News

पेट्रोलको मूल्य ३ वर्षयताकै उच्च, काठमाडौंमा १०८ रुपैयाँ: निगमको नाफा साढे १० करोडभन्दा बढी

May 03, 2018

आर्थिक अभियान, बिहिबार, बैशाख २०, २०७५

 काठमाडौं (अस) । नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बुधवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको हो । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि र अमेरिकी डलर तथा नेपाली रुपैयाँको सटही दरमा भएको वृद्धिका कारण पेट्रोलियम पदार्थको भाउ बढाइएको हो । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासँको मूल्य भने यथावत राखिएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल र मट्टितेलमा प्रतिलिटर तीन/तीन रुपैयाँ मूल्य बढाएको छ । योसँगै काठमाडौं र आसापास, सुर्खेत र दिपायलमा अब एक लिटर पेट्रोलका लागि उपभोक्ताले १०८ रुपैयाँ तिर्नु पर्नेछ भने । यो ३ वर्षयताकै उच्च मूल्य हो । २०७१ साल चैत १९ गते निगमले पेट्रोलको मूल्य १०९ रुपैयाँ तोकेको थियो ।

बुधवारको मूल्य वृद्धिपछि अब काठमाडौं र आसापास, सुर्खेत र दिपायलका उपभोक्ताले एक–एक लिटर डिजेल र मट्टितेलका लागि अब ९० रुपैयाँ खर्च गर्नु पर्नेछ । विराटनगर, झापा, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी र नेपाल गञ्ज र धनगढीमा भने प्रतिलिटर पेट्रोलको भाउ १ सय ६ रुपैयाँ ५० पैसा पुगेको छ । यहाँका लागि प्रतिलिटर डिजेल र मट्टीतेलको भाउ ८८ रुपैयाँ ५० पैसा कायम भएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मूल्यवृद्धिसँगै पोखरा र दाङका उपभोक्ताले एक लिटर पेट्रोलका लागि १ सय ६ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ । एक लिटर डिजेल र मट्टीतेलका लागि भने अब ८९ रुपैयाँ ५० पैसा लाग्नेछ । मूल्य समायोजनपछि निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा हुनेछ । डिजेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउँदा समेत एक लिटरमा १ रुपैयाँ २२ पैसा घाटा हुने बताइएको छ ।

निगमका अनुसार एक लिटर मट्टीतेलमा १७ रुपैयाँ ८२ पैसा नाफा भएपनि एलपीजी ग्यासको प्रत्येक एक सिलिण्डरमा ६४ रुपैयाँ २९ पैसा घाटा छ । योसँगै मङ्गलवार १८ गतेसम्ममा निगम १० करोड ५५ लाख रुपैयाँ नाफामा भएको एनओसीको वेबसाइटमा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

स्रोत: http://www.abhiyan.com.np/2018/05/03/202070