News

पूर्वाधारमा रू. ९ अर्ब लगानी

February 16, 2018

आर्थिक अभियान, फागुन ४, २०७४

काठमाडौं । नगर विकास कोषले हालसम्म १ हजार २ सय २१ ओटा संरचना निर्माणका लागि रू. ८ अर्ब ९७ करोड लगानी गरेको छ । कोषले ३०औं वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित कार्यक्रममा नगरपालिका तथा नगरोन्मुख शहरहरूमा पूर्वाधार विकास गर्दा उक्त रकम खर्च भएको जानकारी दिएको हो । कार्यक्रममा निवर्तमान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक स्थायित्वको बाटो खुलेको भन्दै आर्थिक समृद्धि नै पहिलो प्राथमिकता रहेको बताए । नगरपालिकाको पूर्वाधार विकासले नै आर्थिक समृद्धि हासिल गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

कोषका अध्यक्ष धुव्र रिजालले आगामी दिनमा स्थानीय तहमा रहेका नगरपालिकाहरूसँग सहकार्य गरी नगरपालिकाका पूर्वाधार विकासमा सहयोग गर्ने बताए ।

६० प्रतिशतभन्दा बढी शहरी जनसङ्ख्याले ओगटिसकेको भन्दै कोषले नगरको पूर्वाधार विकास योजना, जनशक्ति र स्रोतका हिसाबले अत्यन्त चुनौती रहेको बताएको छ । मुलुक सङ्घीयता कार्यान्वयनमा गइसकेको अवस्थामा नगरपालिकाहरू एकीकृत योजनाको विकास र सोहीअनुसारको पूर्वाधारमा केन्द्रित हुन आवश्यक भएको उल्लेख गरिएको छ । कोषले नगरपालिकाको पूर्वाधार विकास, खानेपानी तथा सरसफाइमा लगानी गर्दै आएको छ । सो अवसरमा कोषमार्फत लगानी भएका आयोजनालाई ऋण भुक्तानी र उपभोक्ता संस्थालाई सम्मान
गरिएको थियो ।

स्रोत: www.abhiyan.com.np/2018/02/16/180762