/20180209110813.html