News

पोखराका होटलमा एक खर्ब लगानी

October 27, 2017

नबिन अर्याल, अन्नपुर्ण पोस्ट, १० कार्तिक २०७४

काठमाडौं : पर्यटकीय नगरी पोखराका होटलमा करिब एक खर्ब रुपैयाँ लगानी पुगेको छ । सञ्चालनमा आइसकेका र निर्माणाधीन होटलमा यो लगानी भएको हो । पोखरामा ठूला/साना गरी झन्डै ६ सय होटल सञ्चालनमा रहेको पश्चिमाञ्चल होटल संघ पोखराले जानकारी दिएको छ । केही वर्षयता पोखराका पर्यटकीय होटलमा लगानी ह्वात्तै बढेको छ ।

 पोखरा उपत्यका, वरिपरिका डाँडा र गाउँमा धमाधम होटल खुलिरहेको संघका पूर्वअध्यक्ष भरत पराजुलीले बताए । ‘पोखरामा होटल थपिने क्रम बढेको छ, होटलमा बेड संख्या २२ हजार पुगिसकेको छ', उनले भने, ‘प्रत्यक्ष रूपमा २५ हजारले रोजगारी पाएका छन् ।' यी होटलले दैनिक ३० हजारभन्दा बढी पर्यटकलाई सेवा पुर्‍याउन सक्छन् । यस्तै पोखरामा १५/२० वटा स्तरीय होटल निर्माण भइरहेका छन् ।

‘अधिकांश निर्माणाधीन होटलको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ, सबै होटल सञ्चालनमा आइसक्दा लगानी खर्ब नाघ्नेछ', उनले थपे । पोखरामा फूलबारी रिसोर्ट र पोखरा ग्रान्ड पाँचतारे होटल हुन् । आन्तरिक कारण केही महिनादेखि फूलबारी रिसोर्ट बन्द छ । तर छिट्टै सञ्चालनमा आउने व्यवस्थापनले जानकारी दिएको छ । सांग्रिला होटल, टेम्पल ट्री, फिस्टेल लज, रानीवन रिट्रिट, बेगनास लेक रिसोर्ट एन्ड भिल्लाज, दी प्याभिलियन हिमालयज रिसोर्टलगायत दर्जनौं तारे होटलले वर्षौंदेखि पर्यटकलाई सेवा पुर्‍याइरहेका छन् । सराङकोटमा कर्ण शाक्यको हिमालय फ्रन्ट, पोखरामा वाटर फ्रन्ट, हलनचोकमा होटल गुडविल, पुम्दीभुम्दीमा दी प्याभिलियन हिमालयज रिसोर्ट, बेगनासमा रूपाकोट रिसोर्ट हालै सञ्चालनमा आएका स्तरीय होटल हुन् ।

यसैगरी सराङकोटमा करिब दुई अर्ब लगानीमा केबलकारसहितको होटल माउन्टेन भ्यू छिट्टै सञ्चालनमा आउँदै छ । होटल निर्माण अन्तिम चरणमा पुगेको छ भने केबलकार निर्माण पनि सुरु भइसकेको छ । जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले पाँचतारे स्तरको होटल सञ्चालन गर्न लागेका हुन् । सराङकोटमै २५/३० करोड रुपैयाँ खर्चिएर अर्को तारे होटल निर्माण भइरहेको छ । लेकसाइडमा करिब ५० करोड रुपैयाँ लगानीमा होटल सरोवर सञ्चालन हुँदै छ । दामनमा होटल चलाइरहेका एक व्यवसायीले पोखरामा पनि करिब ४५ करोड रुपैयाँ लगानी गरेर होटल बनाइरहेका छन् ।

पोखराको सराङकोट, बेगनास, रूपाकोट, नौडाँडा, पुम्दीभुम्दी, विश्वशान्ति स्तुपा आसपासमा लक्जरियस होटल खुलिरहेका छन् ।

काठमाडौंमा पाँचतारे होटल चलाइरहेको सांग्रिला होटल एन्ड रिसोर्टले पोखराको बेगनासस्थित पचभैया डाँडामा ५० अर्ब रुपैयाँ लगानीमा ‘द लस्ट होराइजन रिसोर्ट' खोल्ने तयारी गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने समयसम्म रिसोर्ट पनि सञ्चालनमा ल्याइसक्ने बताइएको छ । यो रिसोर्टमा ४० वटा विश्वस्तरीय कटेज रहनेछन् । नेपालगन्जमा चारतारे होटल सञ्चालनको अन्तिम तयारीमा रहेको सोल्टी समूहले पोखरामा पनि चारतारे होटल निर्माण सुरु गरिहाल्ने बताएको छ । काठमाडौंमा सञ्चालित पाँचतारे सोल्टी लक्जरी होटलमा पर्छ ।

सुरज वैद्यकी छोरी सुभानाले पोखरामा होटल खोल्नका लागि अध्ययन गरिरहेकी छन् । पोखरामा स्तरीय होटल खोल्ने उनको योजना छ । विश्वभर होटल सञ्जाल विस्तार गर्ने दौडमा रहेका विनोद चौधरीले पनि पोखरामा होटल खोल्न उपयुक्त ठाउँ खोजिरहेका छन् । विनोदका कान्छा भाइ अरुण चौधरीले पनि सराङकोटमा लक्जरी होटल खोल्ने घोषणा गरिसकेका छन् । अरू थुप्रै व्यवसायी पोखरामा लगानीका लागि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पर्खाइमा छन् ।

पोखराको सराङकोट, बेगनास, रूपाकोट, नौडाँडा, पुम्दीभुम्दी, विश्वशान्ति स्तुपा आसपासमा लक्जरियस होटल खुलिरहेका छन् । पोखरा उपत्यकामा ठाउँको अभाव र जग्गा अति महँगो भएपछि लगानीकर्ता डाँडाकाँडा र गाउँतर्फ केन्द्रित देखिन्छन् । ‘पर्यटक पोखरा सहरमा मात्र होइन, डाँडाकाँडा र गाउँमा पनि बस्न रुचाउँछन्, यसैले पछिल्लो समय गाउँ र डाँडामा लगानी फोकस भएको देखिन्छ', होटल व्यवसायी पराजुलीले भने, ‘होटलले पोखरावरिपरिका डाँडा भरिभराउ छन् ।'

ठूला व्यवसायी पनि डाँडामै होटल खोल्न आकर्षित देखिन्छ । अहिले पोखरा वरिपरिका डाँडामा दर्जनभन्दा बढी स्तरीय होटल खुलिसकेका छन् । कर्ण शाक्यले सराङकोटमा हिमालय फ्रन्ट (४४ कोठा), विजय श्रेष्ठले विश्व शान्ति स्तुपामाथि रानीवन रिट्रिट (१० भिल्ला), पुष्प अधिकारीले ३५ करोड रुपैयाँ लगानीमा रूपाकोट रिसोर्ट (४२ कोठा), नौडाँडामा हिमालय देउराली रिसोर्ट (२४ कोठा), बेगनासताल किनारको ज्यामिरेमा बेगनास लेक रिसोर्ट एन्ड भिल्लाज (४० कोठा), ब्रिटिस र नेपालीको लगानीमा पुम्दीभुम्दीमा दी पेभिलियन हिमालयज (१५ भिल्ला) सञ्चालनमा छन् । ठूलो क्षेत्रफलमा फैलिएका यी रिसोर्ट पोखरा उपत्यकाका होटलभन्दा बढी लक्जरियस छन् ।

पोखरामा वार्षिक करिब सवा लाख विदेशी पर्यटक आउँछन् । यसको दोब्बर बढी आन्तरिक पर्यटक पोखरा घुम्न पुग्छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटकको संख्या १५ गुणाले बढ्ने एमाले नेता रवीन्द्र अधिकारीको दाबी छ । उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अभियानका अगुवा हुन् । ढिलै भए पनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भइसकेको छ । यो विमानस्थल निर्माण सुरु भएको चार वर्षभित्र सञ्चालनमा आइसक्नेछ ।

पोखरा चर्चित पदमार्ग अन्नपूर्ण राउन्डको प्रवेशद्वार पनि हो । पोखरा हुँदै दैनिक सयौं स्वदेशी विदेशी पर्यटक अन्नपूर्ण घुम्न जान्छन् । पछिल्लो समय आन्तरिक पर्यटकको निकै लोकप्रिय गन्तव्य बनेको मुक्तिनाथ र लोमान्थाङ पनि पोखरा हुँदै जानुपर्छ । यसै पनि पोखरा घुम्न जाने नेपालीको प्रशस्त हुन्छ । ‘पोखरा घुम्न आउने पर्यटकमा विदेशीभन्दा स्वदेशी बढी हुने गर्छन्', पराजुलीले भने, ‘चाडपर्व र बिदाको समयमा आन्तरिक पर्यटकले पोखरा खचाखच हुने गर्छ ।'

आन्तरिक पर्यटकको आकर्षणकै कारण पनि होटलमा गरिएको लगानी सुरक्षित हुने लगानीकर्ताको विश्वास छ । पोखराका धेरैजसो होटल आन्तरिक पर्यटकको भरमा चलिरहेका छन् । स्वदेशी-विदेशी दुवै पर्यटक बढाउन सके अहिले सञ्चालनमा रहेका र निर्माणाधीन होटलले नपुग्ने व्यवसायी बताउँछन् । ‘पोखरा पर्यटनका लागि प्रशस्त सम्भावना भएको ठाउँ हो । यो मौसम, संस्कृति, सुन्दरता धेरैमा अब्बल छ', पराजुलीले भने, ‘त्यसैले पनि पर्यटक र होटल व्यवसायीको आकर्षण पोखरामा देखिएको हो ।'

पोखरा घुमफिरमा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । भारतीय र चिनियाँकै कारण पोखरा बाह्रै महिना पर्यटकमय हुने गर्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखरा-काठमाडौं, पोखरा-बुटवल, पोखरा-नारायणगढ सडक चार लेनमा स्तरोन्नति गर्न सके पर्यटकको संख्या अझ बढ्ने व्यवसायी बताउँछन् । चीन जोड्ने मुस्ताङको कोराला नाकाको स्तरोन्नति भए चिनियाँ पर्यटक बढ्ने निश्चित छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रमुख उद्देश्य पनि भारत र चीनका विभिन्न गन्तव्यमा उडानभरि प्रशस्त पर्यटक भित्र्याउनु हो ।

स्रोत: http://annapurnapost.com/news-details/82800