पोखरा–लुम्बिनी रेलमार्ग निर्माण कठिन

November 09, 2017

केशवशरण लामिछाने, अन्नपुर्ण पोस्ट, २३ कार्तिक २०७४

काठमाडौं : दलका नेताहरूले चिनियाँ रेल काठमाडौं, पोखरा हुँदै लुम्बिनी पुर्‍याउने सपना बाँडिरहेका बेला चिनियाँ प्राविधिक टोलीले भने त्यस्तो सम्भवना अप्ठेरो देखेको छ। चीनको राष्ट्रिय रेलवे प्रशासनका प्राविधिहरूले बुध र बिहीबार प्रारम्भिक स्थलगत अध्ययन गरी त्यस्तो अप्ठेरोको संकेत दिएको हो। टोलीले बुधबार पोखरा र बिहीबार लुम्बिनी क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

‘पोखराबाट लुम्बिनी जाने बाटोमा पहाडै पहाड भएको हुँदा अप्ठेरो हुने संकेत गरेका छन्’, नेपालको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले अन्नपूर्णसँग भने, ‘त्यसैले त्यो बाटोतिरै हेर्दै हेर्नुभएन।’ उनका अनुसार काठमाडौं रेलमार्ग मुग्लिङ हुँदै एउटा हाँगो पोखरा र अर्को हाँगो सिधैं लुम्बिनी लैजानुपर्ने चिनियाँ टोलीले औंल्याएको छ।

चिनियाँ उपमन्त्रीसहित ३५ जनाको टोली अहिले स्थलगत अध्ययन भ्रमणमा छ। ती ३५ पनि छुट्टाछुट्टै टोली बनाएर अध्ययन गर्दै सामूहिक छलफलमा जुटेको जानकारी उपाध्यायले दिए। ‘उहाँहरुसँग नै एकप्रकारको रेखाकंन रहेछ, त्यसैअनुसार ठाउँहरु हेर्नुभएको छ’, उनले भने। टोलीले बुधबार पोखराको विजयपुर, घारीपाटन र हेम्जा क्षेत्र हेरेको थियो। विजयपुर खोलातिर रेलमार्गका लागि र घारीपाटनचाहिँ स्टेसन निर्माणको सम्भाव्य क्षेत्र हुन सक्ने भएकाले अवलोकन गरेको जानकारी उनले दिए।

हेम्जाचाहिँ अर्को सम्भावनाको ठाउँ हुन सक्ने उपाध्यायले औंल्याएका थिए। ‘अहिले केवल प्रारम्भिक अध्ययनमात्रै हो’, उनले भने, ‘स्थलगत अध्ययनपछि फेरि छलफल गरेर निष्कर्ष निकालिनेछ र योजनाको रुपरेखा कोर्न सजिलो हुनेछ।’ चिनियाँ टोलीमा सरकारी मन्त्री, कर्मचारी, प्राविधिक र व्यवसायीसमेत संलग्न छन्। पोखराबाट लुम्बिनी रेलमार्ग बनाउन कठिन हुने सामान्य अड्कल गरेको टोलीले मुग्लिङबाटै लुम्बिनी रेल लैजान र काठमाडौंबाट मुग्लिङसम्म अनि पोखरा ल्याउन चाहिने लगानीको अनुमान पनि गर्नेछ। लुम्बिनी लैजाने रेलका लागि बर्दघाट क्षेत्रमा बिहीबार टोलीले अवलोकन गरेको थियो। ‘बुटवल हुँदै लैजाने कि अन्तबाट भनेर पनि उहाँहरुले हेर्नुभयो’, उपाध्यायले भने।

उपाध्यायका अनुसार काठमाडौं पोखरा रेलमार्गको दुरी १८७ किलोमिटर हुने अनुमान छ। प्रतिघन्टा २ सय किलोमिटर कुद्ने द्रुतगतिको रेल चल्दा यी दुई ठाउँ १ घन्टाको यात्रामा जोडिने उपाध्यायले सुनाए। यो रेलमार्ग निर्माण गर्न के कति खर्च लाग्ने भन्ने यकिन नभएको उनले बताए। ‘लगानीको मोडालिटी कस्तो हुने र कति लगानी हुने भन्ने यकिन भएको छैन’, उनले भने।

नेपाल सरकारले चीनबाट केरुङतिर आइरहेको रेलसेवालाई राजधानीसम्म ल्याउने योजना यसअघि नै बनाइसकेको हो। चीनको 'रोड इनिसियटिभ प्रोग्राम' मा पनि समर्थन जनाएर सरकारले रेलमार्ग योजनालाई त्यसभित्र समेट्न खोजेको छ।

स्रोत: http://annapurnapost.com/news-details/83712

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More