News

पाम आयल प्रतिबन्धले निर्यात घट्यो

February 26, 2020

पवन तिमल्सिना, अन्नपूर्ण पोष्ट, १३, फाल्गुन, २०७६ 

काठमाडौं : सरकारको नीतिगत सुधारले निर्यात वृद्धि भएको भन्ने विश्लेषण गलत साबित भएको छ। आर्थिक वर्षको सुरुमा उच्च वृद्धि भएको निर्यातमा पछिल्ला महिना क्रमशः ‘ब्रेक’ लागेको छ। नेपालमा खेती नहुने पाम आयलको निर्यात वृद्धिले चालु आर्थिक वर्षको पहिलो पाँच महिना समग्र निकासी व्यापार बढाएको थियो। तर, पुस २३ मा भारतले आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात व्यापार ओरालो लागेको हो।

सुरु पाँच महिनामा आन्तरिक उत्पादनलाई बढावा दिने गरी सरकारको नीतिगत सुधारले निर्यात वृद्धि भएको भन्ने विश्लेषण गलत साबित भएको छ। पाम आयलको निकासी रोकिएसँगै मुलुकको निर्यात व्यापार पुरानै लयमा फर्किएको छ। साउनमा ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। भदौमा ११ अर्ब ५८ करोड रुपैयाँ बढेर दुई महिनाको निर्यात १८ अर्ब ५० करोड रुपैयाँ पुग्यो। पोहोरको दुई महिनाको तुलनामा २५ प्रतिशत बढी देखिएपछि सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीतिको परिणामस्वरूप निर्यात बढेको भन्दै विश्लेषण गरेको थियो। निर्यातवृद्धिको एउटै कारण थियो, पाम आयल। नेपालमा उत्पादन नहुने पाम आयल व्यवसायीले विदेशबाट ल्याएको कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गरिरहेका थिए।

पुस २३ यता नेपालको पाम आयल निर्यात ठप्प छ। माघ २५ मा निश्चित आयातकर्तालाई अनुमतिपत्र दिएर पाम आयलको आयात खोल्नेमा भारतले सहमति जनाए पनि हालसम्म पाम आयलको निर्यात बढेको छैन। भन्सार विभागको तथ्यांकअनुसार माघ महिनामा पाम आयलको निर्यात शून्य रह्यो।

भदौमा अत्यधिक वृद्धि भएको निर्यात असोजमा घटेको थियो। भदौमा ११ अर्ब ५८ करोड रुपैयाँ निर्यात भएकामा असोजमा ८ अर्ब ६६ करोड मात्रै निर्यात भएको थियो। यद्यपि, असोजयता निर्यात व्यापार क्रमशः बढ्दै गयो। मंसिरमा मात्रै ११ अर्ब ३३ करोड रुपैयाँको निर्यात भयो। मासिक वृद्धि भइरहेको निर्यात मंसिरयता ओरालो लागेको छ।

प्रमुख निकासीमा भटमासको तेल
भटमासको आन्तरिक उत्पादनको तुलनामा निकै बढी देखिने गरी सोयाबिन तेल, पिनालगायत निर्यात भइरहेको छ। माघमा मात्रै एक अर्ब ५६ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिना (साउन-माघ) मा पाम आयलको निर्यात झण्डै ६ अर्ब रुपैयाँ रहेको छ। नेपालका तुलनात्मक र प्रतिस्पर्धी लाभका उत्पादन भनिएका कार्पेट, यार्न (धागो), जुटभन्दा सोयाबिनको निकासी वृद्धि भएको देखिन्छ।

गत वर्ष प्रमुख दश निर्यातजन्य वस्तुको सूचीमा समेत नपरेको भटमासको तेलले यो आर्थिक वर्षमा अग्र स्थान लिएको छ। ६ महिनामा पाम आयलपछि बढी भटमासको तेल निकासी भएको थियो। पाम आयलको निर्यात रोकिएसँगै भटमासको तेलले कुल निर्यातमा ठुलो योगदान दिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार भटमासको तेलका लागि एक अर्ब ७० करोड रुपैयाँ बराबरको कच्चा पदार्थ मात्रै आयात भएको छ।

आयात पनि घट्यो
विकास निर्माणका काम सुस्त बनेपछि सिमेन्ट क्लिंकरको आयातमा ठूलो गिरावट आएको छ। गत आर्थिक वर्षको ७ महिनामा चार अर्ब २७ करोड रुपैयाँको क्लिंकर आयात भएको यो आवमा जम्मा एक अर्ब १४ करोड रुपैयाँ मात्रै आयात भएको छ।

पोहोरको तुलनामा डिजेलको आयातमा पनि कमी आएको छ। यस अवधिमा १४ अर्ब ७९ करोड रुपैयाँ डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा यो १५ अर्ब ५४ करोड रुपैयाँ थियो। विकास निर्माणमा प्रयोग हुने डोजर, टिफर र मिक्स्चरमा अत्यधिक डिजेल खपत हुने गरेको छ। यद्यपि, विकासका काम सुस्त भएपछि डिजेलको खपत कम भएको हो।

गत आर्थिक वर्षको तुलनामा यो आवमा विकास खर्च न्यून देखिएको छ। गत आवको ६ महिनामा १७ प्रतिशत पुँजीगत खर्च भएकोमा यो आव १३.५ प्रतिशत मात्रै छ। यसले विकास निर्माणमा मन्दी आएको स्पष्ट देखिन्छ।

पेट्रोल आयातमा भने वृद्धि भएको छ। समीक्षा अवधिमा ११ अर्ब अर्ब रुपैयाँ आयात भएको छ। गत आवमा १० अर्ब रुपैयाँ मात्रै आयात भएको थियो।

स्रोत: http://annapurnapost.com/news/148854