पाटन नगरपालिकाको बजेट ४८ करोड

September 21, 2017

भगिरथ अवस्थी, अन्नपुर्ण पोस्ट, ०४ असोज २०७४ 

बैतडी: बैतडीको पाटन नगरपालिकाले चालू आर्थिक बर्षका लागि ४८ करोड ५९ लाख १२ हजार ७४ रुपैयााको बजेट पारित गरेको छ। नगरपालिकाको प्रथम नगरसभाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले भने ‘मंगलबार बसेको नगरसभाले निती तथा कार्यक्रमका साथै बजेट पारित गरेको छ । नगरपालिकाको बजेटलाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय पनि भएको छ।'

नगरपालिकाका सबै वडाका केन्द्रमा सडक पुर्याउने उद्देश्य सहित सडक निर्माणका लागि झण्डै ३ करोड बजेट विनियोजन गरिएको प्रवक्ता भण्डारीले बताए। नगरपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने र निजीश्रोतका शिक्षकहरुको व्यवस्थापन गर्ने उद्देश्य सहित नगरशिक्षक राख्ने कुरा नगरसभाले पारित गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

उनले भने ‘नगरपालिकाभित्र ६३ ओटा विद्यालयहरु रहेका छन्। ती विद्यालय निजीश्रोतबाट पनि चलिरहेका छन् । निजीश्रोतबाट सञ्चालन भइरहेका विद्यालयमा नगरशिक्षकको व्यवस्था गर्ने हिसाबले १ करोड बजेट पारित गरेका छौं।'

यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्वास्थ्यचौकी नभएका वडाहरुमा स्वासथ्यचौकी विस्तार गर्ने, अनमी राख्ने निर्णय पनि गरेको छ । यसका लागि करीब १ करोडको बजेट विनियोजन गरेको छ।

कृषि तथा उद्यमशीलतालाई महत्व दिदै कृषिका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने नगरसभाले निर्णय गरेको छ । यस्तै नगरसभाले नगरपालिकाको दीर्घकालिन सोच बनाएर अघि बढ्ने निर्णय समेत गरेको छ। पाटन नगरपालिकाभित्र पाटन नयाँ शहर पनि भएकाले यसको विकास र विस्तारका लागि पनि पहल गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले जानकारी दिए।

स्रोत: 

http://annapurnapost.com/news-details/80743

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More