News

पाँच सय उद्योगमा १५८ अर्ब लगानी

July 14, 2017

नविन अर्याल, अन्नपुर्ण पोस्ट, ३० असार २०७४ 

मुलुकमा व्यावसायिक वातावरण नसुध्रिएको गुनासो आइरहेका बेला स्वदेशी तथा विदेशी लगानीमा दर्ता भएका उद्योग/परियोजना बढेका छन् । चालू आर्थिक वर्ष उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका चार सय ८९ परियोजना दर्ता भएका छन् । यी परियोजनाको कुल पुँजी एक खर्ब ५८ अर्ब २४ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षमा एक खर्ब २१ अर्ब रुपैयाँ कुल पुँजीका चार सय नौ उद्योग दर्ता भएका थिए । गत वर्षको तुलनामा यस वर्ष लगानी ३७ अर्बले बढी हो । यो वर्ष कृषि तथा वन, निर्माण, सूचना प्रविधि, ऊर्जा, सेवा र पर्यटन क्षेत्रमा लगानी बढेको छ । दर्ता भएका परियोजनामा स्वदेशी लगानी बढी छ । अहिलेसम्म उद्योग विभागमा सात हजार ७३ उद्योग दर्ता भएको देखिन्छ । यी परियोजनाको कुल पुँजी १३ खर्ब २७ अर्ब ६५ करोड रुपैयाँ छ ।

               

उद्योग विभागमा कृषि तथा वनजन्य परियोजना २४ वटा दर्ता भएका छन् । तीनवटा निर्माणसम्बन्धी परियोजना दर्ता हुँदा ऊर्जाका १९ वटा, सूचना प्रविधिका १३, उत्पादनमूलक एक सय १७, खनिजजन्य तीन, सेवामूलक एक सय ६० र पर्यटनका एक सय ५० परियोजना दर्ता भएको देखिन्छ । गत वर्षको तुलनामा ८० वटा परियोजना बढी दर्ता भएका हुन् ।

ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानीका परियोजना दर्ता भएका छन् । दर्ता भएका १९ परियोजनाको कुल पुँजी ८२ अर्ब २० करोड छ । गत वर्ष उत्पादनमूलक परियोजनामा लगानी बढी थियो । दर्ता भएका एक सय ३५ उत्पादनमूलक परियोजनामा ५८ अर्ब ६६ करोड रुपैयाँ कुल पुँजी रहेको थियो । यस्तै, ऊर्जा (३८ अर्ब), सेवा (१२ अर्ब) र पर्यटन (११ अर्ब) क्रमशः दोस्रो, तेस्रो र चौथो थिए ।

यस वर्ष सबैभन्दा बढी परियोजना सेवा (१६०) र पर्यटन (१५०) क्षेत्रका दर्ता भएको उद्योग विभागले जनाएको छ । यिनको क्रमशः १४ अर्ब ९५ करोड र १४ अर्ब ८७ करोड कुल पुँजी छ । उत्पादनमूलक एक सय १७ परियोजनामा ४० अर्ब ३२ करोड कुल पुँजी रहेको छ । दर्ता भएका उद्योगमध्ये काठमाडौंमा दुई सय १०, ललितपुरमा ६१, कास्कीमा ३३, चितवनमा १७, रूपन्देहीमा १५ र बाँकी अन्य जिल्लामा छन् । यो वर्ष दर्ता भएका परियोजनाले २५ हजार ७८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

विदेशी लगानी प्रस्ताव घट्यो

सरकारले फागुनमा धुमधामसँग लगानी सम्मेलन आयोजना गर्‍यो । साढे दुई सय विदेशी लगानीकर्ता सहभागी सम्मेलनमा करिब १४ खर्ब बराबरको लगानी गर्ने इच्छासमेत व्यक्त भएको थियो । तर, सरकारले विदेशी लगानीकर्ताको इच्छालाई लगानीमा परिणत गर्न सकेन । सम्मेलन गरेकै वर्ष विदेशी लगानी प्रतिबद्धता घटेको छ । विदेशी लगानीकर्ता अझै पनि ‘पर्ख र हेर'को अवस्थामा छन् ।

उद्योग विभागले यस वर्ष १४ अर्ब ६१ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव स्वीकृत गरेको छ । जबकी अघिल्लो वर्ष १५ अर्ब २५ करोड लगानी स्वीकृत गरेको थियो । यो वर्ष ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता आएन । गत वर्ष ऊर्जा क्षेत्रमा एक अर्ब ८४ करोड लगानीको प्रतिबद्धता आएको थियो ।
यो वर्ष लगानी बोर्डमा एउटा पनि विदेशी लगानीका परियोजनाको प्रस्ताव आएन । ठूलो लगानीका परियोजना लगानी बोर्डले स्वीकृत गर्छ । उद्योग विभागले दुई अर्बसम्मको विदेशी लगानी स्वीकृत गर्दै आएकोमा दायरा बढाएर पाँच अर्बसम्म पुर्‍याइएको छ । दुई अर्बभन्दा माथिको लगानी औधोगिक प्रवद्र्धन बोर्डले स्वीकृत गर्दै आएको थियो ।

‘नेपालमा सानो लगानी आउन खासै समस्या छैन तर ठूलो लगानी भित्र्याउन धेरै फर्मालिटी खोज्दा रहेछन्', लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अन्नपूर्णसँग भन्नुभयो, ‘ठूला लगानीकर्ताले विदेशी लगानीका परियोजना कसरी चलिरहेका छन्, प्रगति के छ, लगानी गर्न के कस्ता समस्या छन्, सबै हेर्दा रहेछन् ।' विज्ञका अनुसार नेपालमा अझै ठूलो लगानी भित्र्याउने वातावरण बनिसकेको छैन । नेपालीहरू विकासका लागि अझै मानसिक रूपमा तयार भइनसकेको उनीहरूको जिकिर छ ।

लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताबाट आठ अर्ब ३० करोड अमेरिकी डलर, बंगलादेशबाट दुई अर्ब ४० करोड डलर, जापान र बेलायतबाट एक÷एक अर्ब डलर, जापानबाट ५० करोड डलर र श्रीलंकाबाट ३१ करोड ७० लाख डलर लगानी गर्ने इच्छा व्यक्त गरेका थिए । यो लगानी भित्र्याउन निरन्तर ‘फलो अप' गरिरहेको अधिकारीले जानकारी दिनुभयो । ‘हामीसँग सम्भाव्यता अध्ययन गरिसकेका तयारी परियोजना नहुँदा पनि लगानी भित्र्याउन समस्या परिरहेको छ', उहाँले भन्नुभयो ।

नेपालमा कृषि, पर्यटन, जलविद्युत्, पूर्वाधारलगायत ठूलो लगानीको सम्भावना छ । लगानीको भर्जिन मुलुकमा प्रतिफल पनि उच्च नै हुन्छ । तर, विदेशी लगानीकर्ता लगानीका लागि तयार देखिएका छैनन् । पछिल्लो पाँच वर्षको विदेशी लगानीको तथ्यांक हेर्दा सबैभन्दा कम प्रतिबद्धता यस वर्ष आएको छ ।
नेपालमा सबैभन्दा बढी लगानी भित्र्याउनेमा भारत र चीन अग्रस्थानमा छन् । चीनबाट ठूला परियोजनाभन्दा साना होटेल रेस्टुरेन्टमा बढी लगानी आएको छ । यो वर्ष हङकङको वाइस पिस डेभलपमेन्ट कम्पनीले काठमाडौंमा लक्जरी होटेल खोल्न उद्योग विभागबाट स्वीकृति लिएको छ । कम्पनीले दुई अर्ब लगानीमा वाल्डो डाइनेस्टी होटेल खोल्न लागेको हो । यस्तै, भारतीय बिस्कुट कम्पनी ब्रिटानियाले पनि नेपालमा बिस्कुट उत्पादनका लागि उद्योग विभागबाट स्वीकृत लिइसकेको छ ।

स्वदेशी लगानी विस्तार

मुलुकमा स्वदेशी लगानी परिचालन भने बढ्दै गएको देखिन्छ । विदेशी लगानी प्रतिबद्धता घटिरहँदा पनि समग्र लगानीको परिमाण र उद्योग दर्ताको संख्या बढिरहनुले स्वदेशी लगानी बढेको पुष्टि हुन्छ । मुलुकमा लगानीको वातावरण नभएको गुनासो गर्दै लगानी विस्तारमा स्वदेशी व्यवसायी तल्लीन छन् । पुराना व्यावसायिक घरानाले क्षमता विस्तार गर्ने र नयाँ उद्योग लगाउन व्यस्त देखिन्छन् । साथै, उद्योग व्यवसायमा नयाँ अनुहार पनि थपिँदै छन् ।

होटेल, सिमेन्ट, डन्डी, सूचना प्रविधि, स्कुल/कलेज, हस्पिटल, ऊर्जा, खाद्यन्न उद्योगमा स्वदेशी लगानी बढ्दै गएको छ । पछिल्लो समय कृषिमा पनि नेपालीले ठूलो लगानी गरिरहेको देखिन्छ । एउटै फार्ममा अर्बभन्दा बढी लगानी हुन थालेको छ । तर, सबैभन्दा बढी लगानी होटेलमै हुन लागेको छ । सन् २०२० सम्म तारे होटेलमा मात्रै चार हजार कोठा थपिँदैछन् । जुन होटेलमा मात्रै झन्डै आधा खर्ब लगानी हुँदैछ । ठूला व्यावसायिक घरानाले व्यवसाय विस्तारको पहिलो विकल्प हस्पिटाटिली बिजनेसलाई बनाउन थालेका छन् ।

स्रोत : http://annapurnapost.com/news/75222