पुनर्निर्माणको काम ८१ प्रतिशत

July 07, 2019

नागरिक, असार २२, २०७६ 

खोटाङ – खोटाङमा भूकम्पपछिको पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ। भूकम्प गएको चार वर्ष बित्दा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको हो।

कुल आठ हजार चार सय ४३ लाभग्राहीमध्ये तीन हजार ९ सय ३६ लाभग्राहीलाई तेस्रो किस्ता, पाँच हजार ९ सय ३६ लाभग्राहीलाई दोस्रो किस्ता र आठ हजार चार सय १३ लाभग्राहीलाई पहिलो किस्ता वितरण गरिसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। पुनर्निर्माण सुरु हुनुअघि बनेका ९ सय ४२ घर, पुनर्निर्माणपछिका आवास तथा अन्य भौतिक संरचनाको प्रगति हेर्दा पुनर्निर्माणको काम ८१ प्रतिशत सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए। घरविहीन बनेका लाभग्राहीलाई २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण सुरु गरिएको थियो।

यस्तै एक लाख अनुदान प्राप्त हुने प्रबलीकरणतर्फका दुई सय ५३ लाभग्राहीमध्ये सबैले सम्झौता गरिसकेको जनाइएको छ। प्राधिकरणका अनुसार जिल्लामा १० हजार ६ सय ६७ जनाको गुनासो दर्ता भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बेलामा पर्याप्त इन्जिनियर पठाउन नसक्दा, पठाइएका इन्जिनियर पनि काम छाडेर हिडेका, प्राविधिक मूल्यांकनका क्रममा डाटा इन्ट्रि गर्ने ट्याब पर्याप्त मात्रामा व्यवस्था नहुँदा र जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना नहुँदा आवास निर्माणको काम अपेक्षित हुन नसकेको पीडितको गुनासो छ। भूकम्पका कारण खोटाङमा १३ हजार सात सय ९९ घरमा क्षति पुगेको तथ्यांक छ। अहिले दोर्पा चिउरीडाँडा र विजयखर्कको एकीकृत बस्ती, आठओटा गुम्बा पुनर्निर्माण, १० वटा गुम्बाको मर्मत र दुई सय ६५ विद्यालय पुनर्निर्माणको काम भइरहेको छ। भूकम्पका कारण जिल्लाका १८ सरकारी भवनमा पूर्ण र ५५ ओटामा आंशिक क्षति पुगेको थियो।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/81827/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More