पूर्वको व्यापारघाटा सवा ८६ अर्बभन्दा बढी

March 26, 2018

मीनकुमार नवोदित, कारोबार, आइतवार, चैत्र ११, २०७४

सरकारले लगानी भित्र्याएर रोजगारी सिर्जना र व्यापारघाटा कम गर्ने बताइरहेका बेला पूर्वको व्यापारघाटाको तथ्यांकको उचाइ भने बढ्दै गएको छ । 
सबैजसो दलले चुनावी घोषणापत्रमा औद्योगिक वातावरण सिर्जना गरी व्यापारघाटा कम गर्ने उल्लेख गरेका छन् । त्यतिमात्रै होइन स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि प्रमुखताका साथ उठाएका छन् । तर, चालू आर्थिक वर्षको ६ महिनामा पूर्वकोमात्र झण्डै १ खर्ब व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ८६ अर्ब २७ करोड ६३ लाख व्यापारघाटा पुगेको छ । व्यापारघाटा रोक्नका लागि सरकारले प्रभावकारी कदम नचाहेको उद्योगीहरू बताउँछन् । 


पूर्वको व्यापारघाटा निरन्तर बढेको कार्यालयको तथ्यांकमा उल्लेख छ । गत वर्षभन्दा यो वर्ष व्यापारघाटा अझै बढ्ने सम्भावना बढेको छ । पूर्वका विभिन्न नाकाबाट १ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ बराबरका वस्तुहरू आयात भएको छ । आयात भएका वस्तुमध्ये करिब ६१ अर्बको वस्तुहरू भारतबाट आयात भएको छ । तथ्यांकअनुसार नेपालबाट १५ अर्ब ८१ करोड ९१ लाख ९५ हजार रुपैयाँका वस्तुहरूमात्रै निर्यात भएको छ । “व्यापारघाटा बढ्दै जानु अवश्य पनि मुलुकका लागि राम्रो होइन,” कार्यालयका प्रमुख कृष्ण रेग्मी भन्छन्, “यो त ६ महिनाको घाटा हो । पूरै आर्थिक वर्षभरि डेढ खर्ब नाघ्ने अवस्था छ ।” 
सबैभन्दा बढी २ अर्ब ५९ करोड रुपैयाँको धागो र टेक्सटाइल निर्यात भएको छ । यस्तै, २ अर्ब ५८ करोड रुपैयाँको आइरन एण्ड स्टील्सका सामान, २ अर्ब ५५ करोडको अलैंची, १ अर्ब ९१ करोडको चिया, १ अर्ब ३ करोडको जुटका बोरा, १ अर्ब ६३ करोडको जुट, ४५ करोडको मुसुरो, १२ करोड रुपैयाँको भैंसीको मासु निर्यात भएको छ । प्रमुख रेग्मीका अनुसार ६ महिनाको अवधिमा पूर्वी नाकाबाट १७ अर्ब रुपैयाँको आइरन एण्ड स्ट्रील्सका सामान आयात भएको छ । यस्तै १४ अर्ब ३५ करोड रुपैयाँको पेट्रेलियम, ६ अर्ब ५३ करोडको जनावरको बोसो, ४ अर्ब ४९ करोडको गेडागुडी, ६ अर्ब ७३ करोडको प्लाष्टिक अयात भएको छ । ४ अर्ब २७ करोडको खाद्यमल, ४ अर्ब ८८ करोडको मेसिनरी ३ अर्ब ८२ करोडको दाल, ३ अर्ब २७ करोडको चिनी आयात भएको छ । 
व्यापारघाटा कम गर्न स्वदेशमै खाद्यान्न उत्पादन बढाउनुपर्ने र अनावश्यक मालवस्तुको आयात रोक्नुपर्नेमा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जोड दिए । “सरकारले अब निर्यातमूलक क्षेत्रमा लगानी गरेर व्यापारघाटा कम गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ,” सारडाले भने, “अहिले रेमिट्यान्सबाट मुलुक चलिरहेको छ । यदि रेमिट्यान्स रोकिने हो भने मुलुकको अर्थतन्त्र डामाडोल हुने अवस्था छ ।” लोडसेडिङ, बजार र मजदुर अभावको कारण देखाउँदै ठूला उद्योगीसमेत शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका सेवामूलक क्षेत्रमा लगानी गर्न थालेका छन् । 
पूर्वबाट चीन, मलेसिया, बंगलादेश, भुटान, रसिया, तान्जेनिया, इण्डोनेसियालगायतका दुई दर्जन बढी देशसँग व्यापार हुनेछ । आर्थिक वर्ष ०७३-७४ मा पूर्वको व्यापारघाटा १ खर्ब २० अर्ब थियो । गत वर्ष पूर्वबाट २६ अर्ब रुपैयाँ बराबरका वस्तुहरू निर्यात भएको थियो । गत वर्ष १ खर्ब ४७ करोड रुपैयाँको वस्तुहरू विश्वका विभिन्न देशबाट आयात गरिएको थियो । पूर्वको विराटनगर, काँकडभिट्टा, पशुपतिनगर, भान्टाबारी नाकाबाट आयात हुने गरेको छ । यसमध्ये विराटनगर नाकाबाट बढी आयात हुन्छ ।

स्रोत: https://karobardaily.com/news/economy/3428

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More