पूर्वाधार नहुँदा गाउँ जान सकेनन् बैंंक

January 29, 2018

अन्नपुर्ण पोस्ट, १४ माघ २०७४

बझाङको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकाबाहेक अन्य ११ वटा स्थानीय तहमा पूर्वाधार नभएको भन्दै बैंक त्यहाँ जान मानेका छैनन् । स्थानीय निकायको निर्वाचन सकिएपछि प्राइभेट बैंकहरूले बझाङका गाउँपालिका केन्द्रमा गएर बैंक राख्न सक्ने अवस्थाबारे बुझेका थिए । यसअघि पनि बैंकिङ कारोबार गर्न जिल्ला सदरमुकाम आउने गरेको र हाल पनि जिल्लामै धाउनु परेपछि बैंक गाउँमा आउनु पर्ने माग स्थानीयको छ ।

‘चुनाव सकिएपछि थलारा गाउँपालिकामा एनआईसी बैंक आउने हल्ला थियो, खाता उसै बैंकमा खोल्न लगाइयो’, थलारा कोइरालाकोटका मोहन सिंहले भने, ‘अझसम्म बैंक आउने सुरसार नहुँदा पुरानै शासन व्यवस्था जस्तै छ । सुरुमा राष्ट्रिय वाणिज्य बैंक मात्र रहेको बझाङमा हाल बंगलादेश, एभरेस्ट, सिटिजन, एनआईसी, महालक्ष्मीजस्ता प्राइभेट बैंकसहित कृषि विकास बैंक पनि छ ।’

केही स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंक जाने र अन्यमा प्राइभेट बैंक जाने कुरा भएको राष्ट्रिय वाणिज्य बैंक बझाङ शाखाका प्रबन्धक गोपालजंग सिंहको भनाइ छ । उनले भने, ‘गाउँपालिका केन्द्रमा प्रहरी प्रशासनसहित यातायात, फोन इमेल इन्टरनेट, विद्युत, पूर्वाधारको व्यवस्था नहँुदा गाउँमा बैंक जान सक्ने अवस्था छैन ।’ जिल्लामा रहेका प्राइभेट बैंकबाट प्राप्त जानकारी अनुसार केदारस्युँ गाउँपालिकामा सिटिजन बैंक, थलारामा एनआईसी, वित्थडचिरमा नबिल, खप्तड थान्नामा प्राइम, तल्कोट, मष्टामा सनराइज बैंक जाने भएका छन् । तर बुंगल नगरपालिका, काँडा, सुर्मा गाउँपालिकाका साथै दुर्गाथली र छविसपाथिभरा गाउँपालिकामा भने कुन बैंक जाने भन्ने जानकारीसमेत छैन ।

‘हाम्रो शाखा केदारस्युँ गाउँपालिका देउरालीमा हुन्छ’, सिटिजन बैंकका शाखा प्रबन्धक बमबहादुर बुढाले भने, ‘तर त्यहाँ बस्ने घर पनि व्यवस्थित छैनन् साथै टेलिफोन र विद्युत्को समस्या छ । कसरी काम गर्ने भनेर जान सकेका छैनौं ।’ बुगोल नगरपालिकासहित १० वटा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतले इन्टरनेट र टेलिफोनका लागि टेलिकम कार्यालयमा निवेदन दिएको तर केन्द्रबाट पहल नभएसम्म सेवा विस्तार गर्न नसकिने टेलिकम कार्यालय बझाङका प्रमुखले जानकारी दिए ।

गाउँपालिका पूर्ण रूपमा कार्यान्वयनमा आउन अझैं पाँच/सात वर्ष लाग्ने स्थानीय धर्मजंगको भनाइ छ । गाउँपालिकामा बैंकिङ सुविधा नभएपछि कतिपय टाढाका गाउँपालिकाले चैनपुरमै सम्पर्क कार्यालय खोलेका छन् ।

स्रोत: http://annapurnapost.com/news-details/89445

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More