News

पुनहिलमा पर्यटकको घुइँचो

October 18, 2017

सन्तोष गौतम, कारोबार आर्थिक दैनिक, ०१ कार्तिक २०७४

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पुनहिलमा केही दिनयता हिमशृङ्खला र सूर्योदयको दृश्य अवलोकन गर्न आएका पर्यटकको घुइँचो लागेको छ । 

समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिजोआज दैनिक ५०० जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् । सरद ऋतुको सुरुवातसँगै पुनहिलको प्रवेशद्धारमा पर्ने घोडेपानीमा रहेका होटलहरू पर्यटकको आगमन वृद्धिसँगै भरिभराउ भएका छन् । 

दैनिक २५० जना बाह्य र त्यतिकै संख्यामा आन्तरिक पर्यटक भ्रमणमा आउने गरेको घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख वीरेन्द्र महतोले बताए । कार्यालयका अनुसार, वि.सं.०७४ वैशाखदेखि असोजसम्म २० हजार जना विदेशी पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । 

तथ्यांक नराखिए पनि काठमाडांै, चितवन, पोखरालगायत देशका विभिन्न ठाउँबाट भ्रमणमा आउने आन्तरिक पर्यटकहरूको चापसमेत बढेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए । 
    
कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा भएर घोडेपानी पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटकहरू सूर्योदय र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन एकाबिहानै करिब एक घण्टा पैदल हिँडेर पुनहिल पुग्छन् । 

घना गुँरासे जंगलको बीचमा रहेको थुम्कोमा अवस्थित पुनहिलबाट सूर्योदयका साथै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गुर्जा, चुरेन, निलगिरिलगायतका १६ वटा हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । नवलपरासीको गैंडाकोटबाट कलेजका ६० जना साथिहरूसँगै भ्रमणमा आएकी रजनी विश्वकर्माले पदयात्राको क्रममा भएको थकान र दुःखलाई पुनहिलको सौन्दर्यले भुलाएको अनुभव सुनाइन् ।   

पर्यटकको आवास सुविधाका लागि घोडेपानीमा दैनिक ७ सय जना क्षमताको २२ वटा होटल सञ्चालनमा छन् । परम्परागत होटलहरूलाई आधुनिकीकरण, सुविधा थप र क्षमता विस्तार भइरहेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले बताए । घोडेपानीमा बास बस्न दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म न्यूनतम बजेट आवश्यक पर्छ । 

असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम हो । पुस–माघमा हिउँ खेल्न र चैत–वैशाखमा पाखाभरी ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको थप आकर्षण हो ।  पोखरादेखि नजीक र छोटो अवधिमा भ्रमण गर्न सकिने भएकाले घोडेपानी पुनहिल पर्यटकको रोजाइमा परेको पथप्रदर्शक अमृत सुवेदीले बताए । 

पोखरादेखि नयाँपुल हुँदै तिखेढुंगासम्म सवारी साधन र त्यहाँबाट पदयात्रा गरि एक दिनमा घोडेपानी पुगिन्छ । घोडेपानी घान्द्रुक भएर धेरैजसो पर्यटक अन्नपूर्ण बेसक्याम्पसम्म पुग्ने गरेका छन् । 

स्रोत: https://www.karobardaily.com/news/82898