पाँच महिनामा सवा आठ लाख केजी प्याज आयात

December 16, 2019

हिमनाथ देवकोटा, नागरिक, मङ्सिर ३०, २०७६ 

रसुवा - रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पाँच महिनामा आठ लाख २३ हजार एक सय ९० केजी प्याज आयात भएको छ। साउनदेखि मंसिर २८ गतेसम्मको तथ्यांक अनुसार चार करोड २२ लाख ६५ हजार पाँच सय ३७ रुपैयाँ मूल्य बराबरको प्याज आएको हो।

रसुवागढी नाकाबाट असोजअघि लसुन मात्रै आयात हुने गरेको थियो। भारतबाट प्याजको आयातमा कमी आएसँगै चीनबाट आयात बढेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। मागको तुलनामा नेपालमा प्याज उत्पादन भएको छैन। जसको कारण भारतबाट प्याज आयात हुने गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार भारतबाट ९५ प्रतिशत र चीनबाट पाँच प्रतिशत प्याज आयात हुन्छ।

गत आर्थिक वर्ष २०७५/७६ मा भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको थियो। नेपालीको भान्छामा पाक्ने कुल प्याजको परिमाणमध्ये झन्डै ९८ प्रतिशत आयात हुने गरेको विभागले जनाएको छ।  २०७१ देखि रसुवागढी नाकामा कारोबार सुरु भएको हो। त्यसयता चीनबाट तेल, फलपूmल, रेडिमेड सामग्री, इलेक्ट्रिक सामग्री, निर्माणका सामग्री आयात हुँदै आएको छ।

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्री आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तुहरु निकासी हुने गरेको छ।

२०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/107781/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More