News

पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा

February 27, 2018

 लक्ष्मण ढुंगाना, कारोबार, मंगलबार, फाल्गुन १५, २०७४

बर्दियामा आलु तथा केराको पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा आएको छ । आलु, केरा तथा फलफूलको गुणस्तरिय पिविएस मूलबीउ उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणामा पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
दुई वर्षअघि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको कृषि व्यवसाय अनुदानअन्तर्गत ६१ लाख रुपैयाँको आर्थिक सहयोग र कुसल एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरको ४६ लाख गरी जम्मा १ करोड ७ लाख लगानीमा आलुको पूर्व मूलबीउ उत्पादन सुरु भएको थियो । 


आलु उत्पादनमा सफल परीक्षण भएपछि थप करिब ५० लाख लगानी विस्तार गरी ल्याब सञ्चालनमा ल्याएर केराको पूर्व मूलबीउसमेत परीक्षण उत्पादन सुरु गरेको कुसल एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका व्यवस्थापक रामभरोस नेपालले बताए । टिस्युकल्चर प्रविधिबाट उत्पादन हुने आलु, केरालगायतको पूर्व मूलबीउको माग नेपालमा धेरै भएपछि नेपाल कृषि अनुसन्धान परिषद्मा प्राविधिक अधिकृतमा कार्यरत काठमाडौं निवासी नेपालले जागिर छाडेर लक्ष्मणामा डेढ करोडको लागतमा पूर्व मूलबीउ उत्पादन आयोजना सञ्चालन गरेका हुन् ।
उनले विदेशबाट विभिन्न उपकरण आयात गरी आलुका साथै केराको पूर्व मूलबीउ आफ्नै ल्यावबाट उत्पादन गर्न सुरु गरेका छन् । सुरुमा वार्षिक ४ लाख दाना आलु उत्पादन गरी ६० लाख आम्दानी गर्ने लक्ष्य लिएको उनी बताउँछन् ।नेपालमा सरकारी स्तरवाट नेपाल कृषि अनुसन्धान परिषद्ले उत्पादन गरी बिक्री वितरण गर्दै आए पनि मागअनुसार आलुको मूलबीउ कृषकले पाउन नसकिरहेको उनको भनाई छ ।
टिस्युकल्चर प्रविधिबाट उत्पादन हुने आलु मूलबीउको माग नेपालमा धेरै भएपछि बर्दियामा पूर्व मूलबीउ आलु पिविएस उत्पादनमा लगानी गरेको नेपालले बताए । यसरी उत्पादन भएको बीउमा भाइरसमुक्त हुने भएकाले सामान्य भन्दा ३० प्रतिशत उत्पादन बढी हुने दाबी उनको छ ।
नेपालमा सरकारीस्तरबाट नेपाल कृषि अनुसन्धान परिषद्ले उत्पादन गरी बिक्री वितरण गर्दै आए पनि नीजिस्तरमा पूर्व मूलबीउ आलु उत्पादन सुरु गरिएको यो दोस्रोे भएको बताइएको छ । यसअघि नेपाल विउ विजन उत्पादन केन्द्र ललितपुरमा रामभरोसले नै ल्यावमा टिस्युकल्चर प्रविधिबाट उमारेको वेर्नालाई आधुनिक नर्सरीमा सारि आलुको पूर्व मूलबीउ उत्पादन गर्दै आएका थिए ।
हाल उत्पादन शुरु गरेको आलुमा खुमल उज्जल, कार्डिनल, कुप्रेज्योति, खुमल सेतो र डिजिरे कार्डिनल, एमएस ४२.३ रहेको उनले बताए । चारवटा टिस्युकल्चर जालीघरमा उत्पादन सुरु गरिएको आलुको बिउ तयार हुन साढे ३ देखि ४ महिना लाग्ने र उत्पादित आलुको बीउ नेपालभर निर्यात गरिने बताइएको छ । उत्पादन भएका बीउ सानो दाना आलुको मूल्य १४ र ठूलो दानाको मूल्य १८ रुपैयाँका दरले बिक्री गरिने उनले बताए । यो मुलबीउलाई कृषकले ५ वर्षसम्म बीउ आलुको रूपमा उत्पादन गरी आम्दानी लिन सक्ने र त्यसपछि खायन आलु उत्पादन हुने भएकाले लगानीको तुलनामा आम्दानी धेरै रहेको उनी बताउँछन् ।
वर्षमा दुई सिजनमा गर्न सकिने यो प्रविधि खर्चिलो र महँगो भए पनि अत्याधिक माग भएका कारण राम्रो आम्दानी हुने सम्भावना रहेको उनको भनाइ छ । आलु बीउमा राम्रो सम्भावना देखेपछि नेपाल कृषि अनुसन्धान परिषद्मा प्राविधिक अधिकृतमा ३० बर्ष जागिर गरेका उनले गत वर्षदेखि १० वर्ष बाँकी रहेको जागिर छाडेर यो व्यवसाय सुरु गरेका हुन् । “सरकारीभन्दा राम्रो सम्भावना हुनका साथै आलुप्रतिको मायाले तानेर व्यवसाय सुरु गरेको हुँ,” उनले भने, “किसानको माग सरकारले पूरा गर्न नसके पनि मैले पूरा गर्ने सोच बनाएर सरकारी जागिर छाडेर यता लागेको हुँ ।” कृषि अनुसन्धान परिषद् (नार्क) बाट सिकेको तालिम र प्रविधिलाई प्रयोगात्मक रूपमा आफैंले परीक्षण गरी नयाँ प्रविधिको विकास गर्ने योजना रहेको नेपालको भनाई छ ।

स्रोत: https://karobardaily.com/news/economy/2719